८ वैशाख २०८१ शनिबार
अन्य

युद्धदेखि संसद्सम्म सँगसँगै

कात्तिक लागेलगत्तै काठमाडौं छाडेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोका यतिखेर कान्छो जिल्ला पूर्वी रुकुमको चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । काठमाडौंमा रहेका पति र दुई सन्तानको दैनिकी भन्दा पनि कमलालाई यतिखेर मंसिर १० गते हुन गइरहेको निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने भन्ने चिन्ता बढी छ ।
त्यसो त अहिलेसम्म सरसर्ती रूपमा देखिएका मतदाताको चाहना र विगतको नतिजालाई हेर्ने हो भने कमला आत्तिनु पर्ने खासै कारण छैन किनभने अहिलेसम्म माओवादी केन्द्र मात्र नभई विपक्षी दलसमेत पूर्वी रुकुमलाई ‘लालकिल्ला’ को रूपमा बुझ्छन् । त्यसमा नेकपा एमालेले पनि कमलालाई सघाएर वामगठबन्धनका तर्फबाट एकल उम्मेदवार बनाएको छ । तैपनि कमलाको मनमा भने चैन छैन । चुनाव जित्नका लागि यतिखेर उनी पूर्वी रुकुमको घरदैलोमा खटिएकी छन् । निर्वाचनमा भाग लिइसकेपछि विपक्षी जतिसुकै कमजोर भए पनि हरेक उम्मेदवारमा देखा पर्ने चिन्ता र त्रास कमलामा देखिन्छ । ‘मतगणना नहुँदासम्म  नतिजा कस्तो आउँछ भन्न सकिँदैन,’ उनले त्रास व्यक्त गरिन् ।
उनी भन्छिन्, ‘चुनावी मैदानमा प्रतिस्पर्धी कमजोर भएको जान्दाजान्दै जनताको सम्मानका लागि घरघर पुगिरहेकी छु ।’ कात्तिकको पहिलो सातादेखि सुरु गरेको घरदैलो कात्तिक अन्तिम सातामा सकिएको उनले जानकारी दिइन् ।
चुनावी घरदैलोका लागि पूर्वी रुकुमको सबभन्दा अग्लो स्थान सिस्ने  पुगेको बेला (कात्तिक २६ गते) नागरिक परिवारको सम्पर्कमा आएकी कमलाले भनिन्, ‘सडक यातायात पुगेको र सुगम बस्ती भएको भए दुई/चार दिनमै पूरै जिल्लाको घरदैलो सकिन्थ्यो । भौगोलिक विकटताले गर्दा सोही काम सक्न एक महिना लाग्यो ।’

कमला–गणेशमानको जोडी माओवादी जनयुद्धमा सुरुको पहिलो दिन, पहिलो फौजी आक्रमण, पहिलो पटक जेल पर्दादेखि संसदीय राजनीतिसम्म सँगसँगै रहेको दुर्लभ जोडी मध्येको हो ।


निर्वाचन आयोगका अनुसार देशभरिका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सबभन्दा कम मतदाता रहेको जिल्ला पूर्वी रुकुम हो । भौगोलिक बनावट पनि त्यति ठूलो छैन । साविकको रुकुमको पूर्वी भेकमा पर्ने १६ गाविसलाई टुक्राएर नयाँ जिल्ला बनाइएको हो । जहाँको मतदाता संख्या करिब २८ हजार छ ।
२०५२ मा माओवादी जनयुद्ध सुरु हुँदादेखि नै पूर्वी रुकुम ‘लालकिल्ला’ को रूपमा परिचित रहँदै आएको छ । यद्यपि नेपाली कांग्रेसका उम्मेदवारले कमलालाई टक्कर दिने प्रयास गरिरहेका छन् । पूर्वी रुकुममै जन्मेकी कमलालाई जातीय हिसाबले पनि साथ दिएको छ । मगर समुदायको बाहुल्य रहेको त्यस भेकबाट प्रतिस्पर्धा गरेकी कमला सोही समुदायबाट राजनीतिमा सफलता प्राप्त गर्ने थोरै व्यक्ति मध्येकी हुन् ।
