८ वैशाख २०८१ शनिबार
समाज

सरकारी माेटरसाइकल मर्मतमा मनपरी बिल

खोटाङ – खोटाङमा सरकारी माेटरसाइकल मर्मतका क्रममा मनपरी बिल बनाएर पेस गर्ने गरेको पाइएको छ । दिक्तेल, हलेसी र महुरेमा सञ्चालित वर्कसपमा कर्मचारीले सेतो प्लेटवाला मोटरबाइक मर्मतका क्रममा बिल बढाएर लैजाने गरेको पाइएको हो।

अधिकांश कर्मचारीले सवारीसाधन मर्मतका क्रममा अस्वाभाविक रुपमा बढीको बिल बनाउन लगाउने गरेको वर्कसप सञ्चालकको भनाइ छ । हाल हरेक वर्कसपमा निजी भन्दा बढी सरकारी बाइक मर्मतमा आउने गरेका छन् । स्रोतका अनुसार सामान्य मर्मतदेखि मोबिल बदल्ने क्रममा बिल बढाएर लैजानेमा वडासचिवदेखि वडाध्यक्षसम्म छन् । उनीहरुले सञ्चालकले तोकेको दरभन्दा दोब्बरको बिल बनाउन लगाउने गरेका नाम नभन्ने सर्तमा एक वर्कसप सञ्चालकले बताए । ‘कर्मचारीले त बिल बढाइमाग्ने नै भए । कुनैकुनै वडाध्यक्षले समेत बिल बढाउन लगाउँछन्,’ वर्कसप सञ्चालकले भने, ‘हुँदै नभएको खर्चको बिल नबनाऊँ भन्दा उनीहरु मान्दैनन् । बिल नबढाइदिए उल्टै रिसाउँछन्।’ 

अधिकांश कर्मचारीले सवारीसाधन मर्मतका क्रममा अस्वाभाविक रुपमा बढीको बिल बनाउन लगाउने गरेको वर्कसप सञ्चालकको भनाइ छ।

सवारीसाधन मर्मतका क्रममा हुने खर्चको विषयमा कतैबाट प्रश्न नउठ्ने भएकाले पनि सरकारी मोटरबाइक मर्मत गर्दा बिल बढाएर लैजाने गरेका हुन् । स्टेसनरी, छापाखाना, फोटोकपी सेन्टर, अडिटलगायतका क्रममा बिल बढाउने गरेको जनगुनासो आइरहेका बेला सरकारी बाइक मर्मतमा समेत बिल बढाउने गरेको गुनासो आएको हो । नागरिकले बुझाएको करबाट तलब खाने कर्मचारीले वर्कसप सञ्चालकसँग बिल बढाएर कारोबार गर्ने गरेको भुक्तभोगीको गुनासो छ । ‘अनुगमन गर्ने हो भने सवारीसाधन मर्मतका क्रममा बिल बढाएको प्रशस्त भेटिन्छ,’ ती वर्कसप सञ्चालकले भने, ‘अनाहकमा राज्यको ढुकुटी सक्नु राम्रो होइन, यसलाई रोक्न ध्यान पुग्नुपर्छ ।’ बढीजसो हलेसी, महुरे र दिक्तेलमा सञ्चालित वर्कसपमा मर्मतका क्रममा बिल बढाउने क्रियाकलाप हुने गरेको स्रोत बताउँछ। 

कतिपय सरकारी सवारीसाधनको गलत प्रयोग भइरहेको समेत पाइएको छ । कार्यालयीय कामभन्दा व्यक्तिगत कामकाजमा वडा कार्यालयको बाइक प्रयोग भइरहेको स्थानीयको गुनासो छ । सरकारी बाइक वडाध्यक्ष र वडासचिवबाहेक अन्य व्यक्तिले समेत कुदाउने गरेको पाइएको छ ।

प्रकाशित: १७ मंसिर २०७४ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App