coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेरी-बबईलाई चार अर्ब अपुग

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि यो वर्ष चार अर्ब रुपैयाँ अपुग हुने भएको छ ।
सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षमा छुट्ट्याएको बजेट अपुग हुने भन्दै अर्थ मन्त्रालयसँग थप रकम माग गरेको छ । मन्त्रालयका अनुसार चालु आवको बजेटमा आयोजनाका लागि ६७ करोड रुपैयाँ मात्र छुट्ट्याइएको छ । अहिलेकै गतिमा आयोजनाको काम अघि बढाउन यो वर्ष छुट्ट्याएको बजेटमा करिब चार अर्ब रुपैयाँ थप रकम व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता सागरकुमार राईले जानकारी दिए ।
आयोजनामा हाल अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम)बाट सुरुङ खन्ने काम भइरहेको छ । ‘टिबिएम प्रयोग गरी अहिले दैनिक २० मिटरको दरले सुरुङ खन्ने काम भइरहेको छ,’ प्रवक्ता राईले भने, ‘यसका लागि दैनिक एक करोड ५० लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ । यो आवमा आयोजनाको काममा कुनै बाधा नआएको खण्डमा थप चार अर्ब रुपैयाँ आवश्यक पर्नेछ ।’
आयोजनाबाट उक्त बजेट माग भएपछि मन्त्रालयले अर्थमा पठाएको उनले जानकारी दिए । सो रकमको व्यवस्थापन गर्न नसके आयोजनाको काम प्रभावित हुने उनको भनाइ छ । ‘ठेकेदारले मेसिन र दुई÷तीन सय कामदार प्रयोग गरेर काम गरिरहेको छ । हामीले रकम भुक्तानी गर्न नसकेको खण्डमा काम रोकिने अवस्था आउँछ,’ प्रवक्ता राईले भने । तोकिएको समयमा रकम भुक्तानी गर्न नसके ठेकेदारलाई हर्जनासमेत तिर्नुपर्ने हुन्छ । यसले आयोजनालाई मात्र नभई मुलुककै अर्थतन्त्रमा असर पर्ने भएकाले जसरी पनि सो बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
प्रवक्ता राईका अनुसार आगामी दुई वर्षभित्र सुरुङ खन्ने काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । ‘अहिलेकै गतिमा काम भए लक्ष्यमा पुग्न सकिन्छ,’ उनले भने, ‘सुरुङ खन्ने कामसँगै सिमेन्टको स्ल्याब राख्ने काम पनि टिबिएमले गरिरहेको छ ।’ सुरुङ खन्ने काम सकिएपछि भेरी बबई माथि इन्टेकमा ब्यारेज निर्माण गर्ने र तल विद्युत्को पावरहाउस निर्माणको काम अघि बढ्ने उनले बताए । ‘ती कार्यको सर्भे, डिपिआर र रिभ्यूको काम अर्को वर्षबाट सुरु हुन्छ,’ उनले भने ।
भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाएर बाँके, बर्दियाका ८० हजार बिघा (५१ हजार हेक्टर जमिन) मा सिँचाइ सुविधा पु¥याउने तथा ४८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य छ । आर्थिक वर्ष ०६८÷६९ मा निर्माण थालिएको आयोजनामा हालसम्म एक अर्ब २५ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको मन्त्रालयले जनाएको छ ।
भेरी नदीको पानी बबईमा मिसाउन १२ किलोमिटर सुरुङ खन्नु पर्नेछ । सुरुङ खन्ने काम सबैभन्दा जटिल र महँगो मानिएको छ । टिबिएमबाट सुरुङ खन्ने कामका लागि मात्र करिब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । हाल साढे १० अर्ब रुपैयाँ सम्झौतामा ठेकेदारले काम गरिरहेको छ । सुरुङ खन्नका लागि टिबिएम प्रयोग गरिएको यो नै पहिलो हो । परम्परागत पद्धतिबाट सुरुङ खन्दा वर्षौं लाग्ने भएपछि अत्याधुनिक टिबिएमको प्रयोग गरिएको आयोजनाका अधिकारीहरु बताउँछन् ।
विद्युत् उत्पादन र सिँचाइ सुविधा उपलब्ध गराउने उक्त आयोजना नेपालमै नमुना हुने अपेक्षा गरिएको छ । मन्त्रालयले आर्थिक वर्ष ०७७÷७८ मा उक्त आयोजना सक्ने लक्ष्य लिएको छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App