७ वैशाख २०८१ शुक्रबार
विचार

एन्टिबायोटिक र नयाँ संक्रमित रोग

विश्व स्वास्थ्य संगठनले हरेक वर्ष नोभेम्बरमा ‘एन्टिबायोटिक सचेतना कार्यक्रम’ मनाउने गरेको छ । यस्तो कार्यक्रमले हाम्रो विगत र वर्तमानलाई पुनरालोकन गर्ने मौका दिने रहेछ । सन् २०१६ देखि संयुक्त राष्ट्र संघले ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधक क्षमता बढ्नुलाई ठूलै चुनौतीका रूपमा लिएको छ ।

मानिसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक्स भेटनेरी क्षेत्रमा प्रयोग गर्न प्रतिबन्ध गर्नुपर्छ, अन्य मुलुकमा जसरी ।

त्यस्ता परजीवीका कारण विश्वमा प्रतिवर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ । विकसित मुलुकमा डाक्टरले एन्टिबायोटिकको डोज आवश्यकताभन्दा बढी बिरामीलाई दिने समस्या छ भने कम विकसित देशमा संक्रमित ब्याक्टेरियाको प्रयोगशाला परीक्षण र एन्टिबायोटिकको गलत प्रयोग मुख्य समस्याका रूपमा देखापरेका छन् । विकसित देशहरूले एन्टिबायोटिक प्रतिरोधक नयाँ संक्रमित ब्याक्टेरिया देखापर्नुमा एसिया र अफ्रिकाका कम विकसित देशहरूलाई दोष दिने गरेका छन् । यसै महिना ‘द अस्ट्रियन’ भन्ने पत्रिकाले त किटेर नै भनेको छ ‘दक्षिण पूर्वी एसिया एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरिया जन्माउने हब हो’ । पक्कै पनि उक्त आरोप केही हदसम्म सत्य छ ।
तीन दशकदेखि कुरा उठे पनि एन्टिबायोटिकको गलत प्रयोग रोक्न वा नियन्त्रण गर्न नेपाल चुकेको छ । विद्यमान औषधि ऐनको प्रभावकारी पालना नहुनु र कमजोर सरकारी अनुगमनका कारण नेपालमा एन्टिबायोटिकको अत्यधिक प्रयोग हुने गरेको छ । जसले गर्दा प्रतिदिन नयाँ खालका संक्रमित ब्याक्टेरिया देखा परिरहेका छन् । र, थप उपचार हुन नसकेर कयौँले ज्यान गुमाएका पनि छन् । कानुनले तोकेको मापदण्ड विपरीत कागजमा मात्रै फार्मासिस्ट राख्ने औषधि पसलेदेखि छिट्टै नाफा कमाउन खुलेका अस्पताल र क्लिनिकसम्म प्रत्यक्ष रूपमा जिम्मेवार छन् यो समस्या बढ्नुमा ।
हालै तीन वर्ष लगाएर एन्टिबायोटिक सम्बन्धी गरिएको एक अध्ययन अनुसार नयाँ संक्रमित ब्याक्टेरियाहरू युरोपमा पनि देखापरेका छन् । ती संक्रमित ब्याक्टेरियालाई हाल विश्वमा प्रचलित एन्टिबायोटिक्स जस्तै फ्लोरोक्विनोलोन, सेफालोस्पोरिन र एमिनोग्लाइकोसाइडसले पनि नियन्त्रण गर्न सकेको छैन । तसर्थ यो विषय मेडिकल साइन्समा चुनौतीका रूपमा खडा भएको छ । युरोपमा गरिएको एक अर्को शोधका अनुसार निमोनिया रोग संक्रमित बिरामी नजिक र आइसियु युनिटमा एसिनेटोब्याक्टर नामक अर्को खतरनाक परजीवी भेटिएको छ । जसले बजारमा पाइने प्रायः एन्टिबायोटिक्सविरुद्ध प्रतिरोधक क्षमता देखाउँछ । विभिन्न रिपोर्टका अनुसार अस्पतालको सरसफाइमा किटाणु मार्न प्रयोग हुने केमिकलमा पनि एसिनेटोब्याक्टर बाँच्न सक्छ । र, नेपालमा पनि एसिनेटोब्याक्टर संक्रमित केश (बिरामी) भेटिएका छन् तर यसमा थप अध्ययन हुन सकेको छैन ।

