७ वैशाख २०८१ शुक्रबार
अन्य

विजयको इतिहास पछ्याउँदै

सौरभ ढकाल 

हरेक व्यक्तिका आ–आफ्ना सोख र रुचि हुन्छन् । सबैले आफ्ना सोख र रुचिलाई पूरा गर्न सक्दैनन् । केही भने यस्ता भाग्यमानी हुन्छन्, जसले आफ्नो रुचिलाई नै जीवन धान्ने व्यवसाय वा पेसामा रूपान्तरण गर्न सक्छन् । 
भिकिङकृष्ण कुँवर आफ्नो र परिवारको भविष्य सुखद बनाउन स्विडेनमा बसोबास गर्छन् । तर, उनले आफ्नो रुचि र चासोलाई भने चटक्कै बिर्सन सकेनन् । नेपाली वीरताको इतिहासमा रुचि राख्ने कुँवर आफ्ना पूर्वज बलभद्र कुँवर र गोर्खालीको वीरगाथा पछ्याउँदै विभिन्न स्थानको भ्रमण गर्छन् । 

दुई सय ५० वर्ष पहिले र अहिलेको परिस्थितिमा धेरै फरक छ । पुर्खाले रगत बगाए हामीले अब पसिना बगाउनुपर्ने बेला आएको छ । विजयको इतिहासलाई सम्मान गर्दै सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई आर्थिक समृद्धिसँग जोड्न जरुरी छ ।

