८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको प्रस्तुती 'गोयबल्स' शैलीमा: खनाल

(फिक्कल) इलाम- नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवाले ‘गोयबल्स’ शैलीमा वाम गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार चुनावमा जान लागेका कम्युनिस्ट दलहरूविरुद्ध आश्चर्यजनक तरिकाले प्रधामन्त्रीको पदमा बसेर देउवाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेको बताए।

 ‘मैले हिजो मात्रै पनि मिडियामा सुनें, प्रधानमन्त्रीले वाम गठबन्धनले चुनाव जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न छाड्नुभएको रहेनछ,’ बुधबार फिक्कलमा नागरिकसँग कुरा गर्दै खनालले भने, ‘उहाँ (प्रम देउवा)ले पटक–पटक सार्वजनिकस्थलमा गोयबल्स शैलीमा यही बोलेको सुनेर मलाई हास उठ्यो, आश्चर्य पनि लाग्यो ।’ खनालले प्रम देउवाले झुटको प्रचार गरेर वाम गठबन्धनविरुद्ध बोल्दै हिँडेको आरोप लगाए । ‘कम्युनिस्ट दल जन्मिएकै लोकतन्त्रका लागि हो,’ उनले भने, ‘हाम्रो संविधानले कुनैपनि खाले अधिनायकवादको कल्पनासम्म गरेको छैन, वाम गठबन्धन अहिलेको सरकारका क्रियाकलापमा देखिएको अधिनायकत्वको विरोधमा छ, अधिनायकवाद भित्र्याउनेमा होइन।’

        उनले आउँदो चुनावपछि पार्टी नै एकता गर्नेगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन भएको बताए । उनले विचार मिल्ने दुवै पार्टी चुनावपछि एक हुनेमा आशंका नगर्न मतदातालाई आग्रह पनि गरे । ‘दुवै पार्टी एक हुने धेरै जनताले कुरा बुझिसकेका छन् तर एउटा समूह यस्तो पछि छ, जसले यो गठबन्धनलाई चुनावसम्मको मात्रै सोचिरहेको छ,’ उनले भने, ‘एमाले–माओवादीको चुनावी घोषणापत्र साझा छ । यो घोषणापत्र भनेको दुवै दलले चुनावपछि गर्ने कामको योजना हो, त्यसैले एमाले र माओवादी चुनावपछि एक दलका रूपमा देखिनेमा शंका नगरे हुन्छ ।’ उनले अहिले एमालेले गोलाकारभित्रको हसिया हथौंडा र माओवादीले सूर्य चिह्नमा भोट हाल्नु भनेकै भोलि दुवै दल एक हुनुको संकेत भएको बताए।        

        ‘वाम गठबन्धन देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि बनेको हो,’ उनले भने, ‘यो कसैका विरुद्धमा कसैलाई पाखा लगाउन र अत्याउन बनेको होइन, नेपाली नागरिकलाई शान्तिसँग समृद्धि उपभोग गरेर बाँच्ने अवस्थामा पु¥याउन गठबन्धन बनेको हो ।’ ‘कांग्रेसले पहिला पनि कम्युनिस्टलाई बूढापाकालाई गोली हान्छ भनेर भ्रम फिँजाउने प्रयास गरेको थियो तर मनमोहन अधिकारीको पालामा वृद्धभत्ता दिने निर्णय भएको हो,’ उनले भने, ‘जनतामा गलत प्रचार गर्नु दिगो राजनीतिक व्यवहार हुँदैन ।’

प्रकाशित: १३ मंसिर २०७४ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App