१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धर्मगुरुको ‘आशीर्वाद’ को भरमा उम्मेदवार

इलाम- पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ जिल्लाका यस्ता राजनीतिक व्यक्ति हुन्, जसले लगातार ३ पटक एउटै क्षेत्रबाट चुनाव जिते । जिल्लाबाट कसैले अहिलेसम्म लगातार ३ पटक चुनाव नजिते पनि क्षेत्र नम्बर २ चाहिँ नेम्बाङलाई निकै ‘फापेको’ छ । र, उनी पुनः त्यही क्षेत्रबाट प्रतिनिधिसभामा चौथोपटक चुनाव लड्दैछन् ।

ठूलो समूहमा रहेका किरात धर्मावलम्बीलाई एकसूत्रमा बाँधेका गुरु लिङ्देनलाई त्यस समुदायका सबैले आदरसत्कार गर्छन् र उनको आशीर्वचन लिन पुग्छन् । यही मेसो पत्ता लगाएका राजनीतिक दलका नेताकार्यकर्ताले चुनावका बेला गुरुलाई ‘अलि बढी नै आदर’ गर्ने गरेको स्थानीयको अनुभव छ ।

जिल्लामा नेम्बाङबारे चर्चा हुन्छ– कानुन र संविधानका ज्ञाता उनको सरल र सरस भाषाशैलीले सधैं मतदातालाई भित्रसम्म छुन्छ । हुन पनि २०६४ सालको पहिलो संविधानसभा चुनावमा इलाम क्षेत्र २ बाट उम्मेदवारी दिँदा नेम्बाङ अन्तरिम ससद्को सभामुख थिए । त्यतिबेला नयाँ संविधान बनाउने भएपछि नेम्बाङले चुनावी सभाहरूमा कहिल्यै आफू र आफ्नो दल एमालेलाई भोट मागेनन्, न त प्रमुख प्रतिस्पर्धीको विरोध गरे । मध्यमार्गीजस्तो फरक शैलीको प्रचारमा लागेका नेम्बाङ मात्र यति भन्थे– योग्य उम्मेदवार छान्नुभयो भने मात्रै तपाईंले नयाँ संविधान पाउनुहुनेछ, नभए संविधानसभा समयको मात्रै बरबादी हुनेछ ।
चुनावी प्रचारको यही फरक शैलीले चर्चा पाएपछि उनले करिब २ हजार मतान्तरले नेपाली कांग्रेसका केशव थापालाई हराए । २०५६ सालको चुनावमा जिल्लाको क्षेत्र ३ बाट विजयी थापा जिल्लामा ‘विकासप्रेमी’ मा गनिन्छन् । तर, नेम्बाङले पनि ०५६ सालको चुनावमा कांग्रेसका महामन्त्री कुलबहादुर गुरुङलाई त्यही क्षेत्रबाट पराजित गरी ‘विकासपे्रेमी’ को उपमा लिन नभ्याएका होइनन् । ०७० सालको संविधानसभा चुनावमा नेम्बाङले कांग्रेसका भेषराज आचार्यलाई हराएर एउटै क्षेत्रमा ‘ह्याट्रिक’ पूरा गरे ।
नेम्बाङले लगातार कसरी त्यही क्षेत्रबाट चुनाव जितिरहेका छन् ? जिल्लामा धेरैथरी अड्कलबाजी हुने गरेका छन् । उनी निकै चतुर, भलाद्मी, शिक्षित र विवादरहित व्यक्ति भएरमात्र होइन, किरात धर्मगुरुको ‘आशीर्वाद’ का साथै अनुयायीको सहयोगसमेत उनीमाथि रहन्छ । नभन्दै, सभामुख, संविधानसभाको अध्यक्ष, मन्त्री र सांसद् भएका बेला पनि उनी माङ्सेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शनभेट गर्न निरन्तर लारुम्बा आइरहे । यसपटक पनि नेम्बाङ कात्तिक १६ गतेको उम्मेदवार मनोनयन दर्ता सक्नेबित्तिकै धर्मगुरु लिङ्देनकहाँ पुगे । उनले कात्तिक १९ गते लारुम्बाबाटै चुनावी प्रचार अभियान शुभारम्भसमेत गरेका थिए ।
