७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मीलाई काँकडभिट्टा गोल्डकप उपाधि

झापा – टाइब्रेकरमा गोलरक्षक विकेश कुथुले आफ्नो कला देखाउँदा त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको तेस्रो संस्करणको उपाधि जित्न सफल भएको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका तीन खेलाडीको पेनाल्टी रोकेर विकेशले टिमलाई एक साताभित्रै झापामा दोस्रो उपाधि दिलाएका हुन्। 

मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता जित्दै आर्मीले यो सिजनमा उपाधि ह्याट्रिक गर्ने दुर्लभ सफलता पनि आत्मसात् गरेको छ । यसअघि वीरगन्जको विशाल मेमोरियल गोल्डकप जितेको विभागीय टोलीले अघिल्लो साता झापाकै सताक्षी गोल्डकपमा मनाङलाई नै हराउँदै  उपाधि जितेको थियो । शुक्रबार काँकडभिट्टामा उही नतिजा दोहो¥याउँदै  आर्मीले नगद ८ लाख १ हजार रुपैयाँ पनि हात पारेको छ। 

काँकडभिट्टाको मैदानमा अघिल्लो साताको बदला लिने अठोटसहित  भिडेको मनाङको लक्ष्यमा आर्मीका गोलरक्षक विकेश बाधक बने । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा विकेशले मनाङका कप्तान अनिल गुरुङ, कमल श्रेष्ठ र नीराजन मल्लको पेनाल्टी प्रहार रोक्दै सनसनीपूर्ण प्रदर्शन गरेका थिए । नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले पेनाल्टी प्रहार गोलमा परिणत गरेपछि आर्मीको उपाधि ह्याट्रिक निश्चित भएको हो । यद्यपि जितेन्द्र कार्की र पदम तामाङको प्रहार भने मनाङका गोलरक्षक दिनेश श्रेष्ठले रोकेका थिए । मनाङका लागि विमल बस्नेत र हेमन गुरुङले मात्रै पेनाल्टीको अवसर सदुपयोग गरेका थिए। 

स्टार खेलाडीहरू पेनाल्टीमा चुक्दा मनाङ उपविजेता बन्दै ४ लाख १ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो। फाइनलसम्मको यात्राका क्रममा भएका अघिल्ला दुई खेल सडन डेथमा जितेको मनाङले फाइनलमा पनि खेललाई टाइब्रेकरमा पुर्‍याउन रक्षात्मक फुटबल खेलेको थियो।

 पेनाल्टीकै लागि मनाङ प्रशिक्षक विजय घलेले अनिल गुरुङ र नीराजन मल्ललाई अन्तिम समयतिर मैदानमा पठाएका थिए, तर उनीहरू यहाँ चुके । ‘खेल अवधिभरि हाम्रो स्ट्राइकिङ जोन कमजोर भयो’, खेलपछि घलेले भने ‘टाइब्रेकरमा भाग्यले कहाँ सधैँ साथ दिन्छ त ! नराम्रो खेलको सजाय हामीले पाएका छौं ।’ उनले मिडफिल्ड र अग्रपंक्ति नचलेका कारण नतिजा आर्मीलाई सुम्पिन बाध्य भएको बताए। 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले कुथुको उत्कृष्ट प्रदर्शन जितको आधार बनेको प्रतिक्रिया दिए । ‘खेलमा हामी पूरै हाबी थियौं’, उनले भने ‘तैपनि निर्धारित समयमा गोल निस्केन । अन्ततः टाइब्रेकरमा हामी सफल भयौं ।’ खेलको २० मिनेटसम्म मनाङले दबाब बनाएको तर त्यसपछि आर्मी लयमा फर्केर उत्कृष्ट प्रदर्शन गरेको उनले बताए। 

प्रतियोगिता समापनमा  विभिन्न विधाका उत्कृष्ट घोषित खेलाडीहरू पनि नगद पुरस्कारबाट पुरस्कृत बनेका छन् । फाइनलको म्यान अफ दी म्याच आर्मीका विकास खवासले १० हजार रुपियाँ पुरस्कार पाए । राइजिङ प्लेयर आयोजक काँकडभिट्टाका मिलन राईलाई १० हजार रुपियाँ दिइयो । आर्मीका  विकेश कुथु उत्कृष्ट गोलरक्षक, काँकडभिट्टाका भूषण राई उत्कृष्ट रक्षक, मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर, आर्मीका भरत खवास उत्कृष्ट स्ट्राइकर र आर्मीका नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक बने ।  उनीहरूले जनही  २०÷२० हजार नगद प्राप्त गर्न सफल भए । आर्मीकै दिनेश हेन्जन उच्च गोलकर्ता (२ गोल) बन्दै २५ हजार जित्न सफल भए ।  मनाङका गोलरक्षक दिनेश थापा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै ५१ हजार पाउन सफल भए । पुरस्कृतहरूलाई राखेप सदस्यसचिव केशवबहादुर विष्टले पुरस्कार प्रदान गरेका थिए। 

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका तीन खेलाडीको पेनाल्टी रोकेर विकेशले टिमलाई एक साताभित्रै झापामा दोस्रो उपाधि दिलाएका हुन्।   

प्रकाशित: १६ मंसिर २०७४ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App