१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चुनावमा कलाकार : नाच्दै, गाउँदै, भोट माग्दै

काठमाडौं- दसैं÷तिहार पछिको समय सुटिङका लागि उपयुक्त मानिन्छ । मौसमको अनुकुलताका कारण पनि निर्माता ÷ निर्देशक यो समयमा सुटिङ गर्न रुचाउँछन् । संगीत र नाटकमा संलग्न कलाकारको पनि काम गर्ने समय यही हो । यसरी कलाकारहरू सुटिङ, कार्यक्रम तथा नाटकमा व्यस्त भइरहँदा राजनीतिसँग जोडिएका कलाकार भने जनताको मत आफ्नो पार्टीको पक्षमा ल्याउन लागिपरेका थिए । पार्टीको भातृ संगठनमा आबद्ध कलाकारहरूले पार्टीलाई चुनाव जिताउन देशका विभिन्न स्थानमा भइरहेका चुनावी सभामा नाचगान र प्रहसन प्रस्तुत गरेका थिए । पहिलो चरणको चुनाव सकिए पनि दोस्रो चरणको चुनाव हुने जिल्लामा कलाकारको सक्रियता उत्तिकै छ ।

चुनावमा आफ्नो पार्टीलाई जिताउन कलाकार दिलोज्यानले लागेका छन् । कलाकारले पनि चुनावमा प्रचार प्रसार, पार्टीका लागि काम गरेको देखाउने सुनौलो अवसरको रुपमा लिएका छन् ।

