coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

म्युजिक भिडियोबाट ग्रामीण पर्यटन

कास्की- तपाईं आफ्नो गाउँ चिनाउन के गर्नुहुन्छ ? पर्चा पम्पलेट बनाउने । ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने वा अरू केही । कास्की पोखरा र आसपासका जिल्लामा भने आफ्नो गाउँलाई चिनाउन गीत र म्युजिक भिडियोको भरमार प्रयोग हुन थालेको छ । संगीतको आनन्दसँगै सुन्दर भिडियोमा गाउँको प्रचार प्रसार गर्न सहज हुने भएपछि अहिले गाउँका भिडियो र गीत बनाउन होडबाजी जस्तै छ ।

पर्यटकीय गाउँ धम्पुसलाई हेरौं न । पोखरा नजिकै पर्छ । यसैको पूरा वर्णन गरेर तयार भयो– ‘सुनाखरी सुनागाभा गुराँस जस्तो यो मन, साट्न आउनु धम्पुसैमा हिमाल जस्तो जोवन’ । बिम्ब कविका रूपले प्रख्यात रमेश श्रेष्ठले त्यहा“को सुन्दरतालाई शब्दमा उतारे । धनबहादुर गुरुङले संगीत भरे । रजनी राईले मिठो स्वर भरिन् ।

पर्यटकीय गाउँ धम्पुसको यो गीत रेडियो र टिभीमा बज्न थालेपछि धम्पुसको परिचय बाक्लियो । अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, धौलागिरि र मर्दी हिमालको शिरदेखि फेदसम्म हेर्नका लागि धम्पुस पुग्नेको ओइरो लाग्यो । धम्पुसको चर्चा सुनेका तर, नपुगेका नेपालगन्जका ऋषि पुन यही गीतको भिडियो हेरेपछि त्यहाँको सौन्दर्यले लोभिएर उनी साथीसँगै धम्पुस रमाउन पुगे ।

‘धेरैको मुखबाट धम्पुसको सौन्दर्य सुनेको थिएँ, यो गाउँबारे बनेको भिडियो गीत हेरेपछि त्यहाँ नपुगी सुखै पाइनँ’, धम्पुसको सौन्दर्यले लोभिएका ऋषि भन्छन्, ‘ग्रुपमा बाइकमा पुगेका थियौं । नजिकैबाट हिमाल हेर्न पाइने, गुरुङ संस्कृतिको अवलोकन गर्दा रमाइलो भयो, अरूलाई पनि जान सुझाएको छु ।’

सामान्यतया एउटा गीतको म्युजिक भिडियो बनाउनका लागि ८० हजारदेखि एक लाख ५० हजारसम्म खर्च हुन्छ । धेरैजसो गाउँका गीतमा नृत्य गर्ने युवती गाउँकै हुन्छन् । पोखरा आसपासका सुन्दर गाउँका बारेमा गीत बन्न थालेपछि गीत त चल्ने नै भए, पर्यटक पनि आउन थाले । यस्ता गीतले विभिन्न गाउँ चिनाउन ठूलो सहयोग गरे ।

अहिले पोखरा र आसपासका विभिन्न जिल्लामा आफ्नो गाउँ चिनाउनलाई गाउँको वर्णन गरेर गीत बनाउन होडबाजी चलेको छ । ‘वास्तवमा हाम्रो गाउँ चिनाउन यो गीतले ठूलो भूमिका खेलेको छ’, माछापुच्छ«े गाउँपालिका वडा नम्बर– ७ का वडा अध्यक्ष सम गुरुङ भन्छन् ।

पोखरा र आसपासका जिल्लामा आफ्नो गाउँ चिनाउने गीत धमाधम बन्न थालेपछि साहित्यकार रिमबाबु रानाको मन थामिएन । उनले पनि स्याङ्जा चित्रेभन्ज्याङको आफ्नो गाउँबारे गीत लेखेर म्युजिक भिडियो नै बनाए । ‘आफ्नो गाउँलाई चिनाउनका लागि थोरै भए पनि सघाउ पुगोस् भनेर यो गीत तयार पारेको हुुँ,’ उनी भन्छन् ।

रिमबाबु मात्र होइन पछिल्लो समय पोखरा आसपासका धेरै गाउँका गीत बनिसकेका छन् । केही गाउँका गीत बन्दैछन् । केही गाउँका गीत बन्नेवाला छन् । गाउँलाई चिनाउन र प्रचारका लागि सजिलो माध्यम गीत भएकाले धेरैले आफ्नो गाउँघरलाई गीतमा उतारेका छन् ।

