coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गीतले जुराइदियो फिल्मको नाम

काठमाडौं – नौलो नाम राखेर फिल्म बनाउने योजनामा बनाइरहनु भएको छ तर नाम के राख्ने भन्ने अन्यौलमा हुनुहुन्छ भने त्यो अन्यौलता दिमागबाट हटाइहाल्नुहोस् । पुरानादेखि नयाँ आधुनिक, लोक, पप या फिल्मका गीत एकपटक तपाईले सुन्नुभयो भने ती गीतमा तपाईलाई मनपरेको नाम प्रशस्तै भेटिन्छन् । दशक अघि बनेका र पछिल्लो समयमा बनेका फिल्मलाई हेर्ने हो भने अधिकांश फिल्मको नाम तिनै गीतसँग मिल्दाजुल्दा छन्।

हाल हलमा प्रदर्शन भइरहेको फिल्म ‘जुन त लग्यो ताराले’ नाम निर्देशक तुलसी घिमिरेले सन् १९९३ मा बनाएको फिल्म ‘दुई थोपा आँशु’को गीत ‘जुन त लग्यो ताराले’सँग मेल खान्छ । केही समय अघि रिलिज सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ पनि उनको अघिल्लो फिल्म ‘प्रेम गीत’को शीर्ष गीतबाट सापटी लिइएको थियो।

 निर्माता तथा निर्देशकहरु दर्शकको दिमागमा ‘क्लिक’ हुने फिल्मको नाम राख्नका गीतसँग मिल्दाजुल्दा नाम लिएर फिल्म बनाइरहेका छन् । तर, सत्य के हो भने फिल्म राम्रो हुँदासम्म मात्र शीर्षकले काम गर्छ । फिल्म नै गतिलो नबनाएसम्म जतिसुकै हिट गीतका शब्द सापटी लिए पनि दर्शक हलमा टिकाउन हम्मे पर्छ ।  

फिल्म निर्माणका लागि फ्लोरमा जान लागेका केही फिल्महरुको नाम पनि गीतसँगै जोडिएका छन् । सञ्चारकर्मी जिपि तिमल्सिनाले निर्माण गर्न लागेको फिल्म ‘आउँदै जाँदै’, सबिर श्रेष्ठको ‘बाँध मायाले’, नवल नेपालको ‘मन्द मन्द’को नाम पनि पुराना गीतसँग मिल्छ । जिपिको फिल्मको नाम पप व्याण्ड ‘अग्लिज’को गीत ‘आउँदै जाँदै गर्नु यो जीवन’मा सँग मिल्छ । सबिरको फिल्मको नाम सन् १९९१ मा बनेको फिल्म ‘परिवार’मा रहेको गीत ‘बाँध मायाले बाँध मायाले’सँग मेल खान्छ । नवलको फिल्मको नाम फिल्म ‘पापी’को गीत ‘मन्द मन्द बतास चल्यो’सँग मिल्छ।

निर्देशक सबिर आफूले फिल्मको गीतबाट नाम नलिएको दाबी गर्छन् । ‘गीतसँग नाम मिल्यो होला । तर, गीतै सुनेर चाहिँ फिल्मको नाम राखिएको होइन । यो एउटा संयोग मात्र हो,’उनी भन्छन्,‘फिल्मको नाम घोषणा भएपछि मात्र नाम गीतसँग मिलेको थाहा पाएँ ।’ फिल्म ‘मन्द मन्द’का निर्देशक नवल नेपालले आफूलाई गीतबाट नाम राख्न मननपर्ने बताउँछन् । ‘हामीले फिल्मको नाम विस्तारै विस्तारै राख्न खोजेका थियौं । तर, यो नाम त्यति सुहाएन अनि मन्द मन्द नै रोजेका हौं,’उनले भने,‘कुनै गीत सुनेर हामीले राखेका होइन् । फिल्म बनाउनु अघि नै आफ्से आफ आफै सिर्जना भएको नाम हो।’ 

