७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाँच सुरुङ मार्गको अध्ययन सुरु

काठमाडौं – सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ । भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो।

दुईवटा सुरुङ मार्ग निर्माण अघि बढाउने तयारी भइसकेको अवस्थामा सडक विभागले थप पाँचवटा नयाँ सुरुङ मार्गको अध्ययन थालेको छ।

पाँच ठाउँमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘नौबिसे–नागढुंगा सुरुङ मार्गको काम अघि बढेको छ,’ महानिर्देशक सिग्देलले भने, ‘अन्य सम्भावित ठाउँमा पनि अध्ययन अघि बढेको छ ।’ विदेशमा सडकको दुरी छोट्याएर ट्राफिक जाम र इन्धन खपत कम गर्न सुरुङ मार्ग निर्माण हुने गरे पनि नेपालमा यो अवधारणाले बल्ल प्रवेश पाएको छ।

ती योजनाका लागि परामर्शदाता नियुक्त गरेर अध्ययन सुरु भइसकेको विभागले जनाएको छ । विभागले नियुक्त गरेका परामर्शदाताले सम्बन्धित क्षेत्रको भौगोलिक वस्तुस्थितिको अध्ययन गर्नेछन् । नक्सा र भू–बनोट अध्ययनको आधारमा सुरुङको लम्बाइ, लागत जस्ता विषयमा अध्ययन गर्ने विभागका उप–महानिर्देशक शिवप्रसाद नेपालले बताए । ‘डिपिआर तयार गर्न लाग्ने खर्च लगायत विभिन्न पक्षको वास्तविकताको अध्ययन हुन्छ,’ नेपालले भने, ‘त्यसका आधारमा परियोजना कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने आधार तयार हुन्छ ।’

विस्तृत अध्ययनपछि सुरुङ मार्ग निर्माणमा सरकारले लगानी गर्ने या दातृ निकाय खोज्ने निष्कर्षमा पुग्ने विभागले जनाएको छ । दुई योजनामा भने दातृ निकायले लगानी गर्ने भएका छन्। 

पोखराको हेम्जादेखि नागडाँडा–काँडे–लुम्ले सडकलाई छोट्याउन हेम्जा–नयाँपुल सुरुङ मार्गको अध्ययन सुरु गरिएको छ।

त्यसैगरी, नवलपरासीको दाउन्ने, बिपी राजमार्गमा पर्ने खुर्कोट–सिन्धुली बजार, कुलेखानी–हेटौंडा सुरुङ मार्ग रहेका छन्।
त्यसैगरी, नुवाकोट जोड्ने टोखा–छहरेमा पनि सुरुङ मार्ग बनाउने सरकारी योजना छ। 

राजधानी भित्रिने अर्को नाका अन्तर्गत नुवाकोट जोड्न टोखा–छहरे सुरुङ मार्ग पनि अघि बढाउने तयारी छ । सो सुरुङमार्गमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले लगानी गर्ने इच्छा देखाएको थियो । नेपाल सदस्य रहेको बैंकले करिब चार किलोमिटर सुरुङमार्ग निर्माण गर्ने इच्छा देखाएको हो । काठमाडौंबाट नुवाकोटको थान्सिङ फाँट सुरुङ निर्माण गरे चीनको सीमा रसुवागढी जाने सवारीको आवागमन सहज हुनेछ।

नौबिसे–नागढुंगा सडकमा पर्ने दहचोकदेखि–सिस्नेखोला सुरुङ मार्गमा जापानले लगानी गर्ने भएको छ । काठमाडौं–हेटौंडा सुरुङ मार्गमा निर्माणको अनुमति लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले लगानी जुटाउन नसकेपछि सो आयोजना अन्योलमा छ।

नागढुंगा–नौबिसे सुरुङ मार्गमा जापानले लगानी गर्ने सम्झौता भइसकेको छ । जापान सरकारको १५ अर्ब रुपैयाँ सहुलियत ऋणमा निर्माण गर्न लागिएको नागढुंगा–नौबिसे सडकखण्ड अन्तर्गत दहचोकदेखि–सिस्नेखोलासम्म २.७ किलोमिटर छ । सो सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने काम भइरहेको छ । २०७९ भदौसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक भएकाले त्यहाँ घन्टौं सवारी जाम हुने गरेको छ।
लामो समयदेखि चर्चामा रहेको काठमाडौं–हेटौंडा सुरुङ मार्ग निर्माण भने अन्योलमा छ । कम्पनीले निर्माण गर्ने प्रतिबद्धता जनाएको भए पनि लगानी जुटाउन नसकेपछि त्यसको अनुमति खारेज गर्ने कि नगर्ने भन्नेमा सरकारी अधिकारी अन्योलमा छन् । सुरुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले उक्त सुरुङ मार्ग निर्माण गर्ने कम्पनीको नेतृत्व गरेका थिए । जोशी नेतृत्वमा काम अघि नबढेपछि गैरआवासीय नेपाली संघ (एनआरएन) का भवन भट्टले जिम्मेवारी लिएका थिए । भट्टले पनि लगानी जुटाउन सकेका छैनन्। 

राजधानी प्रवेश गर्ने सडकले सवारी आवागमनमा समस्या रहेको अवस्थामा यो मार्ग निर्माण गर्न लागिएको हो ।
मेलम्ची, विद्युत आयोजना, सिँचाइमा सुरुङ मार्ग निर्माण भइरहे पनि सवारी गुडाउने गरी सुरुङ मार्ग खनेको अनुभव नेपाली इन्जिनियरसँग छैन । सुरुङ मार्ग निर्माण ठूलो लगानी, प्राविधिक जनशक्ति, सुरक्षा, विद्युत् लगायत विषयका कारण जटिल पनि छ।  

प्रकाशित: १५ मंसिर २०७४ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App