‘आफ्नो गाउँलाई देशविदेश चिनाउन धेरैले गाउँका गीत बनाउने गरेका छन्’, थुप्रै गाउँका गीतको म्युजिक भिडियो निर्देशन गरेका कृष्ण गुरुङ भन्छन्, ‘यसले आन्तरिक पर्यटकलाई आकर्षण गर्न सहयोग पनि गरेको छ, मैले भर्खर दुईवटा गाउँका गीत निर्देशन गरेँ । अरू पाइपलाइनमा छन् ।’

गाउँको धार्मिक, सांस्कृतिक, प्राकृतिक र सामाजिक पक्षलाई उजागर गरी आफ्नो पहिचान देखाउन पनि गाउँका गीत र भिडियो बनाइने गरेको उनको बुझाइ छ । मुस्ताङको मार्फा गाउँको बारेमा बनाइएको गीत ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ बोलको गीत बनेपछि पोखराका आसपासमा गाउँका गीत लेख्ने र बन्ने क्रम बढेको हो । वसन्ती लालचनको शब्द र सुतीला थापाको संगीत रहेको यो गीतले त्यसयता निकै चर्चा पाएको छ । पृथ्वी गुरुङले यो गीतको म्युजिक भिडियो बनाएपछि झन् चर्चामा आएको हो ।

पछिल्लो समय युटुबले पनि सजिलो बनाइदिएको छ । लोकल र राष्ट्रिय स्तरका टिभीमा बजाउने मात्रै होइन । युटुबमा हालेपछि धेरैले गाउँका गीतको म्युजिक भिडियो हेर्न थालेका छन् । यसले गाउँलाई चिनाउन असाध्यै सजिलो भएको छ । यतिबेला पोखरामा चर्चामा आएको गीत हो, ‘हिमाली काखैमा’ माछापुच्छ«े, मिर्सा, घाचोकलाई गीतमा समेटिएको छ ।

यो जति चर्चित छ त्यति धेरै प्रचार भयो गाउँको । यस्तै बढी चर्चामा आएको गीत हो –‘सिक्लेलसको मेलैमा, सिधै नजर लगाउने को होला भेट भाको बेलैमा’ गुरुङ भाषाको ‘रिमे म्युमै सै’ फिल्ममा रहेको यो जति चर्चित छ त्यति धेरै प्रचार भयो सिक्लेस गाउँ । विभिन्न रेडियो र टेलिभिजनबाट बज्ने यो गीत अहिले सबैले गुनगुनाउँछन् । ‘घान्द्रुककी ठिटी मत त...’ पनि सर्वाधिक चर्चित गीत हो। यसले पनि घान्द्रुकलाई प्रवद्र्धन गर्न ठूलो सहयोग पुग्यो।

आजभोलि गाउँका गीत बनाउन तँछाडमछाड नै चलेको छ । रुपाताल, तप्राङ, आर्थर, भदौरे, भाचोक, लान्द्रुक, ताङतिङ, सिक्लेस, खुँदी, गल्याम, भिचोक, कुइवाङ, कोल्मा, ल्वाङ, सावेद गाउँ, मिर्सा, घाचोक, माछापुच्छ्रे, बरालडाँडा, थाकखोला, भुजुङ, याङ्जाकोट, तप्राङ, दुक्तान, देउपुर, देउराली, दुर्लुङ, बालकोट, पाण्डवखानी, फलामेडाँडा, ल्वाङ, साप्ले गाउँ, घले गाउँ, भुम्दी गाउँ, मालिङ गाउँ, मौजा, सिङ्दी, गिलुङ, याङ्जाकोट, कालाबाङ, पाँच गाउँ टक्सार, रुपागाउँ, लुम्ले, सिउरुङ, तारकाङ, स्वातना, मल्याङ, ढडुवा, हुनीकोट, सैमराङ, दोबा, नारच्याङ लगायतका थुप्रै गाउँका गीत बनेका छन् ।

सायद अब गीत बन्न कास्कीका लगभग गाउँ बाँकी छैनन् । यी गीतले एकातिर गाउँ चिनाउने काम गरेका छन् भने अर्कातिर कलाकार। यति मात्र होइन यस्ता गीतले संगीतमा नयाँ आयामसमेत थपेका छन् ।

‘आफ्नो गाउँ चिनाउन गीत बनाउने क्रम बढेपछि विभिन्न गाउँबाट मलाई गीत लेखिदिन आग्रह गर्छन्, गाउँमै नपुगेसम्म लेख्न सकिँदैन कतिले गाउँ नपुगे पनि लेख्दिनुपर्ने भन्दै हैरान बनाउँछन्,’ करिब डेढ दर्जन गाउँका गीत लेखिसकेका कवि एवं गीतकार रमेश श्रेष्ठ भन्छन्, ‘गाउँको प्रमोसनका लागि यस्ता गीतले ठूलो सहयोग गरेका छन्। गाउँको भिजुअल गर्दा त राम्रो कुराको मात्रै गरिएको हुन्छ।’

 

प्रकाशित: १२ मंसिर २०७४ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App