८ वैशाख २०८१ शनिबार
कला

‘दर्शकलाई मूर्ख भन्ने आँट ममा चाहिन्छ’

कठमाडा– फेसबुकमा ‘छक्का पञ्जा’ समूहको सामूहिक आक्रमणसँगै अभिनेत्री ऋचा शर्मा अचानक चर्चाको केन्द्रमा आएकी छिन् ।  अघिल्लो हप्ता सम्पन्न ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा ‘वुमन इन फिल्मस्’ शीर्षकमा भएको छलफलमा वक्ताको रुपमा सहभागी ऋचाले ‘छक्का पञ्जा ’का केही दृश्य आफूलाई अस्वाभाविक लागेको बताएकी थिइन् । तर, शनिबार सार्वजनिक भएको एउटा भिडियोले ऋचाले ‘छक्का पञ्जा’ हेर्ने दर्शक मूर्ख भनेको आसयको शीर्षक राखेर भिडियो प्रकाशित गरेपछि ‘छक्का पञ्जा ’समूहले ‘गेट वेल सुन’ भन्दै उनको स्वास्थ्यलाभको कामना गरेको थियो । नागरिकले यही विवादको सेरोफेरोमा ऋचासँग छोटो कुराकानी गरेको छ ।

सञ्चो छैन हो तपाईंलाई ?
साँच्चिकै सोध्नु भएको हो भने, मलाई सञ्चो छैन । रुघा लागेको छ र हल्का टाउको पनि दुखेको छ । सामाजिक सञ्जालमा आएको ‘गेट वेल सुन’को कुरा गर्नु भएको हो भने त्यस्तो अवस्था हैन । म एकदमै स्वस्थ छु ।

तर, तपाईं त बिरामी भएको भनेर ‘छक्का पञ्जा’ समूहले फेसबुकमा ‘गेट वेल सुन’ लेखेर रङग्याएका छन् ?
ह्जुर, हिजोदेखि देखिरहेको छु मैले । मेरो पनि ख्याल गर्ने रैछन् भनेर खुशी लागेको छ ।

अनि तपाईं आफैं निर्माता÷ अभिनेत्री भएर दर्शकलाई मूर्ख भन्ने ? तपाईंले ‘छक्का पञ्जा’ हेर्ने दर्शक मूर्ख हुन् भनेर भन्नु भएछ ?
कसैले मैले दर्शक मूर्ख हुन् भनेर भनेको प्रमाण ल्याउन सक्छ भने म उद्योग नै छाडिदिन्छु । किनकि दर्शकलाई मूर्ख भन्न ठूलो आँट चाहिन्छ जुन मसँग छैन । तर, जुन भिडियोलाई लिएर उहाँहरूले बबन्डर मच्चाउनु भएको छ त्यही भिडियोमा हेर्दा पनि थाहा हुन्छ मैले फिल्मको खास दृश्यलाई लिएर टिप्पणी गरेकी छु । बरु मैले हामी ‘हिप्पोक्रेट्स’ (पाखन्डी) छौं भनेको हो । यो कुरा म फेरि पनि दोहो¥याउँछु । हामी बाहिर महिला हिंसा हुनुहुन्न भनेर ठूलठूला कुरा गर्छौ तर जब फिल्ममा त्यस्ता दृश्य आउँछन् तिनमा ताली पिट्छौं । अनि भिडियो हेर्दा थाहा हुन्छ मैले आफैले यो कुरा कोट्याएको पनि हैन । दर्शक वा सहजकर्ता कसैले फिल्मसँग जोडेर प्रश्न सोध्नु भएको थियो मैले त्यसैमा आफ्नो धारणा राखेकी हुँ ।

तर, तपाईं विरुद्ध ‘छक्का पञ्जा’ समूहका हरेक सदस्यले एउटै स्ट्याटस पोस्ट गरेका थिए , जसमा तपाईका समकक्षी अभिनेत्री पनि छन् ?
मलाई किन यत्रो माइलेज दिइयो, अचम्म लागेको छ । केहीले यसलाई मेरो पब्लिसिटी स्टन्ट पनि भन्नु भएको छ । तर, विचरा मेरो समस्या के हो भने म यस्तो स्टन्टमा रमाउन सक्दिन । अब जहाँसम्म अभिनेत्रीको कुरा छ सायद उहाँहरूले टिममा ऐक्यवद्धता देखाउनु भएको होला ।

तर, आफैंसँग काम गर्ने अभिनेत्रीले पनि ‘गेट वेल सुन’भन्दा चित्त दुखेको छैन ?
बिल्कुलै छैन । मलाई थाहा छ, सत्य कुरा बोल्ने आँट ऋचा शर्मा जस्ता मुटु भएका मान्छेमा मात्र हुन्छ । हो, म यो उद्योगमा छु र यही काम पनि गर्नुछ । तर, यसो भन्दैमा म सत्य बोल्नबाट आफूलाई रोक्न सक्दिन । अभिनेत्री र महिला हुनुका साथसाथै अरुको फिल्मका लागि दर्शक पनि हुँ । अरुका फिल्मका बारेमा जे लाग्छ त्यो बोल्छु र त्यो अधिकार उहाँहरुलाई पनि छ । भोलि उहाँहरूलाई मैले बनाएको फिल्म चित्त बुझेन भने, त्यसको आलोचना गर्ने अधिकार उहाँहरूलाई पनि छ । तर, पूरा सन्दर्भ पनि नबुझी उहाँहरू फेसबुकमा सक्रिय भएको देख्दा चित्त दुख्नेभन्दा पनि हैरान छु ।

सामाजिक सञ्जालमा हेर्दा त सबैजनाले तपाईंसँग पुरानो दुश्मनी निकालिरहेका छन् जस्तो लागिराथ्यो ?
मेरो त कसैसँग पनि नयाँ वा पुरानो कुनै खाले पनि  दुश्मनी छैन । उहाँहरूको थियो भने मेरो भन्नु केही छैन ।

 

प्रकाशित: १२ मंसिर २०७४ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App