७ वैशाख २०८१ शुक्रबार
अर्थ

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

ताप्लेजुङ- पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट उत्पादन गर्न लागिएको इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको छ।

गएको वर्षको कार्तिक महिनादेखि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गर्दै आएको कुल ९.९ मेगावाट क्षमताको जलविद्युत आयोजना हो। आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न गरी विद्युत परीक्षण गर्ने लक्ष्यसहित निजी क्षेत्रको लगानीमा निर्माण सुरु गरिएको आयोजनाको कामको प्रगति लक्ष्यअनुसार नै भइरहेको बताइएको छ। लक्ष्य अनुसार कामलाई तीब्रता दिएसँगै एक वर्षको अवधिभित्रै ७२ प्रतिशत काम सम्पन्न गरी राम्रो प्रगति हासिल गरेको आयोजनाले जनाएको छ। आयोजनाका प्राविधिक प्रमुख लीलामणि पाठकले आयोजना निर्माणको हालसम्मको प्रगतिअनुसार बाँध निर्माणको ७५ र बालुवा थिगार्ने पोखरीको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए। यस्तै पाइप लाइनमा पाइप बिछ्याउने कार्य ६५ प्रतिशत र विद्युत गृह निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको पाठकले जानकारी दिए। पाठकका अनुसार पाइप लाइनको कुल ३ हजार २ सय मिटर दूरीमध्ये हालसम्म २ हजार ३ सय मिटर पाइप बिछ्याउने कार्य सम्पन्न भइसकेको छ। ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक–४ थर्पू पुछार काभ्रे–दोभानमा आयोजनाको मुहान् अर्थात बाँध निर्माण हुने र थर्पूको दाहालगाउँ त्रिवेणीमा पावर हाउस (विद्युत गृह) रहने छ।

कुल १ अर्व ६० करोड रुपैंयाँको लागतमा निर्माण हुँदै आएको आयोजनाका लागि विभिन्न पाँच वटा निजी बैङ्कहरुले लागत रकमको ६५ प्रतिशत लगानी गरेका छन् । आयोजनाका परियोजना निर्देशक कुबेरमणि नेपालका अनुसार बैङ्क अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैङ्क, एनसीसी बैङ्क, सिटिजन बैङ्क इन्टरनेशनल र सिद्धार्थ बैङ्क लिमिटेडको लगानी रहेको छ। यस्तै आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५ प्रतिशत र बाँकी सर्वसाधारणको शेयर लगानी रहेको समेत नेपालले बताए। निर्माण कम्पनीका अनुसार २०७० साल बैशाखमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्रीको सम्झौता भएको र त्यसपछि २०७१ सालमा ऊर्जा मन्त्रालयले आयोजना निर्माणका लागि अनुमति दिएको थियो। अनुमति बमोजिम निर्धारित समयभित्र आयोजना सम्पन्न गर्नेगरी हाल निर्माणको कार्य द्रूत गतिमा भइरहेको आयोजनाका स्थानीय सामाजिक परिचालक टीकाराम मिश्रले बताए। मिश्रका अनुसार २ सय बढी मजदुर विद्युत निर्माणको काममा संलग्न रहेका छन्।

 

प्रकाशित: १७ मंसिर २०७४ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App