८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशबाट आउने सामान सस्तो हुने

काठमाडौं – परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर दुई महिनायताकै कमजोर भएको छ । नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ।

कमजोर डलरका कारण आयातित वस्तुको सामान सस्तोमा पाइने सम्भावना बढेको छ । यसले गर्दा उपभोक्तालाई राहत पुग्ने छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलर बराबर एक सय दुई रुपैयाँ ८५ पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय तीन रुपैयाँ ४५ पैसा तोकेको छ। 

नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ ।
भारतीय मुद्रा बलियो हुनु भनेको भारतको अर्थतन्त्र मजवुत हुँदै गएको संकेतका रुपमा लिन सकिने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको भनाइ छ।

‘एक अमेरिकी डलर बराबर एक सय पाँच रुपैयाँसम्म पुगेको थियो, त्यसरी बढेको डलरको भाउ एक सय दुईमा आउनु भनेको नेपाललाई प्रतिडलर तीन रुपैयाँ फाइदा हुनु हो,’ पूर्व गभर्नर क्षेत्रीले भने, ‘डलर घट्दा नेपाली रुपैयाँ बलियो हुन्छ र यसले नेपाललाई नै फाइदा पुर्‍याउँछ।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा बलियो बन्दा नेपालमा डलरको भाउ घटेको हो । अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बनेको विज्ञको भनाइ छ । 
डलरको भाउ घट्दा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य पनि घट्ने नेपाल राष्ट्र बैंकको भनाइ छ।

डरलको भाउ घट्दा नेपाललाई बढी फाइदा हुन्छ । डलर बलियो हुँदा निकासीकर्ता र रेमिटेन्स पाउनेलाई मात्र फाइदा हुन्छ । यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि कम भएको छ। 

डलरको तुलनामा नेपाली रुपैयाँ बलियो हुनु नेपालका लागि फाइदाजनक भएको क्षेत्री बताउँछन् । ‘डलरको भाउ कम हुँदा मूल्यवृद्धि पनि कम हुने छ,’ उनले भने, ‘मूल्यवृद्धि कम हुनुमा यो पनि एउटा कारण हो।’ 

निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो। 

दुई महिनाअघि डलरको भाउ एक सय चार रुपैयाँ ६४ पैसासम्म पुगेको थियो । त्यसपछि  डलरको भाउ निरन्तर ओरालो लागेर एक सय दुई रुपैयाँ ८५ पैसामा आएको छ। 

उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध जटिल हुँदै जानु, साउदी अरबिया नेतृत्वमा केही खाडी मुलुकले कतारमाथि नाकाबन्दी लगाएका कारण पनि अमेरिकी डलर कमजोर देखिएको विज्ञको भनाइ छ । कतारले  खाडी  संकट समाधानका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको अपिल गरेको छ । खाडी संकट समाधान भयो भने डलरको भाउ फेरि बढ्ने अनुमान गरिएको छ।

कतारमाथि नाकाबन्दी लगाएको ६ महिनाभन्दा बढी हुन लागेको छ । नाकाबन्दीका कारण कतारले ठूलै आर्थिक क्षति बेहोर्नु परेको बताइन्छ । यसअघि कतारले नाकाबन्दीका कारण बेहोर्नुपरेको आर्थिक नोक्सानीको क्षतिपूर्ति नाकाबन्दी लगाउने मुलुकहरूले दिनुपर्ने माग गरेको थियो । गत साता सार्वजनिक एक तथ्यांकले भने कतारको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको देखाएको छ। 

कतारले अतिवादी इस्लामिक समूहलाई समर्थन गरेको र आतंकवाद फैलाएको आरोप लगाई साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले दोहासँगको कूटनीतिक सम्बद्ध बिच्छेद गरी कतारमाथि नाकाबन्दी लगाएका थिए । कतारले भने ती सबै आरोपहरुलाई आधारहीन भन्दै खण्डन गरेको छ । खाडीमा देखिएको केही दशकयताकै गहिरो संकटको असर अमेरिकी डलरमा समेत परेको विज्ञहरु बताउँछन।

प्रकाशित: १७ मंसिर २०७४ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App