coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डुबान समस्या समाधान गर्नेलाई भोट

कपिलवस्तु- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मैदानमा उत्रिएका उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न अनेक आश्वासन र प्रतिबद्धता जनाउन व्यस्त छन् । दोस्रो चरणमा चुनाव हुन लागेका जिल्लाका बस्तीबस्तीमा राजनीतिक दलका कार्यकर्ताको उपस्थिति बढेको छ । तर कपिलवस्तुको यशोधरा गाउँपालिका पिपराको तुल्सीडिहवा गाउँमा भने चुनावको उत्साह देखिएको छैन ।
भारतले एकपक्षीय रुपमा बनाएको बझाहा बाँधका कारण डुबानको समस्या झैल्दै आएका गाउँका १२ परिवारलाई त्यही समस्याको पिरलो छ । तुल्सीडिहवाका जयबुद्ध यादवले हरेक पटक भोट माग्न आउँदा उम्मेदवारहरुले डुबानको समस्या समाधान गर्छौं भने पनि जितेपछि मुखसमेत देखाउन नआउने गरेको गुनासो गरे । ‘बझाहा बाँधले गाउँ टापुझंै बनेको छ, बाँध बनेदेखि कसैले पनि राम्ररी खेती गर्न पाएका छैनन्’, उनले भने, ‘यो समस्या नेता–प्रशासनदेखि सबैलाई भन्यौं तर स्थायी समाधान भएकै छैन ।’ २ सय जति जनसंख्या रहेको गाउँमा सबै यादव समुदायका छन् ।
गाउँमा डुबान मात्र होइन, बाटोघाटोको पनि उत्तिकै समस्या छ । उनले सात बिघा पक्की खेत रहेको बाँधकै कारण अहिलेसम्म राम्ररी खेती गर्र्न नपाएको गुनासो गरे । ‘यसपटक चुनावमा उम्मेदवारहरु विभिन्न नारासहित डुबानको स्थायी समाधान गछौं भनी भोट माग्न आउने गरेका छन् तर कसैप्रति पनि विश्वास छैन’, उनले भने । सोही गाउँका जगदीश यादवले गाउँका १२ परिवारका ७० बिघा बढी डुबानमा पर्ने गरेको बताए ।
 ‘वर्षायाममा भारतले बाँधको फाटक बन्द गर्छ, हिउँदमा खोल्छ जसले गर्दा धान र गहुँखेती गर्न समस्या छ,’ उनले भने । गाउँको विकासमा समेत कुनै नेताको नजर नपरेको उनले बताए । उनले भने, ‘डुबानले हामी सबैलाई पिरोलेको छ, जीवनयापनमा समेत समस्या आएको छ ।’
बझाहासहित भारतले एकपक्षीय रुपमा बनाएको ४ वटा बाँधले एक हजार हेक्टर बढी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । तर यो समस्या समाधानका लागि कसैले स्थायी समाधान नगरेको सीमा क्षेत्रका मतदाताहरु बताउँछन् । बाँधका कारण बझाहा, महलीसागर, सिसवा र मझौलीमा खेत डुबानमा पर्ने गरेका छन् ।
डुबानकै कारण २०–२५ वर्षयता राम्ररी खेतीपाती गर्न नपाएको स्थानीय पुजारी यादवले बताए । अर्का किसान राजकिशोर पाण्डेयले भारतीय सीमातर्फ पर्ने बजहा तालको ढोका बन्द गरिँदा ४७ नम्बरको सीमा स्तम्भसमेत डुब्ने गरेको बताए । करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्दै आएको छ । तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ ।
बझाहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्रवरिपरि बाँध बनाएको छ । बजहा तालले नेपाली किसानलाई पीडा दिँदै आएकाले दीर्घकालीन समाधान खोज्नुपर्ने किसानको माग छ । वर्षा र गर्मीयाममा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गरी प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग बाँधपीडितहरुको छ ।
पीडितको माग सम्बोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसँग कुरा राखेर मौसमअनुसारको समस्या समाधान गर्नुपर्ने किसानहरु बताउँछन् । ‘पानी धेरै भयो भने बाँधको ढोका बन्द गर्छन्, कम भयो भने सिँचाइ सुविधाका लागि बाँध खोल्छन्,’ पिपराका किसान जगदीशसिंह यादवले भने, ‘तर यसको समाधानका लागि कसैले चासो लिँदैनन् ।’ आफनो खेत बर्ष भरी नै बाझै भए पनि मालपोत भने उनीहरुले तिदै आएका छन् ।

प्रकाशित: १८ मंसिर २०७४ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App