     किरात धर्मावलम्बीको पवित्र धार्मिक स्थल लारुम्बा नेम्बाङले लगातार ३ पटक निर्वाचन जितेको क्षेत्रमै पर्छ । र, नेम्बाङ आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पनि त्यही क्षेत्रबाट  एमाले–माओवादी (वाम गठबन्धन) को उम्मेदवार छन् ।
    विश्वभर छरिएका किरात धर्मावलम्बीको मुख्य धार्मिक केन्द्र हो माङ्सेबुङ । यहाँ बस्छन्, राष्ट्रिय विभूति फाल्गुनन्दका अनुयायी अहिलेका धर्मगुरु आत्मानन्द लिङ्देन । ठूलो समूहमा रहेका किरात धर्मावलम्बीलाई एकसूत्रमा बाँधेका गुरु लिङ्देनलाई त्यस समुदायका सबैले आदरसत्कार गर्छन् र उनको आशीर्वचन लिन पुग्छन् । यही मेसो पत्ता लगाएका राजनीतिक दलका नेताकार्यकर्ताले चुनावका बेला गुरुलाई ‘अलि बढी नै आदर’ गर्ने गरेको स्थानीयको अनुभव छ । ‘चुनाव मिति घोषणा भएपछि यहाँ गुरु भेट्न आउने जुनसुकै दलका माथिल्लो तहका नेताकार्यकर्ताको घुइँचोजस्तै हुन्छ,’ एक स्थानीय भन्छन्, ‘कहिलेकाहीं त विशिष्ट व्यक्तिसमेत आइपुग्छन् र गुरुको आशीर्वाद लिएर फर्किन्छन् ।’
    तर, नेम्बाङ त्यहाँ निरन्तर आफू आउनुलाई गुरुप्रतिको सद्भाव र आदरमात्रै मान्दैनन्, आफूले चुनाव जितेको क्षेत्रमा आउनु जिम्मेवारी नै भएको बताउँछन् । पूर्वसभामुख नेम्बाङ आफूले लगातार त्यही क्षेत्रबाट चुनाव जितेको हुनाले पटकपटक आफू त्यहाँ पुगेको बताउँछन् । ‘मैले त्यही पवित्र धार्मिकस्थल भएको क्षेत्रबाट चुनाव जितेकाले गुरुसँगको भेटघाट मेरो जिम्मेवारीभित्र पर्छ,’ नेम्बाङले नागरिकसँग भने, लारुम्बा विश्वकै प्रसिद्ध धार्मिक स्थल र सम्पदा हो । त्यसैले लारुम्बाजस्तो स्थान पाउनु इलाम क्षेत्र नम्बर २ र सिंगो जिल्लाकै लागि गर्वको विषय हो ।’
    नेम्बाङले यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न अहिलेसम्मका राष्ट्रपति र प्रधानमन्त्रीसमेत गरी धेरै उच्च तहका नेतालाई समेत आफैंले त्यहाँसम्म पु¥याएको बताए । ‘मैले धेरै विशिष्ट व्यक्तिलाई आफैं निम्तो दिएरसमेत त्यहाँ पु¥याएको छु, आफू पटकौंपटक पुगेको छु,’ उनले भने, ‘लारुम्बाको धार्मिक पर्यटन प्रवद्र्धन गर्नसके इलामका लागि समृद्धिको ढोका खुल्न सक्छ ।’ उनले आफ्नो हारजित गुरुमा भर पर्ने भएर त्यहाँ पुगेको भन्दा पनि आफूले चुनाव जितेको र अहिले पनि त्यही क्षेत्रको उम्मेदवारको हैसियतले त्यहाँ पुगेको बताए ।
    यसपटक भने नेम्बाङलाई आफ्नो क्षेत्रमा चुनाव जित्न निकै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको जिल्लामा विश्लेषण गरिँदैछ ।
