coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

सहभागिताको सन्देश

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आइतबार ३२ जिल्लाका मतदाताले देखाएको उत्साहपूर्ण मतदानले फेरि एकपटक लोकतन्त्रप्रतिको आम नागरिकको उत्कट अभिलाषा प्रकट गरेको छ । वास्तवमा नेपाली जनता स्वभावैले लोकतान्त्रिक चरित्रका छन् । त्यसैले निर्वाचनको केही साताअघिदेखि भएका कतिपय विस्फोट र ध्वंसात्मक गतिविधिको आम मतदातामा ठूलो प्रभाव परेन । पहाडी र हिमाली क्षेत्रका जिल्लामा गरिएको पहिलो चरणको निर्वाचनमा मतदाताले भौगोलिक र मौसमी दुवै प्रतिकूलतालाई समेत बेवास्ता गर्दै सहभागिता जनाएका छन् । भौगोलिक विकटताका कारण यातायात सुविधा नभए पनि मतदातालाई पिठ्युँमै समेत बोकेर मतदान केन्द्रसम्म पु¥याइएको छ । उत्तरी धादिङको दुर्गममा पर्ने खनियाबास गाउँपालिकास्थित मतदान केन्द्रमा मतदातालाई कार्यकर्ताले बोकेर पु¥याएको खबर आफैंंमा अनुपम छ । कतिपय स्थानमा किरियापुत्रीले समेत आफ्नो मताधिकार प्रयोग गरेर अन्य व्यक्तिलाई समेत उत्साह प्रदान गरेका छन् । मतदान आफैंमा सबैभन्दा पवित्र र उत्कृष्ट कार्य हो भन्ने पुष्टि आम मतदाताको क्रियाकलापले गरेको छ । हामीकहाँ जहिल्यै निर्वाचन एउटा उत्सवमय गतिविधिका रुपमा रहँदै आएको छ । त्यसमा पनि यस वर्षको निर्वाचन शृंखलाले मतदातालाई पटक–पटक मौका दिएको छ । यी सबै मौकालाई उनीहरूले उत्तिकै महŒवका साथ उपयोग गरेको देखिएको छ । यसकारण पनि मतदाताको यो उदात्त व्यवहारलाई नतमस्तक भएर सम्मान गर्नैपर्छ ।

हामीकहाँ जहिल्यै निर्वाचन एउटा उत्सवमय गतिविधिका रुपमा रहँदै आएको छ । त्यसमा पनि यस वर्षका निर्वाचन शृंखलाले मतदातालाई पटक–पटक मौका दिएको छ । यी सबै मौकालाई उनीहरूले उत्तिकै महत्वका साथ उपयोग गरेको देखिएको छ । यसकारण पनि मतदाताको यो उदात्त व्यवहारलाई नतमस्तक भएर सम्मान गर्नैपर्छ ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदातामध्ये ६५ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मताधिकार रहेका धेरै युवा यतिबेला विदेशमा काम गरिरहेका छन् । उनीहरू यो बेला मतदानमा सरिक हुन आउन सकेका छैनन् । त्यसै गरी जाडोको यो मौसममा हिमाली भेगका केही मतदाताले आफ्नो थातथलोसमेत छाडेका छन् । यति हुँदाहुँदै पनि यो रुपमा उत्साहपूर्वक मतदान भएको घटनाले हाम्रो लोकतन्त्रले गहिरो जरा गाड्दै गएको संकेत गरेको छ । अब दोस्रो चरणमा यही २१ गते हुन गइरहेको निर्वाचनलाई समेत यसले मार्गदर्शन गरेको छ । अहिले नै ढुक्क भएर भन्न सकिन्छ, दोस्रो चरणको निर्वाचनमा मतदाताको झनै ठूलो सहभागिता रहनेछ । कुल १ करोड ५४ लाख २७ हजार ९ सय ८३ मध्ये आइतबार मताधिकार प्रयोग गरेकाबाहेक १ करोड २२ लाख ३६ हजार ३८ जनाले दोस्रो चरणको निर्वाचनमा भाग लिनेछन् । निर्वाचन सम्पन्न भएपछि मुलुकको महत्वपूर्ण कार्यभार पूरा हुनेछ । निर्वाचनका क्रममा केही स्थानमा तनाव देखिएको छ । तर, २०४६ सालको राजनीतिक परिवर्तनलगत्तै भएका निर्वाचनको तुलनामा यसपटकका निर्वाचनमा दलहरूबीच कमै झडप भएका छन् ।
पहिलो चरणको निर्वाचन सम्पन्न भए पनि तत्कालै निर्वाचन परिणाम आउन थाल्नेछैन । त्यसका लागि २१ गते सम्पन्न हुने दोस्रो चरणको निर्वाचनको प्रतीक्षा गर्नुपर्ने हुन्छ । निर्वाचनप्रतिका जेजस्ता गुनासा भए पनि राज्य संयन्त्रमा निर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले गराउने अभ्यासले परिपक्वता हासिल गर्दै गएको छ । निर्वाचनप्रतिको विश्वसनीयता बढिरहेको यो क्षणमा अर्को चरणको निर्वाचनसम्म गणनाका लागि राखिने मतपेटिकाको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यसअघि चितवनमा मतगणनाका क्रममा मतपत्र च्यातेपछि दलका प्रतिनिधिलाई तारबारबाट बाहिरै राख्ने अभ्यास सुरु भएको छ । कसैले पनि विश्वसनीयता गुमाउने काम गर्नुहुँदैन भन्ने यो ज्वलन्त उदाहरण हो । दलहरूले समेत निष्पक्षतालाई सुनिश्चित गर्न काम गर्नुपर्ने हुन्छ । मतदाता परिचयपत्र, दलहरूको सक्रियता र नागरिक सक्रियताका कारण निर्वाचन धेरै हदसम्म निष्पक्ष हुँदै गएको छ । मतदाताले दिने निर्णयमा विश्वस्त हुनैपर्ने अवस्था आइसकेको छ । पहिलो चरणको निर्वाचनको उल्लासमय वातावरणले आगामी निर्वाचन थप उत्साहपूर्ण हुने विश्वास दिलाएको छ । संविधान कार्यान्वयनको यो चरणलाई सुखद बनाएकोमा सम्बद्ध सबै पक्ष बधाईका पात्र भएका छन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App