८ वैशाख २०८१ शनिबार
अर्थ

रेलमार्गबाट अहिलेसम्मकै धेरै कन्टेनर

वीरगन्ज सुक्खा बन्दरगाहमा रेलमार्ग भएर नोभेम्बर महिनामा भारतीय बन्दरगाहबाट आइपुगेका कन्टेनर। तस्बिर : रितेश

वीरगन्ज – पछिल्लो एक महिनाको अवधिमा रेलमार्गबाट अहिलेसम्मकै सर्वाधिक कन्टेनर कोलकताबाट रेलमार्ग भएर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आएको छ । विदेशी सामान बोकेका कन्टेनर अंग्रेजी मितिअनुसार नोभेम्बर महिनाभित्र सिर्सिया सुक्खा बन्दरगाहमा ४० वटा रेक (मालवाहक रेल) आइपुगेको हो । एउटा रेकमा २० फिट एकाइको ९० कन्टेनर रहन्छ । यसरी एक महिनाभित्र तीन हजार ६ सय कन्टेनर सुक्खा बन्दरगाह भित्रिएका हुन्।
 
एक महिनाभित्र सिर्सिया सुक्खा बन्दरगाह आएकामध्ये २५ रेक कोलकता बन्दरगाहबाट, १२ रेक कोलकता बन्दरगाहसँगै जोडिएको माजरहाट टर्मिनलबाट र तीन रेक बिशाखापट्नमबाट आएका हुन् । यसअघि गत मे महिनामा आएका दुई हजार आठ सय ८० कन्टेनर अहिलेसम्मको एक महिनाभित्रको सर्वाधिक कन्टेनरको तथ्यांक थियो । कोलकतास्थित भारतीय बन्दरगाहमा ‘कन्जेसन’ (जाम) करिब तीन महिनासम्म रहेपछि सो समाधान गर्न त्यहाँबाट नेपालका लागि आएका कन्टेनर छिटो छरितो पठाइँदा सुक्खा बन्दरगाहमा अहिलेसम्मकै बढी कन्टेनर आएको ‘रेकर्ड’ बनेको हो।

गत मे महिनामा दुई हजार आठ सय ८० कन्टेनर अहिलेसम्मको एक महिनाको अवधिमा सर्वाधिक कन्टेनर रहेकामा नोभेम्बरमा तीन हजार ६ सय कन्टेनर सुक्खा बन्दरगाह भित्रिएका छन् 

भारतीय बन्दरगाहदेखि यता नेपाली कार्गो रेलमार्गले ढुवानी गर्ने सेवाप्रदायक भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कोर)ले नेपाली कार्गोलाई प्राथमिकतामा राखेर ढुवानी गरिरहेको त्यसका अधिकारीहरुको दाबी छ । नेपाली कार्गो ओसार्न १६ वटा ट्रेन ‘डेडिकेटेड’ गरिएको कन्कोरका पूर्वी क्षेत्रका मुख्य महाप्रबन्धक रथेन्द्र रमणले बताए।

सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्याकारी अधिकृत विष्णुकान्त चौधरीले अहिले नेपाली कार्गोका लागि यसका सबै सरोकारवालाबीच राम्ररी समन्वय भएपछि ‘रेकर्ड ब्रेकिङ’ किसिमले ढुवानी हुन पाएको बताए । यस अवस्थालाई दिगो बनाउन सबैले आफ्नो भुमिका दुरुस्त गरिराख्नु पर्ने उनको राय छ । कन्टेनर लिएर आएका रेक यताबाट पनि खाली वा भर्ती कन्टेनर लोड गरेर हिँडेमात्र यसको ओसारपसारको शृंखला सुचारु रहने भएकाले आयातकर्ता व्यापारीलाई खाली कन्टेनर बेलैमा फर्काउन आफूहरुले आग्रह गरिरहेको उनले बताए। 

आयात कारोबार वृद्धि 
वीरगन्ज सुक्खा बन्दरगाहमार्फत आयात कारोबार बढिरहेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष ०७३÷७४ मा सुक्खा बन्दरगामा ३६ हजार तीन सय ५८ कन्टेनर आएका थिए । त्यस्तै एक पटकमा करिब दुई हजार चार सय टन एकै प्रकारको बोराबन्द सामान लिएर आउने रेक दुई सय आएका थिए । यसमा करिब चार लाख ८० हजार टन सामान आएको थियो । विभिन्न खालको फलाम बोकेर आउने रेक दुई सय ४५ वटा आएका थिए। 

जसमा विभिन्नखाले उद्योगले कच्चा पदार्थको रुपमा मँगाएको फलाम करिब पाँच लाख ८८ हजार मेट्रिक टन भित्रिएको थियो । सुक्खा बन्दरगाह भएर आयात व्यापार बढेकाले यसलाई सोही अनुसार व्यवस्थापन गर्न अब सरकारले पनि लगानी थप्नुपर्ने आयातकर्ता बताउँछन् । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदिप केडियाले १२ देखि सञ्चालनमा रहेको सुक्खा बन्दरगाहमा भौतिक परिमार्जन आवश्यक भएको बताए।

प्रकाशित: १५ मंसिर २०७४ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App