७ वैशाख २०८१ शुक्रबार
अन्य

कोटभन्दा ज्यान प्यारो

गएको अक्टोबर महिनामा क्यानडाको किचनरमा एउटा नवविवाहित जोडी फोटो सुटमा व्यस्त थियो । बिहे सकिएको थियो । बिहेको तामझाम, होहल्ला र हस्याङफस्याङले पनि बिदा मागिसकेको थियो । यस्तो अवस्थामा शुक्रबारे एउटा दिउँसो दुलहा क्लेटन कुक आफ्ना दुलही ब्रिटानीलाई कुरेर बसिरहेका थिए । उनीसँगै फोटोग्राफर डेरेन हट पनि दुलहा र दुलहीको एक चरणको तस्बिर खिचिसकेर अर्को चरणको तस्बिर खिच्न तयार भएर बसेका थिए । दुलहीको थोरै मेकअप गर्न बाँकी थियो । त्यसैले दुलाहा क्लेटनको मन अस्थिर थियो ।
यत्तिकैमा क्लेटन हतार हतार दौडिएर छेउको खोलातर्फ लागे । अचानक क्लेटन दौडिएको देखेर फोटोग्राफर डारेन हट छक्क परे र के रहेछ भनी पछ्याए । अलि पर पुगेपछि डारेनले के देखे भने खोलामा एउटा बच्चो डुबिरहेको छ र उसका साना साथीहरु कसरी निकाल्ने होला भनेर आत्तिएर चिच्याइरहेका छन् ।
दुलाहा क्लेटनले केही सोच्दै नसोची झ्याम्मै खोलामा हाम्फाले र बच्चोलाई पानीबाट निकाले ।
यो दृश्य फोटोग्राफर डारेनका लागि उदेकलाग्दो मात्र थिएन, एउटा गज्जबको क्षण खिच्ने अवसर थियो । साथै, उनलाई अर्को दिक्क लाग्ने कुरा के थियो भने यो नव दुलहा र दुलहीको तस्बिर खिच्ने अवसर थियो तर दुलाहाले आफ्नो कोट भिजाएर कामै नलाग्ने भइसकेको थियो । अब कोट सुक्ने लामो प्रतीक्षा गर्नुपर्ने भयो ।
तर फोटोग्राफर डारेन, दुलाहा क्लेटन र दुलही ब्रिटानीमा भने त्यस्तो कुनै तनाव देखिएन किनभने क्लेटनले एउटा बच्चोको ज्यान जोगाएका थिए ।
दुलाहा क्लेटनले बच्चालाई जोगाइसकेपछि दुलही छेउ आए र भने, ‘कोट त भिजिहालेछ, अब निकै बेर पर्खनुपर्ने भयो सुक्नलाई ।’
दुलही ब्रिटानीले भनिन्, ‘क्यै छैन ! तिमीले जीवनकै सुन्दर काम गरेका छौ– कसैको ज्यान जोगाएका छौ । कोट त भोलि पनि सुक्छ तर कसैको ज्यान भोलि जोगाउँछु भन्न सकिँदैन ।’
फोटोग्राफर डारेनले दुलही ब्रिटानीलाई भने, ‘तिमी त भाग्यमानी रहिछौ ! अरुका लागि आफ्नोसमेत बेवास्ता गर्ने मान्छे पाइछौ !’
‘त्यै भएर त मैले उसलाई माया गरेकी !’ ब्रिटानीले जवाफमा भनिन्, ‘यस्तो व्यक्तिसँग भरपर्दो गरी जीवन बिताउन सकिन्छ भनेर नै उसलाई छानेकी हुँ ।’
बिहेपछि फोटोसुटमा जाँदा अर्को एउटा स्मरणीय क्षण सिर्जना होला भन्ने यी दम्पतीले सोचेका पनि थिएनन् । अर्काको जीवन बचाएको भन्दै क्लेटन कुकलाई कतिपयले ‘सुपरम्यान’ भन्दै इन्टरनेटमा हाइहाइ गरिरहेका छन् ।

प्रकाशित: १३ मंसिर २०७४ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App