८ वैशाख २०८१ शनिबार
समाज

नबिल र हिमालयन बैंकको एटिमबाट पैसा झिक्ने पक्राउ

काठमाडौं— एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए।

साउन १७ गते लाजिम्पाटको एटिम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा सिआइबी टोलीले उनलाई पक्राउ गरेको हो। ४९ वर्षीय प्रेडा बस्ने होटलको कोठामा खानतलासी गर्दा प्रहरीले २ लाख ६४ हजार नेपाली रुपैयाँ, ल्यापटप एक थान, मोबाइल २ थान, गिफ्ट कार्ड, पासपोर्ट तथा आइडी कार्ड बरामद गरेको छ।

नेपालका अधिकांश एटिम म्याग्नेटिक स्ट्राइप सिस्टमका छन्। चिप आधारित एटिमले पुरानो प्रविधि आधारित एटिमलाई प्रतिस्थापन गरिसकेको छैन। पुरानो प्रविधिआधारित एटिमबाट अनधिकृत रुपमा पैसा निकाल्ने खतरा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ।

पक्राउ विदेशी नागरिकलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

सन् २०१५ देखि तीन पटक नेपाल आएका उनी पछिल्लो २ महिनादेखि शंकर होटलमा बस्दै आएका थिए। हिमालयन र नबिल बैंकको एटिम बुथबाट झिकेको रकम मनि चेञ्जरहरुबाट युरो र अमेरिकी डलरमा परिवर्तन गर्दै आएको अनुसन्धानबाट खुलेको छ। इन्डोनेसिया, थाइल्यान्ड, बोलिभिया, पपुवा न्यु गिनी लगायतका देशहरुमा पनि उनले एटिमबाट रकम ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यसरी झिक्थे प्रेडाले एटिमबाट पैसा

एटिमबाट पैसा निकाल्न उनले समूह परिचालन गरी योजनाबद्ध रुपमा काम गर्दै आएका थिए। पहिलो समूहले विभिन्न देशका एटिम मेसिनभित्र एक्स्टर्नल डिभाइस सेट गरी एटिम कार्ड प्रयोगकर्ताको सम्पूर्ण विवरण कपी गर्ने तथा एटिम बुथभित्रै हिडन क्यामेरा सेट गरेर पिन कोड लिने काम गर्दै आएका थिए। यसरी लिएको सूचना दोस्रो समूहका सदस्यलाई दिने र दोस्रो समूहले गिफ्ट कार्ड तथा स्वापिङ डिभाइसबाट कार्ड प्रयोगकर्ताको सूचना राखी एटम कार्ड बनाउँदै आएका थिए।

एटिम सुरक्षा कमजोर भएका देशहरुमा गई उक्त कार्डमार्फत् रकम झिक्ने उनीहरुको रणनीति रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जुन देशमा यस्ता एटिमबाट रकम निकाल्न सकिन्छ पहिलो समूहले सो देशका अन्य एटिम प्रयोगकर्ताको सूचना फेरि दोस्रो समूहलाई पठाउने गरेको देखिएको छ। यसरी काम गर्दा रकम निकाल्ने पहिलो समूहले ७० र दोस्रो समूहले ३० प्रतिशत हिस्सा बाँडफाँड गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ।

नेपालका अधिकांश एटिम म्याग्नेटिक स्ट्राइप सिस्टमका छन्। चिप आधारित एटिमले पुरानो प्रविधि आधारित एटिमलाई प्रतिस्थापन गरिसकेको छैन। पुरानो प्रविधिआधारित एटिमबाट अनधिकृत रुपमा पैसा निकाल्ने खतरा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ।

 

प्रकाशित: २१ श्रावण २०७३ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App