६ वैशाख २०८१ बिहीबार
अर्थ

इन्धन खपत ह्वात्तै बढ्यो : पाँच वर्षमा शतप्रतिशत वृद्धि

असाेज छ गते खिचिएकाे तस्बिरमा काठमाडाैँ डिल्लीबजारकाे जाम । बढ्दाे सवारी संख्या पेट्राेलियम पदार्थ माग वृद्धिकाे प्रमुख कारण बनेकाे छ । तस्बिर : विजय गजमेर

काठमाडौं – सवारी साधनको चाप बढेपछि नेपालमा इन्धन खपत ह्वात्तै बढेको छ । पछिल्ला पाँच वर्षमा इन्धन खपत एक सय प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ।

जनसंख्या वृद्धिसहित सवारी साधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न आयल निगमलाई हम्मे पर्न थालेको छ । पेट्रोलियम पदार्थको खपत वार्षिक २० प्रतिशतले बढेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘डिजेल र पेट्रोलको माग निकै बढेको छ,’ भट्टराईले भने, ‘पाँच वर्षमा शतप्रतिशत बढेपछि इन्धन व्यवस्थापन चुनौती बनेको छ।’

अहिले पेट्रोल मासिक ३६ हजार पाँच सय, डिजेल एक लाख १५ हजार, मट्टीतेल १८ सय, हवाई इन्धन १५ हजार र एलपिजी ग्यास ३० हजार किलोलिटर खपत भइरहेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थ खपत वृद्धिले वायु प्रदूषण र व्यापार घाटा बढ्छ।

आर्थिक वर्ष ०६९/७० मा पेट्रोल दुई लाख २१ हजार ६ सय ७६ किलोलिटर खपत भएकोमा आर्थिक वर्ष ०७३÷७४ मा चार लाख दुई हजार दुई सय ७८ किलोलिटर खपत भएको छ । यो पाँच वर्षमा डिजेल खपत सात लाख १६ हजार सात सय ४७ बाट बढेर १२ लाख ९७ हजार ६६ केएल पुगेको निगमले जनाएको छ । पेट्रोल र डिजेलको तुलनामा हवाई इन्धन र ग्यास खपत कम रहेको छ । हवाई इन्धन ५० प्रतिशतले र खाना पकाउने ग्यास ७२ प्रतिशतले वृद्धि भएको छ।

अघिल्ला वर्षको तुलनामा यो चालु आर्थिक वर्ष ०७४/७५ मा इन्धनको खपत झनै बढेको छ । चुनाव र विकासका कामले पछिल्ला महिनामा खपत बढेको देखिएको छ । जनवरीमा एक महिनामा ३३ हजार तीन सय ७८ किलोलिटर पेट्रोल खपत भएकोमा नोभेम्बरको २२ तारिखसम्ममै ३२ हजार किलोलिटर पेट्रोल बिक्री भएको छ । पछिल्ला महिनामा डिजेलको खपत पनि बढेको छ । नोभेम्बर २२ सम्ममा एक लाख तीन हजार किलोलिटर डिजेल खपत भएको छ । जनवरीमा डिजेल एक लाख १५ हजार तीन सय ५४ किलोलिटर खपत भएको थियो।

पेट्रोलियम पदार्थको खपत बढेपछि निगमको भण्डारण क्षमता बढाउन नसक्दा चुनौती थपिएको निगमले जनाएको छ । निगमसँग अहिले पेट्रोल ६ दिन, डिजेल आठ दिन, हवाई इन्धन १२ दिनलाई भण्डारण गर्न सक्ने क्षमता छ ।

यही दरमा इन्धनको माग बढ्दै जाँदा अबको आठ वर्षपछि आर्थिक वर्ष ०८२/८३ मा १० लाख आठ हजार सात सय ६९ किलोलिटर पुग्ने निगमले जनाएको छ । त्यसैगरी, गत वर्ष १० लाख दुई हजार आठ सय किलोलिटर रहेको पेट्रोल खपत एक दशकपछि  २३ लाख ७३ हजार नौ सय ९२ किलोलिटर पुग्ने, हवाई इन्धन एक लाख ५६ हजार पाँच सय १० किलोलिटरबाट चार लाख ४४ हजार तीन सय ९८ किलोलिटर पुग्ने निगमले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ।  

मट्टीतेल खपत भने एक दशकको अवधिमा करिब १२ गुणाले घटेको छ । आर्थिक वर्ष ०६३÷६४ मा एक लाख ९२ हजार पाँच सय ७६ किलोलिटर खपत भएकोमा आर्थिक वर्ष ०७२/७३ मा १४ हजार दुई सय ६ किलोलिटर बिक्री भएको छ । इन्धन खपत बढेपछि निगमले पनि इन्धन भण्डारण क्षमता बढाउँदै जानुपर्ने देखिएको छ।

इन्धन भण्डारण क्षमता बढाउन निगमले जग्गा खरिद सुरु गरेको थियो । जग्गा खरिदमा अनियमितता भएर छानबिन अघि बढेपछि सो प्रक्रिया अहिले रोकिएको छ। आर्थिक वर्ष ०८१/८२ मा पुग्दा भण्डारण क्षमता घटेर पेट्रोलको तीन दिन, डिजेलको पाँच दिन, हवाई इन्धनको ६ दिनमा झर्ने निमित्त निर्देशक भट्टराईले बताए । ‘तत्काल भण्डारण क्षमता बढाउनुपर्छ,’ उनले भने।

निगमले पेट्रोलियम भण्डारण क्षमता करिब ३९ लाख किलोलिटर पुर्‍याउने तयारी गरे पनि चितवन, झापा, भैरहवा, सर्लाहीको जग्गा खरिदनै विवादमा तानिएपछि अहिले रोकिएको छ । निगमले थप ३१ करोड १७ लाख लिटर (तीन लाख १७ हजार किलोलिटर) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन) भण्डारण गर्न ट्यांक निर्माण गर्ने योजना बनाएको थियो।

कार्यान्वयन चरणमा प्रवेश गर्न आर्थिक वर्ष ०७३÷७४ को लागि पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । निगमले लामो समयदेखि क्षमता विस्तार गर्ने योजना बनाए पनि गत वर्षमा बजेट नै विनियोजन गरी काम थालेको थियो। निगमको योजना अनुसार प्रदेश नं १ को झापा चारआलीमा ५५ हजार किलोलिटर, २ को जनकपुरमा ३६ हजार किलोलिटर, ३ को काठमाडौंमा एक लाख ३७ हजार किलोलिटर, ४ को पोखरामा ४० हजार किलोलिटर, ५ को भैरहवा भलवाडीमा ६५ हजार किलोलिटर, ६ को सुर्खेतमा ३० हजार किलोलिटर र प्रदेश नं ७ को धनगढीमा २५ हजार किलोलिटर पुर्‍याउन नयाँ भण्डारणस्थल बनाउने योजना छ । 

प्रकाशित: १३ मंसिर २०७४ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App