    नेम्बाङका अहिलेका मुख्य प्रतिस्पर्धी थापासमेत धर्मगुरुलाई भेट्न त्यहाँ पुगिसकेका छन् । नेम्बाङ पुगेको अघिल्लै दिन अर्थात् कात्तिक १८ मा थापा गुरु भेट्न लारुम्बा पुगिसकेका थिए । २०७० सालको संविधानसभा निर्वाचनको केही दिनअघि एमाले नेता केपी शर्मा ओलीसमेत उनै धर्मगुरुलाई भेट्न लारुम्बा पुगेका थिए । नजिकै झापाको क्षेत्र ७ बाट चुनाव लडेका ओली चुनावको मुखैमा ‘गुरुको आशीर्वचन लिन’ पुग्दा देशभर चर्चाको विषय बनेको थियो ।  
    गुरुले आफ्ना चेलाहरूको ‘विश्वास जित्ने’ बुझेका उम्मेदवार उनले चुनावमा जसलाई सघाउँछन्, उसैले विजय प्राप्त गर्न सक्छ भन्ने बुझाइमा छन् । उम्मेदवारको यो अनुमानलाई गुरुको आश्रम रहेको स्थान (पुरानो बाँझो गाविस) को अहिलेसम्मको चुनावी नतिजाले पनि प्रमाणित गरिदिएको छ । २०५१ सालको चुनावमा एमालेको सबैभन्दा बढी मत आएको गुरुआश्रम रहेको (बाँझो वडा–८)मा ०५४ सालको स्थानीय निर्वाचनमा प्यानल नै राष्ट्रिय जनमुक्ति पार्टी (राजपा) ले जितेको थियो । ०५६ र ०६४ सालका निर्वाचनमा एमालेको सबैभन्दा बढी मत आएको यही स्थानमा ०७० सालको संविधानसभा चुनावमा भने संघीय समाजवादी फोरमको पहिलो मत आयो । तर, गत स्थानीय तह निर्वाचनमा चाहिँ माङ्सेबुङ गाउँपालिका–५ बाट वडाध्यक्षसहित सबै सदस्य पदमा फेरि राजपाले बाजी मा¥यो ।
    जिल्लाको दुर्गम भेगमा रहेर पनि यतिका अस्थिर मतदाता देखिएपछि उम्मेदवारको ध्यान चुनावको मुखमा त्यतै तानिएको हो । अहिले विभिन्न दलका नेताकार्यकर्ता गुरुको आशीर्वाद लिन दिनहुँ पुगिरहनुका पछाडि धार्मिक आस्था मात्रै नजोडिएको दलका नेता नै स्वीकार्छन् । कांग्रेस उम्मेदवार थापाले उम्मेदवारी मनोनयनपछि धर्मगुरु लिङ्देनलाई त्यही पुगेर भेटिसकेको बताए । ‘धर्मगुरु नै भएकाले उहाँले जे भन्नुहुन्छ, त्यो एउटा ठूलो समूहले मान्नु त स्वभाविक नै हो नि,’ थापाले भने, ‘तर, ठूलो संख्याको मतको आशाले होइन, चुनावी प्रचारक्रममा उहाँलाई पनि भेटौं भनेर पुगिएको मात्र हो ।’
    धर्मगुरु लिङ्देन र किरात धर्मको उत्थानका लागि यहाँ मांगेना समिति र किरात धर्म तथा साहित्य उत्थान मञ्च गठन गरिएका छन् । यी समितिलाई समेत समेटेर मतदाता आकर्षित गर्न दलहरू लागिपरेका छन् । समितिका अध्यक्ष केहेरसिंह योङहाङलाई एमालेले प्रदेशतर्फको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको छ । एमालेका एक जिल्ला नेता भन्छन्, ‘त्यहाँकै व्यक्तिलाई उम्मेदवार बनाएपछि अलि बढीले वाम गठबन्धनलाई सघाउँछन् भन्ने विश्वास हो ।’