सन् १९९१ मा तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘चिनो’को गीत ‘मोहनी लाग्ला है’ सँग मिल्ने गरी सन् २००२ मा निर्देशक कुन्दन खनालले फिल्म ‘मोहनी लाग्ला है’ बनाए । गायक रामकृष्ण ढकालले सन् १९९७मा ल्याएको एल्बम ‘आशा’मा रहेको गीत ‘मनपराउने हजार भेटिन्छन्’मा रहेको ‘आफ्नो मान्छे आफ्नै हुन्छ’सँग मेल खाने गरी सन्  २०१० मा ऋषि लामिछानेले फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ बनाए । सन् १९९३ मै बनेको तुलसी घिमिरे निर्देशित फिल्म ‘कोसेली’को गीत ‘तिमी मेरो म तिम्रो’ गीतमा रहेको ‘भुली गए पाप लाग्ला’ अनुच्छेदलाई परिवर्तन गर्दै निर्माता केशव भट्टराईले २००९ मा फिल्म ‘छोडी गए पाप लाग्ला’ बनाए।

उद्वव पौडेलले निर्माण गरेको फिल्म ‘गोपीकृष्ण’मा रहेको गीत ‘कहाँ छौ कहाँ’सँग मिल्ने गरी निर्माता गोविन्द शाहीले २००९ मा फिल्म ‘कहाँ छौं कहाँ’ बनाए । अभिनेता आर्यन सिग्देलले डेब्यु गरेको फिल्म ‘किस्मत’मा रहेको गीत ‘कतै भाग्ला कि’बाट नाम सापट लिएर निर्माता छविराज ओझाले २०१० मा फिल्म ‘कसले चो¥यो मेरो मन’ बनाए । फिल्म ‘किस्मत’का निर्माता पनि छवि नै हुन् । निर्माता तथा अभिनेता भुवन केसीको फिल्म ‘म तिमी बिना मरिहाल्छु’को गीत ‘आफैलाई छोडी म त’ मा रहेको ‘पर्खी राख है माया’ नामबाट निर्माता दिल श्रेष्ठले २०११ मा फिल्म ‘पर्खी राख है’ निर्माण गरे। 

फिल्म ‘आउँदै जाँदै’का निर्देशक जिपी फिल्मको नाम ‘अग्लिज ब्याण्ड’को गीतसँग मिल्नु एउटा संयोग नै भएको बताउँछन् । ‘यो संयोग पनि हो । थिम पनि त्यस्तै छ,’उनले भने,‘फिल्ममा यो गीत राख्ने कि भन्ने विषयमा कुराकानी पनि भइरहेको छ । म्युजिक नेपालसँग गीतको कपिराइट भएकाले म्युजिक नेपालसँग पनि यो विषयमा सल्लाह गरेर कुरा मिल्यो भने फिल्ममा गीत राख्नेछौं।’

सन् २००८ मा निर्माता छविराजले नै बनाएको फिल्म ‘अजम्बरी नाता’मा रहेको गीत ‘आकाश र चाँदनीको’बाट नाम लिएर निर्माता प्रदिप उदयले २०११ मा ‘हाम्रो माया जुनी जुनीलाई’निर्माण गरे । लोक गायक कृष्ण विक्रम थापाको स्वर रहेको ‘सिन्धुली गढी घुमेर हेर्दा’ गीतमा रहेको ‘मा¥यो नि मायाले मा¥यो’ अंशलाई टिपेर निर्माता बीएस बलामीले ‘मा¥यो नि मायाले मा¥यो’ फिल्म नै बनाए।

सन् १९६६ मा बीएस थापाले निर्देशन गरेको फिल्म ‘माइतीघर’को शीर्ष गीत ‘मेरो प्यारो माइतीघर’को नाममा निर्देशक उदय सुब्बाले २०११ मा फिल्म ‘मेरो प्यारो माइतीघर’ निर्माण गरे । निर्देशक दिवाकर भट्टराईको फिल्म ‘मेरो जीवन साथी’मा रहेको गीत ‘सरर बेग मारी’ गीतमा रहेको ‘जाउँ हिँड पोखरा’ अंशलाई लिँदै निर्देशक शोभित बस्नेतले फिल्म ‘जाउँ हिँड पोखरा’ दर्शकमाझ ल्याए । सन् १९९६ मा नारायण पुरी निर्देशित फिल्म ‘नीरमाया’मा रहेको ‘राम जाने’ गीतको नाममा निर्माता दिनेश शर्माले फिल्म ‘रामजाने’ बनाएर प्रदर्शन गरिसकेका छन्।