पत्नी कमला गाउँगाउँमा चुनावी व्यस्ततामा रहँदा उनलाई काठमाडौंमा रहेका पति गणेशमान पुनले सघाइरहेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचनमा भाग लिन अवसर पाएका निकै थोरै (चार जना) महिलामध्ये एक कमलाको चुनावी तयारीबारे बुझ्न खोज्दा उनका पति गणेशमान  सहयोगीको अग्र पंक्तिमा भेटिए । पूर्वी रुकुममा रहेकी पत्नीलाई चुनाव प्रचारप्रसारका लागि चाहिने झण्डा, प्रचार सामग्री लगायत सबै स्रोत, सामग्री जुटाउन गणेशमान व्यस्त र सक्रिय थिए । कमलालाई बेला बेला गणेशमानले नै एकातिर केन्द्रीय राजनीतिमा भइरहेको विकासक्रम र सूचना उपलब्ध गराइरहेका त अर्कोतर्फ गाउँको चुनावी तयारी र सतर्कताबारे सम्झाइरहेका थिए ।

नेकपा माओवादी केन्द्रभित्र जनयुद्ध कालदेखि संसदीय राजनीतिमा सँगसँगै जम्ने अवसर पाउने सीमित जोडीमध्ये गणेशमान र कमलाको जोडी पर्छ । पछिल्लो समयमा पिता, पति या अन्य अभिभावकका कारण राजनीतिमा आफन्त थपिने उदाहरण तमाम भए पनि कमला–गणेशमानको जोडी माओवादी जनयुद्धमा सहभागिताको पहिलो दिन, पहिलो फौजी आक्रमण, पहिलो पटक जेल पर्दादेखि संसदीय राजनीतिसम्म सँगसँगै रहने दुर्लभ जोडीमध्ये पर्छ ।  
माओवादी जनयुद्धको पहिलो दिन अर्थात् २०५२ फागुन १ गतेको पहिलो फौजी आक्रमणमा एउटै मोर्चामा सामेल गणेशमान र कमला खुला राजनीतिमा पनि सँगै हुनुलाई संयोग मात्र ठान्दैनन् । जनयुद्धेखि खुला राजनीतिसम्म सँगसँगै सामेल हुन पाउने अवसरलाई उनीहरू निरन्तरदेखिको संघर्ष र इमान्दारिताको प्रतिफल ठान्छन् । ‘जनयुद्ध कालमा एउटै मोर्चामा रहेका कैयन जोडी आज सँगै छैनन्,’ कमलाले भनिन्, ‘कोही पारिवारिक समस्याले, कोही इमान्दारिताको खडेरीले त कोही निष्क्रियताले टिक्न सकेनन् तर हामीले निरन्तर टिकिरहन त्यस्ता सबै अवरोधलाई पन्छाइरहेका छौं ।’
कमलाले भनेजस्तै जनयुद्ध कालमा विवाह बन्धनमा बाँधिएका कैयन जोडी खुला राजनीतिमा प्रवेश गर्दाको अवस्थामा आइपुग्दा तहसनहस भइसकेका छन् । कतिपय जोडी विभिन्न फौजी आक्रमणको क्रममा मारिए,  कतिपय जोडी विचारमा आएको परिवर्तन र खुला राजनीतिक संस्कारको धरापमा परे ।
२०५२ फागुन १ गते तत्कालीन माओवादीले रुकुमको आठबीसकोटस्थित राडीजिउला प्रहरी चौकीमा पहिलो आक्रमण गर्दा गणेशमानको कमाण्डरत्वमा कमला महिला छापामारको रूपमा लामबद्ध थिइन् । ‘कमलासँग मेरो चिनजान २०४७/४८ तिरै भइसकेको थियो,’ माओवादीको चर्चित भातृ संगठन वाइसिएलको अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी हाल माओवादी केन्द्रको सचिवालय सदस्य रहेका गणेशमानले भने, ‘चिनजानको केही समयलाई मायाप्रेममा रुपान्तरित हुन दिएर विवाह भने जनयुद्ध सुरु भएको एक वर्ष पूरा भएपछि मात्र ग¥यौं ।’
विवाहपछि जनयुद्ध कालको लामो अवधिसम्म गणेशमान–कमलाको जोडीसँगै बस्न भने पाएन । ‘हामीलाई आफ्नोभन्दा पार्टीको चिन्ता बढी हुन्थ्यो,’ गणेशमानले भने, ‘पार्टीले गर्ने निर्णयका अघिल्तिर सँगै बस्ने चाहना कहिलै प्राथमकितामा परेन । जुन आजपर्यन्त कायमै छ ।’ पार्टीको जिम्मेवारी पूरा गर्न कमला कहिले पूर्व हिँड्थिन् भने गणेशमान कहिले पश्चिम । एकै स्थानमा जिम्मेवारी परिहाल्यो भने पनि सुरक्षाको दृष्टिकोणले छुट्टाछुट्टै बस्नु पर्ने अर्को बाध्यता थियो ।