अन्य जैविकवस्तुको तुलनामा ब्याक्टेरियामा डिएनए म्युटेसन छिट्टै हुन्छ । त्यसै गरी वातावरणमा पाइने एक ब्याक्टेरियाको जिन अर्को ब्याक्टेरियामा सजिलै सर्न सक्छ । त्यसैले यसरी ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोधक क्षमता विकास गर्दा स्वास्थ्य क्षेत्रमा नयाँ समस्या देखापरेको छ, विश्वव्यापी रूपमा । बीसौँ शताब्दीमा एन्टिबायोटिक्सको आविष्कारले मेडिकल साइन्समा क्रान्ति ल्याइदिए पनि मानिसले यसको गलत प्रयोग गर्नाको कारण अब छिट्टै एन्टिबायोटिक्स युगको अन्य हुने अनुमान गरिएको छ, बढ्दो नयाँ एन्टिबायोटिक्स प्रतिरोधक ब्याक्टेरियाका कारण । र, आगामी दिनमा संक्रमित ब्याक्टेरिया नियन्त्रण गर्न अर्को खालको ब्याक्टेरिया नै प्रयोग हुनेतर्फ अनुसन्धान भइरहेको छ जस्तै ब्यासिलस पेपटाइड ।
 

स्वास्थ्य क्षेत्रको लापरबाही
जापानबाट मेडिकल माइक्रोबायोलोजीमा पिएचडी गरेका एक जना व्यक्ति दाबी गर्छन् ‘काठमाडाँैका साना निजी अस्पताल र क्लिनिकमा प्रायः ब्याक्टेरियाको गलत डाइग्नोसिस हुन्छ ।’ उनका अनुसार सिद्धि पोलिक्लिनिकले गरेको प्रयोगशाला परीक्षणमा ईकोलाई नामक ब्याक्टेरिया देखियो तर चिरायु अस्पतालले सोही स्याम्पलमा पहिला स्युडोमोनास भन्ने ब्याक्टेरियाको गलत रिपोर्ट दिएको थियो । चिरायु अस्पतालका डाक्टरले गलत ल्याब रिपोर्टका आधारमा पहिला ओफ्लाक्सासिन भन्ने एन्टिबायोटिक्स लेखे तर त्यसले निको नभएपछि सिफ्रोफ्रोक्सासिलिन भन्ने अर्को एन्टिबायोटिक्स दिए । गलत प्रयोगशाला परीक्षणका परिणाम बिरामी बढी एन्टिबायोटिक्स सेवन गर्न बाध्य भए । एक वर्ष अगाडिको अर्को घटनामा कान्ति बाल अस्पतालले बच्चाको रगतमा टाइफाइडको किटाणु देखियो भनेर दिएको ल्याब रिपोर्ट अभिवावकलाई शंका लागेर पाटन अस्पतालमा परीक्षण गर्दा टाइफाइड संक्रमित किटाणु नै भेटिएन । कान्ति बाल अस्पतालको लापर्बाहीका कारण टाइफाइड नै नभएको बच्चाले बेकारमा एन्टिबायोटिक खाए ।
केही समय अगाडि टेकु सरुवा रोग अस्पतालको ल्याबमा काम गर्ने इन्टर्न विद्यार्थीका अनुसार टाइफाइडको किटाणु साल्मोनेला देखिएको बिरामीको रिपोर्ट आन्तरिक लापर्बाहीका कारण हराएपछि ल्याब प्रमुखले संक्रमित ब्याक्टेरिया छैन भनेर झुटा रिपोर्ट पठाइदिए । र, रोगको पहिचान नै नगरी टेकु अस्पतालले उक्त बिरामीलाई गलत ल्याब रिपोर्टका आधारमा डिस्चार्च नै गरिदियो ।
माथि उल्लिखित प्रतिनिधि घटनाबाट बुझिन्छ, नेपालको स्वास्थ्य क्षेत्र कसरी चलेको छ । जसका कारण बिरामीहरू गलत एन्टिबायोटिक्स खान बाध्य छन् । फलस्वरूप हाम्रो वरिपरि र शरीरमा संक्रमित ब्याक्टेरिया फैलिँदो छ । यसको कारण भविष्यमा अर्को गम्भीर प्रकारको संक्रमित रोग निस्कने निश्चित छ ।
त्रिवि शिक्षण अस्पतालका एक प्राध्यापक भन्छन्, ‘बिरामीबाट संक्रमित ब्याक्टेरियाको नमुना संकलन गर्ने समयमा स्टेरलाइज सामग्री प्रायः प्रयोग गरिँदैन । त्यसकारण क्रस कन्टामिनेसन हुने सम्भावना रहन्छ र रिपोर्ट गलत आउँछ ।’ अपवादबाहेक स्वास्थ्य प्रयोगशालामा ब्याक्टेरिया मिडियामा कल्चर गरेर त्यसको बाँच्ने वा हुर्कने प्रक्रिया मात्र हेरिन्छ र सोही आधारमा ल्याब रिपोर्ट दिइन्छ । ब्याक्टेरियाको प्रायः बायोकेमिकल परीक्षण गरिँदैन । जबकि विदेशमा डिएनए परीक्षण नै गरिन्छ, ब्याक्टेरियाको सही पहिचान गर्न । नेपालमा भने अपुरो रिपोर्टलाई नै आधार मानेर डाक्टर बिरामीलाई एन्टिबायोटिक्स लेख्छन् ।
 