फिल्म ‘के म तिम्रो होइन र’का निर्देशक आकाश अधिकारी कथासँग नाम मिल्ने भएकाले मात्र आफूले ‘के म तिम्रो होइन र’ नाम राखेको बताए । ‘अहिले निर्माता र निर्देशकहरु आम दर्शकलाई मनपर्ने नाम खोजिरहेका छन् । मलाई लाग्छ, उहाँहरुले फिल्मको नाम नपाएर त्यसो गर्नुभएको पनि पक्कै होइन,’आकाशको बुझाइ छ,‘अहिलेको व्यस्त जीवनमा दर्शकहरुलाई पनि कुन फिल्म आउँदैछ भनेर भन्दा यो नाम भनियो भने उनीहरुको दिमागमा पनि छिट्टै सम्झाउन सहयोग गर्छ । त्यसकारणले पनि चलेका गीतहरुबाट नाम रोजिएको हो ।’ उनका अनुसार विशेषत प्रेमकथाका फिल्ममा गीतका हरफबाट नाम राखिने क्रम बढेको छ।

गायिका अञ्जु पन्तको चर्चित गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’कै नाममा निर्मात्री प्रज्ञा जोशीले सन् २०११ म ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ बनाइन् । यही गीतमा रहेको ‘दिलमा सजाएँ तिमीलाई’ नामसँग मिल्ने गरी निर्देशक राजु अधिकारीले २०६८ सालमा ‘दिलमा सजाएँ तिमीलाई’ निर्माण गरे । सन् २०१४ मा अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्म ‘कोहिनूर’को शीर्ष गीतमा रहेको ‘के म तिम्रो होइन र’अंश लिँदै निर्देशक आकाश अधिकारीले अर्को फिल्म ‘के म तिम्रो होइन र’ निर्देशन गरे । फिल्म ‘कोहिनूर’को निर्देशन पनि आकाशले नै गरेका हुन्।

लोकगायक कुमार बस्नेतले सन् २००० मा निकालेको एल्बम ‘नयाँ कोशेली’मा रहेको गीत ‘कलियुगको बेलैमा जोशमा हुन्न होस्’को पछिल्लो अंश ‘उनकै छोरी तरुनी हाम्लाई के को दोष’ टिपेर निर्देशक सुरेश असिमले ‘उनकै’ शब्दलाई हटाएर ‘तिम्रै’ शब्द थप्दै ‘तिम्रो छोरी तरुनी हाम्लाई के को दोष’ निर्माण गरेका छन् । गायक हरिवंश आचार्य र गायिका सुक्मित गुरुङले गाएको गीत ‘तिम्रो माया ९९ मेरो माया १००’बाट सापट लिएर निर्देशक ओम प्रतिकले सन् २०१३ मा ‘तिम्रो माया ९९ मेरो माया १००’ बनाए।

एकताका चर्चित लोक गीत ‘नक्कलीलाई भगाई लग्यो झिल्केले’लाई अपभ्रंस गर्दै निर्देशक ऋषिराज आचार्यले ‘सुन्तलीलाई भगाई लाग्यो झिल्केले’ निर्माण गरे । सन् १९८५ मा तुलसी घिमिरेले निर्देशन गरेको फिल्म ‘कुसुमे रुमाल’को गीत ‘मायाको बारीमा प्रितीको फूल’लाई गोपीकृष्ण मुभिजले छुट्टाछुट्टै रुपमा ‘मायाको बारीमा’ र ‘प्रितीको फूल’ बनायो। गायक दीपेश किशोर भट्टराईको गीत ‘के म तिम्रो साथी बन्न सक्छु’बाट सापटी लिएर निर्मात्री कृषा चौलागाईले ‘के म तिम्रो साथी बन्न सक्छु’ बनाएर प्रदर्शन गरिन् । एकताका रेडियोमा खुबै बज्ने गायक शम्भु राईको गीत ‘चलेछ बतास सुस्तरी’ नामबाट लेखक तथा निर्देशक प्रदिप भारद्वाजले फिल्म ‘चलेछ बतास सुस्तरी’ नै बनाए । यी फिल्मबाहेक ‘म तिम्रो भैसके’, ‘कान्छी मट्याङट्याङ’, ‘भुल भुलैया’, ‘उहिले बाजेको पालामा’ पनि गीतबाट नाम रोजेर बनेका फिल्म हुन्।

प्रकाशित: १४ मंसिर २०७४ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App