coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

यसरी गरिँदैछ मतपेटिका सुरक्षा

इलाम- पाँचथर र ताप्लेलुङमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि साँझदेखि नै मतपेटिका सदरमुकाम ल्याइँदैछ। ताप्लेजुङका केही मतदान केन्द्रको मतपेटिका भने सोमबार दिउँसो मात्रै हेलिकप्टरमा सदरमुकाम ल्याउने तयारी छ।

पाँचथरमा बढीमा १ सय ५ किलोमिटर टाढाबाट मतपेटिका ल्याउनुपर्दा सोमबार बिहानसम्म लाग्ने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नजिकैका मतदान केन्द्रको मतपेटिका भने राति १२ बजेसम्ममा सदरमुकाम ल्याइपुर्‍याउने जिल्ला निर्वाचन अधिकारी ध्रुव राईले बताए । धेरैजसो मतदान केन्द्रको मतपेटिका आजै राति १२ बजेसम्ममा आइपुग्छ,’ राईले आइतबार साँझ भने, ‘२–४ ठाउँको मतपेटिका ल्याउन चाहिँ भोलि बिहानसम्म लाग्न सक्छ ।’

          पहिलो चरणको निर्वाचन सकिएपनि दोस्रो चरणको निर्वाचन मंसिर २१ मा सम्पन्न भएपछि मात्रै दुवै मतदानको मतगणना सुरु गरिनेछ । सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालयबाट करिब २० मिटरमा रहेको जिसस हलमा प्रहरी र सशस्त्र प्रहरी बलले मतपेटिकाको सुरक्षा गर्ने उनले जनाए । ‘सम्भवतः नेपाली सेनाले पनि बाहिरबाट सुरक्षा घेरा दिनेछ,’ राईले भने, ‘मतपेटिका राख्ने स्थानमा भित्र–बाहिरै चम्किलो प्रकाश दिने बिजुली बत्ती व्यवस्था गरिएको छ ।’ उनले राजनीतिक दलका प्रतिनिधि र पर्यवेक्षकसमेतले चाहेको खण्डमा मतपेटिका राखेको स्थलमा पहरा दिन वा अनुगमन गर्न सक्ने बताए ।

          प्रतिनिधिसभाको एउटा र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको पाँचथरमा १ लाख २५ हजार २ सय १९ मतदाता छन् । यीमध्ये करिब ६५ प्रतिशतले मतदान गरेको राईले प्रारम्भिक अनुमान गरे । ‘मतगणना गर्न करिब ६ दिन लाग्ने अनुमान छ,’ उनले भने । जिल्लाका सय मतदानस्थलका १ सय ६५ केन्द्रमा आइतबार मतदान भएको थियो ।

          ताप्लेजुङका ४ मतदान केन्द्रको मतपेटिका भने सोमबार दिउँसो मात्रै हेलिकप्टरबाट सदरमुकाम ल्याइँदैछ। सदरमुकामबाट पैदल जाँदा २ दिनभन्दा बढी समय लाग्ने घुन्सा, याङ्मा, ग्याब्ला र गोलास्थित मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टरमा ल्याइने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । यी स्थानमा सवारी साधनसमेत पुग्न नसक्दा मतपेटिका ल्याउन समस्या भएको हो । ‘बाँकी केन्द्रहरूको मतपेटिका आइतबार राति र सोमबार बिहानसम्ममा गाडी र पैदलै पनि सदरमुकाम ल्याइँदैछ,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले मतपेटिका पनि सुरक्षित रूपमा सदरमुकाम आइपुग्छ ।’

          ताप्लेजुङको जिल्ला अदालतको भवनमा मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ । प्रजिअ जिसीका अनुसार मतपेटिका राखिएको स्थानमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् । ‘राजनीतिक दलका प्रतिनिधि र पर्यवेक्षले चाहे उहाँहरूले पनि मतपेटिका राखिएको स्थानको निगरानी गर्न सक्नुहुनेछ ।’

          फक्ताङलुङ गाउँपालिकाको याङ्मा मतदान केन्द्रमा जम्मा ५४ मतदाता रहेकामा १६ जनाले मात्रै मतदान गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि देवराज गुरुङले बताए । बाँकी मतदान केन्द्रका शान्तिपूर्ण ढंगले नै चुनाव भएको जानकारी आएको उनले बताए । ७८ हजार ३ सय ९७ मतदाता रहेको जिल्लामा ७३ मतदानस्थलअन्तर्गत १ सय १४ मतदान केन्द्र तोकिएका थिए। ताप्लेजुङमा प्रतिनिधिसभाको १ सय प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन्। दुवै जिल्लाको मतगणना भने आउँदो २१ गते साँझ मात्रै सुरु हुने ती जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन्।

प्रकाशित: १० मंसिर २०७४ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App