एन्टिबायोटिक्समा नेपाली शोध
हालै ‘बिएमसी रिसर्च नोट्स’ नामक अन्तर्राष्ट्रिय जर्नलमा चितवनको बालकुमारी कलेजका अनिल श्रेष्ठसहितको टोलीले गरेको शोधका अनुसार ३८ वटा कुखुराको काँचो मासुबाट १०३ वटा ब्याक्टेरिया परीक्षण गरिएको पाइयो । त्यसमध्ये केही ब्याक्टेरिया मानव स्वास्थ्यका लागि हानिकारक भेटिए । त्यस्तै थाइल्यान्डको एसियन इन्स्टिचुट अफ टेक्नोलोजीमा यसै वर्ष गरिएको अनुसन्धानमा उल्लेख भएअनुसार काठमाडौँको बजारमा पाइने दूधमा धेरथोर पेनिसिलिन र सल्फोन्माइड नामक एन्टिबायोटिक्सको अवशेष पाइएको छ । उक्त शोधअनुसार दूधमा ती एन्टिबायोटिक्सको मात्रा खतराको विन्दुमा भेटिएको छ । परिणामतः हामी दूधमार्फत अदृश्य रूपमा एन्टिबायोटिक्स पनि खाइरहेका छौँ । जसकारण भविष्यमा हाम्रो शरीरमा एन्टिबायोटिक प्रतिरोधक क्षमताको विकास हुन जान्छ ।
केही वर्ष अगाडि डा. विष्णु मरासिनी लगायतले अनुसन्धानत्मक पत्रिका साइन्समा दिएको रिपोर्ट अनुसार बजारमा पाइने विभिन्न ब्रान्डका स्याप्पु र कस्मेटिक सामानमा एन्टिबायोटिक मिसाएको हुने र त्यसले पनि मानव शरीरमा एन्टिबायोटिक प्रतिरोधक क्षमताको विकास गर्न सहयोग पु¥याउने उल्लेख छ ।
हाल विश्व बजारमा पाइने करिब ७० प्रतिशत एन्टिबायोटिक्स माटो लगायत जैविक पदार्थबाट निकालिएको हो । नेपालमा बहुसंख्यक किसानले नांगो हातखुट्टा खेतबारीमा काम गर्ने हुँदा माटोमा पाइने ब्याक्टेरियामा भएको एन्टिबायोटिक प्रतिरोधक जिन सरेर मानिसमा औषधि (एन्टिबायोटिक) प्रतिरोधक गुण देखापर्ने सम्भावना रहन्छ । वास्तवमा यस किसिमको समस्या कम विकसित देशमा देखिने हुँदा यस विषयमा थप अनुसन्धान हुन सकेको छैन ।
कतिपय डाक्टरमा अनुसन्धात्मक ज्ञानको अभावले पनि बिरामी अनावश्यक एन्टिबायोटिक्स खान बाध्य भएको भेटियो । जस्तै क्लिन्डामाइसिन नामक एन्टिबायोटिक्स बिरामीलाई दिँदा त्यस बिरामीको बायोलोजिल स्याम्पल इरिथ्रोमाइसिन प्रतिरोधक छ कि छैन, सोको प्रयोगशाला परीक्षण गर्नुपर्छ ।
 

