coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पाटी बास

घटना हिजो बिहानको हो । झिसमिसे बिहानीकै समय थियो । म मर्निङ वाकका लागि घरबाट बाहिर निस्किँदै थिएँ । जाडो याम भएकाले होला बिहान ५ बजे पनि अँध्यारो–अँध्यारो नै थियो । हाम्रो घरअघिको गल्लीबाट निस्केर मूल सडक पुग्नुअगावै दायाँतिर एउटा पाटी छ । म खुरुखुरु हिँड्दै थिएँ, पाटीनेर पुगेर अनायासै झसंग भएँ । किनभने पाटीमा कुनै मानव आकृति छायाजस्तो एउटा अज्ञात वस्तु बसिरहेको थियो । हेर्दा मानवजस्तै छ, तर यथार्थमा के हो त्यो भने थाहा छैन । मानव हो भने यस्तो जाडोमा यहाँ के गरिरहेको होला ? जँड्याहा पो हो कि ? चिन्ने हुन् कि नचिन्ने हुन् ? मानव नभई कोही अर्कै तŒव पो हुन् कि ? मनमा उत्सुकताभन्दा पनि डर बढी लागिरह्यो। 

बिस्तारै नजिक गएँ । नियालेर हेरेँ । खै, मानवैजस्तो पनि लाग्यो । आकृतिले त त्यही भन्छ । ‘को हो हँ ?’ मैले आँट, साहस, डर र उत्सुकताले भरिएको एकीकृत आवाजमा सोधेँ।

आकृतिबाट कुनै आवाज आएन । ‘को भन्या ? यहाँ किन हँ ? पुलिस बोलाउँ ?’ मेरो स्वर कठोर हुँदै थियो ।
‘हुँ,’ आकृतिबाट एक पित्को मन्द आवाज आयो। 

‘को हो ?’ मैले सोधेँ।

‘को हो तिमी ?’ उसको हालत देखेर मैले हतार–हतार सोधेँ । ‘म, म आचार संहिता,’ उसले बडो सकसपूर्ण आवाजमा भन्यो । आचार संहिता ?!  म भने छक्क परेँ, ‘कुन आचार संहिता ?’ उसले भन्यो, ‘निर्वाचन आचारसंहिता।’

आकृति बिस्तारै चलमल हुन थाल्यो । मधुरो प्रकाशमा बिस्तारै आकृतिको आकार देखिन थाल्यो । यसो हेर्छु, मुहारमा घावैघाउ थियो । कपाल जिङरिंग परेको थियो । मानौँ, कसैले मजैले भुत्लाएको छ । निधारमा एउटा टुटुल्को पनि टलक्कै देखिन्छ । कपडा धुजाधुजा परेको छ । कुनै भीडले लुछलाछ गरेर भात्लाङभुत्लुङ पारेको हो कि जस्तो भान हुन्छ ।
‘को हो तिमी ?’ उसको हालत देखेर मैले हतार–हतार सोधेँ। 

‘म, म आचार संहिता,’ उसले बडो सकसपूर्ण आवाजमा भन्यो।
आचार संहिता ?!  म भने छक्क परेँ, ‘कुन आचार संहिता ?’
उसले भन्यो, ‘निर्वाचन आचारसंहिता।’

मैले सोधेँ, ‘अनि, यहाँ किन नि निर्वाचन आचारसंहिता ? आचारसंहिता भनेपछि त चुनाव हुने ठाउँमा, चुनाव प्रचार भइरहेको ठाउँमा जानुपर्ने होइन ?’
उसले भारी स्वरमा भन्यो, ‘गएको हुँ...’
‘अनि ?’ मेरो जिज्ञासा ।
‘यी यो हालत बनाइदिए,’ उसको उत्तर । 
‘कसले बनाइदियो यो हालत ?’ मेरो चिन्ता । 
‘राजनीतिक पार्टीहरूले,’ उसको रुन्चे स्वर ।
तर, उसको यो उत्तरले म भने झनै झस्केँ । उसको यो हबिगत त राजनीतिक पार्टीहरूले पो गरेको रहेछ । मैले सोधिहालेँ, ‘राजनीतिक पार्टीहरूले किन यस्तो गरेको त ?’