हरेक मंसिर १८ मा धर्मगुरु लिङ्देनको यहाँ जन्मोत्सव आयोजना गरिन्छ । त्यस अवसरमा औपचारिक समारोह र विभिन्न खेलकुदसमेत गरिन्छन् । जन्मोत्सवको औपचारिक कार्यक्रम उद्घाटन गर्न बर्सेनि देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदलगायत आइपुग्छन् । गुरु लिङ्देनको आश्रम भएको आसपासमा किरात समुदायको बाक्लो बस्ती छ । गुरुआश्रमको करिब २ किलोमिटर वरपर मदिरा, मासु, खैनी, चुरोट, सुर्ती सबै निषेध छ भने अहिंसाको चेतना फैलाउने उद्देश्यले यहाँ मासुका लागि पशुपन्छी पाल्नसमेत पाइँदैन । भौगोलिक रूपले दुर्गम भएपनि बर्सेनि हजारौं नरनारी धार्मिकस्थल अवलोकन र गुरुको दर्शनका लागि त्यहाँ पुग्छन् ।
    गत स्थानीय तह निर्वाचनमा राजपाबाट प्यानलसहित वडा–५ को वडाध्यक्ष जितेका नरेन्द्रकुमार राई भन्छन्, ‘अहिलेसम्मको चुनाव नतिजाले यहाँको मत अस्थिर छ भन्ने देखेपछि सबै दलका उम्मेदवार चुनावको मुखमा यता आउनु अस्वाभाविक होइन । तर, गुरुचाहिँ कुनै दलविशेषको हुनुहुन्न । उहाँ सबैको साझा गुरु हुनुहुन्छ ।’  एमालेका स्थानीय नेता नन्दकुमार नेम्बाङ पनि गुरु लिङ्देनले यो दल वा त्यो दल भनेर कहिल्यै चुनावी प्रचार नगरेको दाबी गर्छन् । ‘व्यक्तिगत रूपमा गुरुलाई कुन उम्मेदवार ठीक लाग्छ भन्ने कुरा आफ्नो ठाउँमा छ तर भोट यसैलाई हालौं भन्ने आग्रहपूर्वाग्रह उहाँबाट आउँदैन,’ नेम्बाङले भने, ‘गुरुले आफूलाई भेट्न आउने सबै दलका उच्च तहका नेतालाई अहिंसा, भ्रातृत्व, प्रेम र सद्भावको उपदेश दिनुहुन्छ, पहिले नै उपदेश पाएका नेता फेरि आउँदा पहिलाको उपदेश कति पालना गरियो भनेरसमेत सम्झाउनुहुन्छ ।’
यो वडामा स्थानीय तह चुनावमा १ हजार ६ सय ७८ मतदाता रहेकामा १ हजार २ सय १४ मत खसेको थियो । आउँदो चुनावका लागि यहाँ २ हजार हाराहारी मतदाता छन् । धार्मिकस्थल लारुम्बासमेत परेको प्रतिनिधिसभा क्षेत्र २ मा वडाध्यक्षहरूले ल्याएको कुल मत तुलना गर्दा एमाले कांग्रेसभन्दा १ हजार ५ सय ८ मतले मात्रै अगाडि छ । तर, गुरुलाई प्रभावित गर्दा यो वडाको मात्र होइन, किरात धर्मावलम्बीको बाहुल्य रहेको क्षेत्र २ को धेरै मत आफ्नो पक्षमा पार्ने बुझाइमा समेत छन् दलहरू । स्थानीय चुनावमा प्रतिनिधिसभातर्फ क्षेत्र २ का सबै (४२) वडामा एमालेको मत २७ हजार ७ सय १ आएको आएको थियो भने कांग्रेसको २६ हजार १ सय ९३ मत थियो ।  यहाँ ६ हजार ८ सय ३९ मत भएको माओवादी एमालेसँग चुनावी तालमेलमा रहेकाले एमालेले राहत अनुभव गरिरहेपनि कांग्रेस दुवै दलको गठबन्धनको भन्दा मत उछिन्ने दाउमा छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App