४ वैशाख २०८१ मंगलबार
अन्य

त्यो फूलको गीत

विमल भौकाजी

वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को हातमा त्यतिखेर एक पन्ना प्रिन्टेड कागज थियो, जसमा लेखिएको थियो, ‘स्वरसम्राट स्व. नारायण गोपालद्वारा संगीतबद्ध केही गीतहरू ।’ 
तलतिर उल्लेख थियो, ‘कदम’द्वारा रचित पाँचवटा गीतका सम्पूर्ण शब्दहरू ।

नारायणगोपालले पनि सुने यो खबर । तर त्यहाँ जब आफ्ना गीत पनि गुलाम अलिले गाएका छन् रे भन्ने थाहा पाए, उनी आगो बने, ‘मैले गाएको गीत त्यसले गाउने ?’ त्यसबेला साथमै थिए ‘कदम’ ।


यो कागजको पन्ना देखाउँदै गर्वका साथ ‘कदम’ भन्न लागे, ‘यसरी पाँच–पाँचवटा गीत संगीतबद्ध गरेर स्वरसम्राटले आपूmले मात्रै नभई अरू गायक–गायिकालाई समेत गाउन दिएका मेराबाहेक अरू कोही गीतकारको छैन ।’
वास्तवमा स्वरसम्राट नारायणगोपाल आपूm महान् गायक त छँदै थिए, तर उनका कतिपय ‘फ्यान’ले नारायणगोपाल ऊँचो स्तरका संगीतकार पनि हुन् भन्ने तथ्यमा त्यति गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । 
युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा...’ जस्तो कवितात्मक गीतलाई संगीतबद्ध गरी आफ्नै स्वरमा गाएर उनले कालजयी बनाए । स्वयं स्वरसम्राट भन्ने गर्थे, ‘आपूmले गरेको सिर्जनामध्ये यो मेरो अत्यन्तै मनपरेको प्रिय सिर्जना हो ।’
कवि–गीतकार हरिभक्त कटुवालको गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ उनी स्वयंले संगीतबद्ध गरेर गाएको एउटा अर्को त्यत्तिकै गहन गीत हो ।
शब्दहरूको स्तर राम्रो नभएको खण्डमा राम्रो संगीत दिएर वा मीठो स्वरमा गाइए पनि साँच्चिकै भने त्यो सिर्जना राम्रो हुन सक्दैन । त्यसैले त उनले गाएका गीतलाई सरसर्ती मात्रै अध्ययन गर्ने हो भने पनि थाहा हुन्छ कि उनी शब्द–चयनमा समेत गहिरोसँग चिन्तन–मनन गर्थे । तथापि उनकै आवाजबारे भन्ने हो भने फेरि त्यसलाई चाहिँ अपवाद नै मान्नुपर्छ । जोड दिएरै भन्न सकिन्छ– कदाचित् नारायणगोपालले त्यति गहन शब्दहरू नरहेका गीत गाएका हुन्थे भने पनि त्यो गीत उत्कृष्ट नै हुन्थ्यो । कसैले नकार्नै सक्दैन, उनको स्वरमा संसारभर कहीँ नपाइने एउटा छुट्टै विलक्षणता थियो । 
०००
‘नारायणगोपाल गीतको भाव राम्रोसँग पहिचान गर्न सक्ने खुबी भएका व्यक्ति थिए,’ नारायणगोपालको सांगीतिक विशेष चरित्रको उल्लेख गर्दै गीतकार ‘कदम’ले तीन दशकभन्दा अघिको घटना स्मरण गरे, ‘एक दिन म गायक फत्तेमान राजभण्डारीको घरतर्पm यत्तिकै पुगेको थिएँ । कोठाको झ्यालमा एउटा नयाँ मान्छेको अनुहार देखेँ, उनी थिए, नारायणगोपाल गुरुवाचार्य । म सरासर घरभित्र पसेँ । फत्तेमानले नारायणगोपालतर्फ औँल्याउँदै ‘उहाँलाई चिन्नुहुन्छ ? उहाँ नारायणगोपाल ।’ भन्दै चिनाए र मेरो समेत परिचय गराउँदै भने, ‘उहाँ भैरवनाथ रिमाल कदम । उहाँ राम्रो गीत लेख्नुहुन्छ ।’ नारायणगोपालले सामान्य रूपमा ‘ए, तपाईंका गीतहरू हेरूँ न’ भने ।’
खास गरेर आफ्नो एउटा गीतको रेकर्डिङको घटना सम्झँदै ‘कदम’ले भने, ‘अर्को एक दिन मैले लेखेका गीतमध्ये १२–१५ वटा उनलाई देखाउन गएँ । उनले घोत्लिएर सबै गीत अक्षरसः पढ्दै कुनै गीत एकातिर र कुनै गीत अर्कातिर भाग लगाउँदै गए । मैले अनुमान गरिसकेको थिएँ, एकातिरको भागका गीतहरू उनले मनपराएका हुन् भने अर्कातर्पmका गीतहरू मन नपराइएका । नभन्दै, एउटा भागका ५–६ वटा गीत लिएर उनले भने, ‘म यी गीतहरूमा संगीत गर्छु ।’ 
तीमध्ये एउटा गीततर्पm औँल्याएरै भने, ‘यो गीतचाहिँ म आपैmँ गाउँछु ।’
अब भने मेरो स्थिति बडो अन्योलग्रस्त बन्यो । कारण, त्यो गीत केही समयअघि मात्रै गायक द्वारिकालाल जोशीले संगीतबद्ध गरीकन भोलिकै दिन रेडियो नेपालमा रेकर्ड गर्ने समय तय भइसकेको थियो ।’
भोलिपल्ट !
स्वयं नारायणगोपाल रेडियो नेपाल गए र द्वारिकालाल जोशीलाई भने, ‘त्यो गीत तिमीले नगाउनू, मैले गाउन लागेको छु ।’ 
लगत्तै रेडियो नेपालका तत्कालीन निर्देशक भोग्यप्रसाद शाहलाई भेटेर त्यो गीत आफ्नो स्वरमा रेकर्ड गराए । गीत थियो–
जुन पूmल मैले चाहेको थिएँ, कसैले टिपेछ...
सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ ।
यो गीत खुबै जम्यो । नेपाली जनमानसमा अत्यन्तै लोकप्रिय बन्यो । यसका अलावा ‘कदम’द्वारा रचित नारायणगोपालले संगीत गरेका अन्य चारवटा गीत सबै नै कम–बेसी उत्तिकै मनपराइए, नेपाली साङ्गीतिक क्षेत्रमा । जुन गीतहरूका बोल यी थिए–
– उदास मेरो जीवनकथा कसैलाई भनिनँ,
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिनँ...
(गायिका ः अरुणा लामा)
– नचिनेभैmँ गरूँ भने मन यो मान्दैन,
पराई पो ठानूँ भने वाचा हारिँदैन...
(गायक ः फत्तेमान राजभण्डारी)
– जिन्दगीको पानाभरि सुख भेटिँदैन,
सधैँभरि विवशताको कथा मेटिँदैन...
(गायक ः फत्तेमान राजभण्डारी)
– शान्तिको धारा सदैव कलकल बग्ने नेपाल,
विश्वको महान् शिरताज विराजमान हिमाल...
(गायक ः फत्तेमान राजभण्डारी)