उसले मसिनो स्वरमा भन्यो, ‘मैले उनीहरूको काममा डिस्टर्ब गरेँ रे । मैले गर्दा राम्ररी चुनाव प्रचार पनि गर्न पाइएन भनेर एउटा पार्टीको कार्यकर्ताले मलाई रडै रडले हान्यो । झन्डै मारेको।’

‘ओहो ! तिम्रो त टाउकोभरि टुटुल्कै टुटुल्को छ । त्यही रडले हानेर हो ?’ मैले सहानुभूति प्रकट गरेँ ।
उसले भन्यो, ‘टुटुल्को त हथौडाले हानेर बनाएको हो । चुनाव प्रचारमा टाङ अडाउन आया भनेर एउटा पार्टीको कार्यकर्ताले मेरो टाउकै टाउकोमा हँसिया र हथौडाले हानेर यो हालत बनाइदियो।’

‘अनि यो लुगा नि ! कसले यस्तो बनाएको ?’ मैले झुलझुले कपडातिर देखाउँदै सोधेँ ।
‘अर्को एउटा पार्टीको नेता हेलिकप्टर चढेर चुनाव प्रचारमा जान लाग्या थियो । मलाई अगाडि देखेर हतरपतर हेलिकोप्टर उडाएको त त्यसैको हावाले मैले लगाइराखेको कपडा पनि पूरै उडाइदियो । म त नाङ्गै भएँछु । त्यसपछि लाज छोप्न बाटोमा जे भेटियो, त्यही लाएको हुँ,’ उसको नजर पनि झुक्दै गयो। 

‘अनि, यहाँ आएरचाहिँ किन बसेको त ? यो त पाटी हो, आचारसंहिता बस्ने ठाउँ त यो होइन,’ मैले बुझाउने प्रयास गरेँ ।
‘अनि कहाँ जानु त ?’ उसले कम्पित हुँदै भन्यो, ‘राजनीतिक पार्टीहरू मलाई जहाँ देख्यो, त्यहीँ आक्रमण गर्छन् । खोइ किन हो, मलाई उनीहरू सबैभन्दा ठूलो दुश्मन ठान्छन् । उनीहरू आफ्नो प्रमुख प्रतिस्पर्धीभन्दा पनि मलाई पो बढी आक्रमण गर्छन् । त्यसैले म उनीहरूबाट बल्लबल्ल ज्यान जोगाएर यहाँसम्म आइपुगेको।’

‘तर, यहाँ बसेर के काम ? यहाँभन्दा त बरु निर्वाचन आयोगमा गएर बसे हुन्थ्यो । तिम्रो सुरक्षा त उसैले बढी गर्छ होला,’ मैले सुझाएँ।

‘हुन त हो, तर अहिले निर्वाचन आयोग मेरो सुरक्षा दिने अवस्थामा छैन,’ निराश भावमा उसले भन्यो ।
‘किन ?’ मेरो जिज्ञासा।

‘अहिले निर्वाचन आयोगलाई पहिलो चरणको मतपेटिका र दोस्रो चरणको उम्मेदवारलाई सुरक्षा दिँदादिँदै ठिक्क छ । मतिर ध्यान दिने फुर्सदै उसलाई छैन,’ उसको निराशामा अर्को निराशा थपियो । 
‘अनि के गर्ने त ? यहीँ बस्ने ?’ मैले फाइनल प्रश्न राखेँ ।
‘हजुर, यहीँ बस्छु । चुनाव नसकुन्जेल म यही पाटीमा बस्छु । बस्न त मिल्छ होला नि, मिल्दैन ?’ उसको याचनापूर्ण सोधाइ थियो।

‘बस्न त मिल्छ नि किन नमिल्नु ? पाटी भनेकै तिमीजस्तो जाने ठाउँ कहीँ नभएका मानिसहरू बस्न बनाइएको हो । तर यहाँ बसेर के गर्नु ? तिमी त निर्वाचन क्षेत्रमा हुनुपथ्र्यो,’ मैले फाइनल सुझाव दिएँ।

‘नाइँ नाइँ, म निर्वाचन क्षेत्र त जाँदै जान्नँ,’ उसले दुवै हात उठाएर आफ्नो दुवै कान समात्यो, ‘जसरी भए पनि चुनाव अवधिभर ज्यान जोगाउनु छ मलाई । अब यहीँ बसे मात्रै ज्यान जोगिएलाजस्तो छ ।’ आचार संहिताले बिन्तीभाउ ग¥यो । 
म आचारसंहितालाई पाटीमै छाडेर मर्निङ वाकतिर दौडेँ । खोइ आज के भएछ, मेरो मर्निङ वाक रुटको हावा बिहानैदेखि ठस्स गन्हाइरहेको थियो । 

प्रकाशित: १६ मंसिर २०७४ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App