स्थानीय निकायको निर्वाचनका बेला जनमत बटुल्न सक्रिय नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघमा आबद्ध कलाकारले देशका प्रमुख सहरमा भएका चुनावी सभामा नाचगानसँगै प्रहसनमार्फत् मतदातालाई पार्टीको चुनाव चिन्हमा भोट लगाउन प्रेरित गरेका थिए । स्थानीय निकायको निर्वाचनमा विभिन्न भाषामा झण्डै सय बढी पार्टीसँग सम्बन्धित गीत निकालेको संघले मंसिरको निर्वाचनमा लागि पनि चुनावी गीत बनाएर सभामा त्यही गीत सुनाएको थियो ।
संघका महामन्त्री शिवशंकर रिजालका अनुसार संघ चुनाव प्रचारका लागि कलाकार मेचीदेखि महाकालीसम्मका जिल्लामा भएका सभामा सहभागी भएका थिए । ‘स्थानीय निकायको निर्वाचनमा जस्तै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहौल बनाउँदै मतदातालाई पार्टीप्रति प्रतिबद्ध बनाउन कार्यक्रम गर्यौैं,’महामन्त्री रिजालले नागरिकसँग भने,‘नेपाली कांग्रेसलाई नै भोट किन भन्ने सन्देश दिनका लागि सडक नाटक, स्टेज शो, सांस्कृतिक कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यक्रम गरेका  थियौं  । ’ संघले चितवन, नवलपरासी, बुटवललगायतका सहरमा कार्यक्रम सम्पन्न गरेको थियो ।
रिजालले देशभरमा रहेका सबै जिल्लामा स्थानीय कार्यसमिति रहेकाले स्थानीय तहमा चाहिँ त्यहीका कलाकार परिचालित गरिएको बताए । ‘ती जिल्लामा पनि राष्ट्रिय कलाकार आवश्यक परेको स्थानमा कलाकार पठाएर कार्यक्रम गरिरहेका छौं ’उनले भने,‘यस्तो कार्यक्रमले जनता बटुल्न सहयोग पु¥याउँछ । जसको फाइदा मतदानमा पनि केही प्रतिशत हुन्छ ।’
नेकपा एमालेको संस्कृति विभाग अन्तर्गतको राष्ट्रिय जनसांस्कृतिक महासंघमा आबद्ध जनपक्षीय चलचित्रकर्मी संघ नेपालले पनि पार्टीको पक्षमा प्रचारप्रसार गरेको थियो ।  । संघका अध्यक्ष केशव भट्टराईले संघले बाम गठबन्धन अन्तगर्त रहेका अन्य पार्टीका सांस्कृतिक विभागसँग पनि सहकार्य गरेर प्रचारको काम गरेको बताए । ‘संस्कृति विभागको निर्देशन अनुसार हामीले चुनावी प्रचारको लागि कलाकारहरू परिचालन गरेका थियौं । अहिले कलाकारहरू विभिन्न स्थानमा भएका चुनावी सभामा सहभागी भएर सांस्कृतिक कार्यक्रमदेखि मनोरञ्जनसँगै मतदातालाई पार्टीको विविध विषयमा जानकारी गराइरहेका छन्,’भट्टराईले भने,‘कलाकारले नृत्य, गायन, अभिनय, कविता, गीत लेखन, मुक्तकलगायतका सामाग्रीबाट मतदाता जागरुक गराइरहनुभएको छ ।’
भट्टराईले आफूहरु जनताको घरदैलोमै गएर भोट नमागे पनि वृहत आम सभामा आफ्ना विचारहरू प्रस्तुतिमार्फत राखेर चेतना जगाउने काम गरेको बताए । ‘१० गतेको निर्वाचन पहाडी र हिमाली जिल्ला केन्द्रित रहेकाले ती क्षेत्रमा जान सम्भव भएन । तर, २१ गते हुने दोस्रो चरणको निर्वाचनमा टोली परिचालन गरिसकेका छौं ,’उनले भने,‘राष्ट्रिय कलाकारहरू प्रमुख आम सभामा केन्द्रित भएका छौं । संघको स्थानीय शाखामा आबद्ध कलाकारले मात्र गाउँ गाउँ गएर चुनावी प्रचार अभियानलाई सघाइरहेका छन् ।’ मतदाताको ध्यान पार्टीतिर तान्नका लागि सांस्कृतिक कार्यक्रमको महत्व विशेष हुने भट्टराईको बुझाइ छ । केशवले बाम गठबन्धनका कार्यक्रममा पनि कलाकारहरू व्यक्तिगत सहभागिता जनाएर प्रचारप्रसार गरिरहेको बताए ।
माओवादी निकट अखिल नेपाल चलचित्रकर्मी संघमा आबद्ध कलाकारहरु पनि यतिबेला चुनावीसभामा व्यस्त छन् । संघका कार्यवाहक संयोजक सबिनकुमार तोलाङ्गीले सात वटै प्रदेशमा संगठन रहेकाले संगठनमा आबद्ध कलाकारले चुनावी सभामा सहभागिता जनाइरहेको बताए । क्षेत्रीय तथा स्थानीय तहमा संगठनले कलाकार परिचालन गरेका छन् । हामी पनि प्रमुख सभामा उपस्थित भइरहेका छौं  ’ उनले भने ।
उनले केन्द्रका कलाकारहरूले वाम गठबन्धनका प्रमुख नेताहरूले उम्मेद्वारी दिएको काठमाडौं, चितवन, दाङ, झापालगायतका जिल्लामा कार्यक्रम गरिरहेको बताए । ‘हामीले नृत्य, गायन, प्रहसनलगायतका कार्यक्रम गरेका छौं,’ उनले भने । सबिनका अनुसार झण्डै ३ दर्जन कलाकारको समूहले केन्द्रलाई भोट हाल्न प्रेरित गरिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(कमल थापा समूह)मा हुँदा राष्ट्रवादी कलाकर्मी मञ्च गठन गरेर त्यसको अध्यक्ष बनेका रविन्द्र खड्का अहिले यो मञ्चमा छैनन् । नेपाल चलचित्र कलाकार संघको प्रथम अध्यक्षसमेत भइसकेका खड्का यतिबेला एमालेको समर्थक बनेका छन् । उनले आफू एमालेमा आइसकेकाले पार्टीकै सभामा सहभागिता जनाइरहेको बताए ।
कलाकारलाई ‘राष्ट्रको गहना’ भनिए पनि पछिल्लो समयमा कलाकारहरु धमाधम पार्टी प्रवेश गरिरहेका छन् । दलका नेतालाई पनि ‘के खोज्छस् कानो आँखो’ भने जस्तै पार्टीमा कलाकारको समूह आउँदा प्रचार प्रसारको झन्झट लिन परेको छैन ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App