२०५३ साउन ५ गते तत्कालीन माओवादी नेताहरू कृष्णबहादुर महरा, हेमन्तप्रकाश ओलीको उपस्थितिमा विवाह गरेको अर्को वर्ष गणेशमान र कमलाको जोडी नेपालगन्जमा पक्राउ प¥यो । ‘पार्टीको बैठकमा भाग लिन र प्रचार सामग्री जुटाउन भारत जाँदै गर्दा नेपालगन्जमा २०५४ असार २१ गते कमला र म पक्राउ प¥यौं,’ गणेशमानले भने, ‘कमलालाई  पक्राउ परेको एक सातापछि सुरक्षाकर्मीले दाङ लिएर छोडे । मलाई भने नेपालगन्जको जेलमै राखियो ।’
नेपालगन्जमा पक्राउ गर्दा गणेशमान तत्कालीन रुकुमको जिल्ला सेक्रेटरी थिए । पदीय हिसाबले जिम्मेवारी तहमा रहेकाले गणेशमानलाई सुरक्षाकर्मीले रिहा गरेनन् । लामो समयसम्म सुुरक्षाकर्मीले रिहा नगरेपछि २०५८ वैशाख १८ गते उपचार गर्ने बहाना निकाली भेरी अञ्चल अस्पताल पुगेका गणेशमानलाई माओवादी छापामारले अस्पतालबाटै उठाएर बर्दिया पु¥याएर जेलमुक्त गरेका थिए ।
जेलमुक्त भएयता भने कमला र गणेशमानको जोडी सँगसँगै छ । र, खुला राजनीतिमा सफल हुँदै गइरहेको उनीहरूलाई अनुभूति भइरहेको छ । अस्पतालबाट भाग्न सफल भएलगत्तै उपक्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारी पाएका गणेशमान २०६० मा माओवादीका ६१ जना केन्द्रीय सदस्यमा चयन सफल भए भने सोही वर्षको साउन महिनामा विस्तार गरिएको ९५ सदस्यीय केन्द्रीय समितिमा पर्न कमला पनि सफल भइन् । यतिखेर माओवादी केन्द्रको सचिवालय सदस्य रहेकी कमला सोही पार्टीको महिला विभाग इन्चार्ज समेत हुन् ।
गणेशमानले पुनः २०६० मा मगरात स्वायत्त जनसत्ताको उपप्रमुखको जिम्मेवारी पाउँदा कमलाले प्युठान र तत्कालीन समयमा गठन गरिएको विशेष जिल्ला (माओवादी अति प्रभावित रुकुम र रोल्पाका केही गाविस समेटेर बनाइएको) को नेतृत्व लिइन् । युद्धकालमै पार्टीले पुनः गणेशमानको जिम्मेवारी फेरबदल गर्दै २०६१ मा गण्डक क्षेत्रको बिग्रेड कमाण्डर र २०६२ मा माओवादी चुनवाङ बैठकले चौथो डिभिजनको कमाण्डर बनाउँदा कमलालाई बिग्रेड कमिसारको जिम्मेवारी दियो ।
जनयुद्ध कालमा राजनीतिक भन्दा बढी फौजी जिम्मेवारी निर्वाह गरेका गणेशमान–कमलाको जोडी खुला भएपछि राजनीतिमा बढी भिज्न पाएको छ । ‘जब पार्टी खुला भयो, त्यसपछि  २०६३ मा मलाई वाइसिएलको नेतृत्व गर्ने जिम्मा दिइयो । त्यसयता मैले न्यायको महसुस गरेको छु,’ गणेशमानले भने, ‘मेरो चरित्र राजनीतिक हुँदाहुँदै पनि भूमिगत कालमा मैले फौजी भूमिका निभाउँदा केही अप्ठेरो महसुस गर्थेँ ।’ गणेशमानले नेतृत्व गरेको फौजलाई चाहिँ क्यानटोनमेन्टमा पठाइयो ।