०००
भैरवनाथ रिमाल ‘कदम’द्वारा सिर्जित ‘जुन पूmल मैले चाहेको थिएँ...’ लाई स्वरसम्राट नारायणगोपालले गाएपछि यो गीतसँगै अर्को चर्चित प्रसंग पनि जोडिएको छ ।
नेपालको निमन्त्रणामा एक समय प्रसिद्ध गजल गायक गुलाम अलि आउँदा प्रज्ञा–प्रतिष्ठानको मञ्चमा उनले आफ्ना गजलका साथ केही नेपाली गीतहरू पनि गाएका थिए । 
नारायणगोपालले पनि सुने यो खबर । तर त्यहाँ जब आफ्ना गीत पनि गुलाम अलिले गाएका छन् रे भन्ने थाहा पाए, उनी आगो बने, ‘मैले गाएको गीत त्यसले गाउने ?’ त्यसबेला साथमै थिए ‘कदम’ ।
अर्को दिन उनले ‘कदम’लाई भने, ‘तैपनि सुनूँ न, कस्तो गाउँदो रहेछ त्यसले ?’ 
‘कदम’लाई साथ लिएर नारायणगोपाल लुसुक्क प्रज्ञा प्रतिष्ठानको श्रोता÷दर्शक दीर्घामा बस्न पुगे । 
तर त्यस दिन गुलाम अलिले कार्यक्रम अवधिभर नारायणगोपालका कुनै पनि गीत गाएनन् । वास्तवमा नारायणगोपाल त्यहाँ आएका छन् भन्ने सूचना गूलाम अलिले प्राप्त गरिसकेका रहेछन् । ‘सम्भवतः त्यही थाहा पाएरै गुलाम अलिले उनको गीत गाएनन्,’ भैरवनाथ अनुमान गर्छन् । 
त्यसपछि त नारायणगोपाल झनै क्रोधित हुँदै घर फर्किए । उनको मन अस्थिर भइरह्यो ।
भोलिपल्ट, ‘कदम’लाई भने, ‘म त्यहाँ हुँदा हिजो त्यसले गीत गाएन । म नभएको दिन त्यसले स्टेजमा गाएको गीतको टेप भए पनि सुनौँ न एकपटक !’ 
भैरवनाथ, रेडियो गएर त्यहाँबाट गुलाम अलिले ‘लाइभ’ गाएका गीतको टेप लिएर आइपुगे । त्यो टेपबाट गुलाम अलिले आफ्नै स्टाइलमा गाएको नारायणगोपालको स्वरको चर्चित गीत गुञ्जियो, ‘जुन पूmल मैले चाहेको थिएँ...’
ध्यानमग्न भएर पूरै गीत सुनिसकेपछि नारायणगोपालले प्रतिक्रिया व्यक्त गरे, ‘राम्रै गाएछ...।’
आजकल यो गीत रेडियो, एफएममा उति बजेको सुनिन्न । तर जब बज्छ, यो गीतले अभैm पनि श्रोतालाई उत्तिकै मग्न पार्छ । 

प्रकाशित: १६ मंसिर २०७४ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App