नीतिगत कमजोरी
औषधि ऐन, २०३५ को दफा १७ अनुसार चिकित्सकको प्रेसक्रिप्सन बमोजिम फर्मासिस्ट वा तालिम प्राप्त व्यवसायीले मात्र औषधि बिक्री–वितरण गर्नुपर्छ । तर नेपालका अधिक औषधि पसलमा फार्मेसी नपढेका वा तालिम पनि नलिएका व्यक्ति भेटिन्छन् । यसको सही अनुगमन र नियन्त्रण हुन सकेको छैन, सरकारी अधिकारीबाट । जसको कारण एन्टिबायोटिक्सको गलत प्रयोग बढेको देखिन्छ ।
नेपालमा हालसम्म पनि ब्याक्टेरियाको संक्रमण पत्ता लगाउन मलिक्युलर लेभलमा डिएनए परीक्षण गर्ने काम सुरु हुन सकेको छैन । पहिला अन्दाजमा एन्टिबायोटिक्स चलाउने र पछि ल्याब टेस्ट गर्ने प्रचलन व्यापक छ । यस विषयमा सरकारी स्तरबाट नीतिगत सुधार गर्न आवश्यक छ ।
प्रायः प्रयोगशाला परीक्षण सिएमएलटी गरेका (१८ महिने तालिम) बाट हुने गरेको छ । सुन्दा पनि अचम्म छ नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सिएमएलटी पढेकालाई स्वास्थ्यमा काम गर्न लाइसेन्स दिन्छ तर त्रिभुवन विश्वविद्यालयबाट मेडिकल माइक्रोबायोलोजी पढेकालाई स्वास्थ्यमा काम गर्न लाइसेन्स दिँदैन । वास्तवमा सिटिइभिटीको प्रोग्राम चलाउने संस्थाको चलखेलका कारण उक्त परिषद्ले दक्ष जनशक्तिलाई ढोका बन्द गरेको आशंका छ । यस विषयमा नीतिगत परिवर्तन गर्न स्वास्थ्य मन्त्रालयको चासो जान आवश्यक छ ।
स्वस्थ मानिसमा एन्टिबायोटिक्स पु¥याउने अर्को माध्यम (भेइकल) हो, दूध र मासु । नेपालमा हालसम्म के कति मात्रामा गाईबस्तु, कुखुरा लगायतमा एन्टिबायोटिक्सको प्रयोग हुन्छ, त्यसको सरकारी तथ्यांक पाइँदैन । सरकारले तत्काल मानिसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक्स भेटनेरी क्षेत्रमा प्रयोग गर्न प्रतिबन्ध गर्नुपर्छ, अन्य मुलुकमा जसरी । अझ उत्तम उपाय त समयमा नै गाईबस्तु वा कुखुरामा रोग रोगथामका लागि भ्याकसिनेसन गर्ने कार्यक्रम ल्याउँदा त्यसै पनि एन्टिबायोटिक्सको प्रयोगमा कमी आउने छ ।
अतः सरकारले एन्टिबायोटिक्सको गलत प्रयोग रोक्न स्वास्थ्य क्षेत्रमा प्रयोगशाला सुधार, औषधि पसलमा फार्मासिस्टको व्यवस्था गर्न आवश्यक छ । त्यस्तै डाक्टरहरूले अनावश्यक बिरामीलाई एन्टिबायोटिक्स दिने क्रमलाई रोक्न अनुगमन गर्नुपर्छ । र, त्यसबाट मात्र संक्रमित रोगको स्रोत एन्टिबायोटिक्सलाई मानव हितमा नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App