भूमिगत कालमा विभिन्न आरोह, अवरोह पार गरेको जनयुद्धको पहिलो कमाण्डर जोडी संसदीय राजनीतिमा प्रवेशपछि सांसद, मन्त्री हुने अवसर पाइसकेका छन् । २०७० को संविधान सभा निर्वाचनमा रुकुम–१ बाट विजयी गणेशमानले २०७२ मा वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् भने २०६४ को संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् बनेकी कमला २०६७/०६८ मा युवा तथा खेलकुद मन्त्री भइसकेकी छन् ।
सशस्त्र युद्धबाट राजनीतिक करिअर सुरु गरेका गणेशमान–कमला जोडीलाई सशस्त्र युद्धको बेला गरेको मिहिनेतभन्दा पार्टी खुला राजनीतिमा प्रवेशपछि संविधान बनाउन र विकास निर्माणका लागि गरेको योगदान बढी महत्वपूर्ण लाग्ने गर्छ । ‘२०७० मा संविधान सभा सदस्यमा विजयी भइसकेपछि मस्यौदा समितिमा बसेर संविधान लेखनमा पुर्याएको योगदानलाई निकै महŒवपूर्ण ठानेको छु,’ गणेशमानले भने, ‘त्यस्तै वर्षौंदेखि निकै पछि परेको रुकुम–१ (हालको पूर्वी रुकुम) मा सडक सञ्जालका लागि पुर्याएको योगदानले अर्को सन्तुष्टि दिइरहेको छ ।’
उनले पूर्वी रुकुमको विकासका लागि मध्यपहाडी लोकमार्गदेखि विभिन्न सडक मार्ग निर्माण गर्ने निकायसँग निरन्तर समन्वय र ताकेता गरिरहेको दाबी गरे । चुनावी प्रचारमा खटिएकी कमलाको उद्देश्य पनि पूर्वी रुकुमलाई अन्य जिल्लासँग प्रतिस्पर्धी बनाउने र जसका लागि भौतिक पूर्वाधारमा जोड दिएर सर्वसाधारणको जीवनस्तर उकास्ने छ ।
युद्धदेखि खुला राजनीतिमा सँगै रहने या पति राजनीतिमा लागेकै कारण पत्नी राजनीतिमा जोडिने जोडीको संख्या बढिरहे पनि जनयुद्धको पहिलो दिनदेखि आजपर्यन्त सँगै (एउटै मोर्चामा) रहने गणेशमान–कमलाको जोडी धेरैका लागि उदाहरणीय रहेको माओवादीका नेता, कार्यकर्ता बताउँछन् ।
लामो समयदेखि एउटै मोर्चामा रहँदा यो जोडीले कस्तो महसुस ग¥यो त ? कमला भन्छिन्, ‘सकारात्मक, नकारात्मक दुवै अनुभव छन् ।’ उनको विचारमा सकात्मक पक्ष भनेको राजनीतिमा सँगै रहँदा एकअर्काबाट सहयोग प्राप्त गर्नु हो भने नकारात्मक चाहिँ एउटाले अवसर पाउँदा अर्कोले त्याग गर्नुपर्ने हुन्छ । दुवै जना राजनीतिमा अब्बल मानिए पनि यसपटक अन्तिम समयमा गणेशमान प्रतिनिधि/प्रदेश सभाका लागि प्रत्यक्ष/समानुपातिक सदस्य बन्न नपाउनुलाई कमलाले त्यागको रूपमा संकेत गरिन् । गणेशमान भने पार्टीभित्र एकले अर्काका लागि गर्नुपर्ने त्यागलाई अवसरको रूपमा लिन चाहन्छन् । त्यस्तै गणेशमानको बुझाइमा श्रीमान÷श्रीमती राजनीतिमा लाग्दा समयको व्यवस्थापन गर्न निकै गाह्रो हुने हुन्छ ।
‘हामीले सँगै बसेर सक्ने योजना बनाएका कुनै पनि काम कार्यतालिका अनुसार कहिलै पूरा भएका छैनन्,’ उनले भने, ‘दुवै जना युद्धदेखि हालसम्म एउटै मोर्चामा रहँदा सधैँ समयको व्यवस्थापन गर्न गाह्रो परिरहेको छ । सँगै बसेर पारिवारिक काम सकौं भन्यो अर्को काम आइसकेको हुन्छ ।’ श्रीमान÷श्रीमती राजनीतिमा निरन्तर टिकिरहनका लागि एकातिर समर्पण र अर्कोतिर संघर्ष, विश्वास र त्याग आवश्यक पर्ने कमला–गणेशमानको अनुभव छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १३ मंसिर २०७४ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App