कुँवर त्यही वीरताको गाथा पछ्याउँदै गत वर्ष काठमाडौं आइपुगे । उनीसँग मेरो चिनजान फेसबुकमार्फत भएको थियो । ‘भर्चुअल’ दुनियाँमार्फत चिनजान भए पनि पहिलो भेटबाटै हामी आत्मीय साथी बन्यौँ, खुलेर कुरा ग¥यौँ । त्यसको कारण थियो, उनको र मेरो रुचि एकै हुनु अर्थात् वीरताको इतिहास पछ्याउने कुरामा मत मिल्नु । वीरताको इतिहास पछ्याउने रुचिकै कारण स्विडेन बस्ने कुँवर र म अहिले अत्यन्त मिल्ने साथी मात्र भएका छैनौँ, गोर्खालीको गाथा खोज्ने र त्यसलाई वर्तमानमा जोड्ने अभियानमा समेत सरिक भइरहेका छौँ । 
कुँवर र मलाई जोड्ने एवं भेट गराइदिने काम भने सिन्धुलीगढीले गरेको हो । म केही वर्षदेखि गोर्खाली फौजले ‘इस्ट इन्डिया कम्पनी’का सेनालाई हराएर फर्काएको सिन्धुलीगढीबारे चासो राखेर अध्ययन गरिरहेको थिएँ । इतिहासलाई वर्तमानसँग जोडेर केही गर्न सकिन्छ कि भन्ने अभियानमा लागेको थिएँ । 
सिन्धुलीगढीले जोडिदिएका हामी अहिले पनि मिल्ने साथी छौँ । सिन्धुलीगढीमा पर्यटन प्रवद्र्धन गर्न र यसको महŒवबारे जनचेतना जगाउन आ–आफ्नो ठाउँमा क्रियाशील छौँ । 
०००
गोर्खाली वीरताको गाथा नेपालमा मात्र गाइँदैन, अंग्रेज फौजसँगको लडाइँमा नेपालीले देखाएको वीरताको सम्झना भारतमा पनि गरिन्छ । गत आइतबार मात्रै हाल भारतमा पर्ने खलंगा नालापानीमा भव्य मेला आयोजना गरी देहरादुनका नेपालीभाषीले बलभद्र र नालापानी युद्धको सम्झना गरेका थिए । 
नालापानी त्यही किल्ला हो, जहाँ नेपाली फौजले अंग्रेज सेनापति जिलेस्पीलाई मारेका थिए । वि.सं. १८७१ कात्तिक १७ गते नेपाली फौजको प्रहारबाट जिलेस्पीको ज्यान गएको थियो  ।
पानी समेत नखाई वीर गोर्खालीले अंग्रेज फौजलाई पराजित गरेको थियो । लामो समय पानीको समेत हाहाकार भएपछि वि.सं. १८७१ मंसिर १६ गते राति बलभद्र कुँवरसहित नेपाली सेनाहरू नालापानी किल्ला बाहिर निस्कन बाध्य भएको इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णांक ३ (कात्तिक २०२१ः५९–६४) मा उल्लेख गरेका छन् । यसरी किल्ला छाडेर उनीहरू अन्य मोर्चामा पुगेर लड्दालड्दै सुगौलीसन्धि भयो । अंग्रेज पक्षको निकै ठूलो क्षति गराए पनि वि.सं. १८७२ मंसिर १८ मा कम्पनी सरकारका तर्फबाट लेफ्टिनेन्ट कर्णेल प्यारिस ब्राड्साले हस्ताक्षर गरेर १५ दिनको म्याद तोकी सन्धिको प्रस्ताव गरेका थिए । नेपालले ९३ दिनपछि वि.सं. १८७२ फागुन ५ मा मकवानपुरको सुगौली भन्ने स्थानमा सो सन्धिमा सहमति जनाएको थियो । सुगौलीसन्धिमा सहमतिपछि आफ्नो एकतिहाइ भू–भाग अंग्रेजलाई सुम्पन बाध्य भयो, नेपाल ।
०००
सुगौली सन्धिको ४८ वर्षअघि सिन्धुलीको पौवागढीमा गोर्खाली सेनाबाट कप्तान किनलकको नेतृत्वको अंग्रेज फौजले हार खाएको थियो । इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पूर्णिमा’ पूर्णांक २७ (असोज २०२९ः१६६)मा लेखेअनुसार वि.सं. १८२४ असोज ९ गते पौवागढीमा नेपाल खाल्डोतर्फ अगाडि बढिरहेका कप्तान किनलक नेतृत्वको अंग्रेज फौजलाई पृथ्वीनारायण शाहको सेनाले नराम्ररी पराजित गरी लखेटेको थियो । 
त्यसबेला पृथ्वीनारायण शाह नेपाल एकीकरणको अभियानलाई अघि बढाउँदै थिए । उनले दुई शक्तिशाली राज्यहरू मकवानपुर र कीर्तिपुरलाई क्रमशः वि.सं. १८१९ र वि.सं. १८२३ मा पराजित गरी गोर्खा राज्यमा गाभेपछि कान्तिपुरलाई गाभ्ने तयारीमा थिए । तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाविरुद्घ लड्न आवश्यक पर्ने सैनिक सहयोगका लागि गरेको याचनाले इस्ट इन्डिया कम्पनीअन्तर्गत किनलकको नेतृत्वमा बेलायती फौज उत्तरतर्फ बढ्यो । 
किनलकको नेतृत्वमा आएको बेलायती फौजलाई वि.सं. १८२४ मध्यमा गोर्खा सेनाले पराजित गरे । पृथ्वीनारायणका सेनाले करिब १० महिनापछि इन्द्रजात्राको दिन काठमाडांै कब्जा गरे । सायद सिन्धुलीगढीको युद्घमा गोर्खालीले कम्पनी सेनालाई पराजित नगरेको भए सिंगो नेपालको निर्माण असम्भव थियो । गोर्खाली सेनाको पौरखको गाथा भए पनि विदेशी इतिहासकारले यसको व्याख्या आ–आफ्नै ढंगले गरेका छन् । व्याख्या जसरी गरे पनि यो जित गोर्खाली सेना र नेपाल एकीकरणको कोसेढुंगा भएको सबैले मानेका छन् । 
