७ वैशाख २०८१ शुक्रबार
कला

चुनाव सकिने दिन कुर्दै हल

काठमाडौं- राजधानीको सडकका भित्ता केही दिनयता भोजपुरी फिल्म ‘निरहुआ हिन्दुस्तानी’को पोष्टरले छोपेको छ ।  ती तिनै भित्ता हुन् जसमा केही दिनअघि एकैसाता रिलिज हुने नेपाली फिल्म वा बलिउड फिल्मका पोस्टरले छोपिएका हुन्थे । एकै सातामा तीनदेखि चारवटासम्म नेपाली फिल्म रिलिज हुँदा ती भित्ता, भित्ता कम, हल ज्यादा लाग्थे । तिनै ठाउँमा अहिले भोजपुरी कलाकारका अनुहारले राम्रै स्थान पाएका छन् ।
प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका कारण भोजपुरी कलाकारले राजधानीका भित्ता रङग्याउने मौका पाएका हुन् । चुनावको कारण देखाउँदै नेपाली तथा बलिउड फिल्म रिलिज नभएपछि हलमा दर्शक टिकाउन हलले भोजपुरी फिल्मको सहारा लिएका हुन् । राजधानीका सिंगल थिएटरले पुरानै फिल्मलाई देखाएर दर्शकलाई हलमा बोलाइरहेका छन् भने मल्टिप्लेक्स हलले चाहिँ बलिउड र हलिउड फिल्म चलाइरहेका छन् ।
चाबहिलस्थित गोपीकृष्ण मुभिजले ‘झ्यानाकुटी’, ‘फाटेको जुत्ता’, ‘छक्का पन्जा २’ र भोजपुरी फिल्म ‘निरहुआ हिन्दुस्तानी’ हलमा चलाइरहेको छ । मुभिजका महाप्रबन्धक तीर्थ पौडेलले चुनावी माहौलले गर्दा नयाँ फिल्म हलमा नआएको बताए । ‘अहिले हलमा सुख्खा नै लागेको छ । नयाँ फिल्म केही छैनन् । पुरानैले काम चलाइरहेका छौं । फिल्म कम भएपछि भोजपुरी फिल्म पनि लगाइरहेका छौं,’उनले भने,‘चुनावी माहौलले गर्दा अधिकांश दर्शकहरु मतदानमा सहभागी हुन उपत्यका बाहिर छन् । अब दोस्रो चरणको चुनावपछि मात्र नयाँ फिल्म हलमा आउलान् ।’
पौडेलले हिन्दी र नेपाली फिल्मको चापका कारण भोजपुरी फिल्म कम लाग्ने गरेको बताए । ‘पहिला–पहिला पनि भोजपुरी फिल्म चल्थ्यो । तर, हिन्दी र नेपाली फिल्मको चापले भोजपुरी फिल्म छाँयामा पर्थे,’उनले भने,‘भोजपुरी फिल्म हेर्न खासै मान्छे आउँदैनन् । अहिलेको बेला अन्य फिल्ममा पनि उल्लेख्य दर्शक छैनन् ।’
मल्टिप्लेक्स हलमा पनि यो बेला विदेशी भाषाका फिल्मको वर्चश्व छ । स्वदेशी नयाँ फिल्मभन्दा पनि पछिल्लो पटक रिलिज फिल्म ‘झ्यानाकुटी’ नै दर्शकलाई देखाइरहेका छन् । क्युएफएक्समा हलिउड फिल्म ‘कोको’, ‘थोर रगरोक’, ‘जस्टिस लिग’, बलिउड फिल्म ‘अक्षर २’ र नेपाली फिल्म ‘झ्यानाकुटी’ रिलिज भइरहेको छ । ‘भारतमा फिल्म ‘पद्मावती’ सरेको कुरा सुनेका छौं । अब तुरुन्तै कुनै नयाँ फिल्म आउला जस्तो लागेको छैन,’क्युएफएक्सका एक कर्मचारीले भने,‘नेपाली फिल्म पनि नयाँ रिलिज भएका छैनन् । सबै फिल्ममा दर्शकको संख्या न्युन नै छ ।’ ती कर्मचारीले चुनावी माहौलका कारण पनि फिल्म नआएको हुनसक्ने अनुमान लगाउँदै चुनावपछि भने फिल्म प्रदर्शनको गति बढ्ने विश्वास व्यक्त गरे ।
बालाजुस्थित अष्ट नारायण हलमा पनि कुनै नयाँ फिल्म लागेका छैनन् । यो हलमा अहिले ‘झ्यानाकुटी’ र ‘जुन त लग्यो ताराले’ फिल्म रिलिज भइरहेका छन् । हलका अनुसार आगामी शुक्रबारबाट मात्र नयाँ फिल्म लाग्ने तयारी भइरहेको छ । ‘हलमा खासै मान्छे छैनन् । अब नयाँ फिल्म आयो भने दर्शक अलिक होलान् कि’ हलका एक कर्मचारीले भने ।
चुनावी माहौलकै कारण मंसिरमा कमै मात्र फिल्मले रिलिजको समय तालिका राखेका छन् । पार्टीसँग आबद्ध कलाकारहरु चुनाव प्रचारमा जुट्ने तथा उपत्यकामा रहेका मतदाता चुनावी कार्यक्रमका लागि गाउँ फर्किएकाले पनि फिल्म निर्माताहरुले हलमा फिल्म ल्याउने हिम्मत गरेका छैनन् ।

प्रकाशित: १२ मंसिर २०७४ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App