दुई सय ५० वर्षअघिको विजयपछि पनि सिन्धुलीगढी महŒवपूर्ण नाका र केन्द्रका रूपमा लामो समयसम्म रहिरहेको थियो । 
वि.सं. २०१९ सम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय सिन्धुलीगढी क्षेत्रमै थिए । वि.सं. २०२२ मा सिन्धुलीगढी दरबारमा सेनाको ब्यारेक र प्रहरी चौकी एवं कारागार मात्र बाँकी रहेर सबै कार्यालय सिन्धुलीमाडीमा सारियो । 
२०२९ सालमा कारागार पनि सिन्धुलीमाडीमा सारियो । कृष्णविक्रम थापाले २०३७ सालमा रेडियो नेपालमा एउटा गीत गाए । त्यस बेलादेखि अहिलेसम्म यो गीतले उत्ति नै महŒव  र चर्चा पाएको छ । विगतका यादलाई सम्झेर लोकगायक कृष्णविक्रम थापाले ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई, कतिमा राम्रो दरबार, मा¥यो नि मायाले मा¥र्या...’ गीत गाएका थिए । जुन गीतले गढी दरबार जीर्ण हुँदा समेत त्यसको महŒवलाई चिरस्थायी बनाएको छ । 
२०५२ सालमा माओवादी सशस्त्र युद्धकोे सुरुवाती तारो सिन्धुलीगढी बन्यो । माओवादीले  रोल्पा, रुकुम र सिन्धुली जिल्लाको एक–एक प्रहरी चौकी आक्रमण ग¥यो । सिन्धुलीगढीमा रहेको चौकीमा आक्रमण गरिएको थियो । त्यसबेलादेखि सरेको चौकी फर्केर गढीमा आएको छैन ।  
बिपी राजमार्गको ट्र्याक  खुल्दै गएपछि सिन्धुलीगढीको चर्चा र चासो पनि बढ्दै गयो । बिपी राजमार्गले ऐतिहासिक सिन्धुलीगढी क्षेत्रलाई समेत छोएर अघि बढेको छ ।  
नयाँ बाटोले चर्चमा ल्याएको गढी क्षेत्रमा विगत केही वर्षयता विजय उत्सव मानाउन थालिएको छ । उत्सवमा जिल्लावासी तथा अन्य सहभागी भएर हाम्रा पुर्खाले जितेको दिनको सम्झना र सम्मान गर्ने प्रयास गरिँदै छ । यो वर्ष सिन्धुलीगढीमा युद्ध भएको दुई सय ५० वर्ष पूरा भएको छ । 
‘समृद्ध सिन्धुली अभियान’ले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अवसरमा काठमाडौंदेखि सिन्धुलीगढी हुँँदै सिन्धुलीमाडीसम्म साइकल यात्रा गरेको थियो । त्यस यात्राको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । सिन्धुलीगढीमा मनाइएको विजयोत्सवमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइन् । राष्ट्रप्रमुख र उपप्रमुख दुवै जोडिएको काठमाडौं बाहिरको सम्भवतः यो नै पहिलो कार्यक्रम हो । 
कार्यक्रममा नेपाली सेनाले तत्कालीन अवस्थामा अंग्रेजसँग लड्दाको अवस्था दर्शाउने पोसाकमा सैनिकलाई उतारेको थियो । उनीहरू गुलेली, मट्यांग्रा, भाला, भरुवा बन्दुकलगायत हतियारमा गढीका हरेक कुनामा सुरक्षार्थ तैनाथ थिए । तत्कालीन ‘इस्ट इन्डिया कम्पनी’का सेनालाई गोर्खालीले तीनै हतियारका बलमा परास्त गरेका थिए ।  
सिन्धुलीगढी विजयको इतिहास बोकेको स्थल भएकाले आफैँमा हरेक नेपालीको गन्तव्य स्थल हुँदै हो, त्यसमा पनि यसको अवस्थिति, हावापानी, यातायातको सुगमता र प्राकृतिक वातावरणले समेत यो प्रदेश नम्बर– ३ को पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना छ ।
काठमाडौंबाट धुलिखेल हुँदै बिपी राजमार्ग भएर सिन्धुलीगढी पुग्न सकिन्छ । सुनकोसी तिरैतिर भएर जाने नागबेली सडक आफैँमा एउटा आकर्षण हो । काठमाडौंबाट सार्वजनिक सवारीसाधनमा चार घन्टा लाग्छ । आफ्नै सवारीसाधन हुनेहरू तीन घन्टामै पुग्न सक्छन् । पूर्वी तराईबाट आउँदा पूर्व–पश्चिम राजमार्गको बर्दिबासबाट बढीमा दुई घन्टामा सिन्धुलीगढी पुग्न सकिन्छ ।
महाभारत डाँडाको यस स्थलबाट तराईका फाँट र उत्तरमा हिमालको रमणीय दृश्य देखिन्छ । तराईमा चर्को गर्मी हुने बेला यहाँ आउनेले शीतल अनुभूति गर्न सक्छन् । यहाँ कहिल्यै गर्मीको अनुभूति हुँदैन । चिसो, मन चंगा बनाउने हावाले पर्यटकलाई लोभ्याउँछ । जाडो लागेपछि गढी वरिपरिका गाउँमा फल्ने जुनारको स्वाद अर्काे आकर्षण छँदै छ । 
दुई सय ५० वर्ष पहिले र अहिलेको परिस्थितिमा धेरै फरक छ । पुर्खाले रगत बगाए हामीले अब पसिना बगाउनुपर्ने बेला आएको छ । विजयको इतिहासलाई सम्मान गर्दै सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई आर्थिक समृद्धिसँग जोड्न जरुरी छ । 

प्रकाशित: १६ मंसिर २०७४ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App