४ वैशाख २०८१ मंगलबार
समाज

रौतहटमा आजदेखि भारतीय गाडी चलाउन रोक

रौतहट – आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाको शान्ति सुरक्षा अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन्। चुनाव अत्यन्त नजिक आइसकेकोले नागरिक, मतदाता र उम्मेदवारका साथै मतदानस्थलको सम्पूर्ण सुरक्षा अत्यन्त कडा पारिएको उनले बताए।

सोमबारदेखि जिल्लाको सम्पूर्ण भागमा भारतीय नम्बर प्लेटको गाडीमा पूर्णतया रोक लगाइएको छ। भन्सार काटेर पनि भारतीय नम्बर प्लेटको गाडी चलाउन नपाइने एसपी पोखरेलले बताएका छन्। जिल्लाको दर्जनौँ ठाउँमा शान्ति सुरक्षालाई मध्यनजर राख्दै चेकजाँचमा अत्यधिक कडाइ गरिएको छ । मतदान स्थलमा मतदान सामग्री र कर्मचारी पुग्न थालेकाले सबैतिरबाट सुरक्षाको उच्च सतर्कता अपनाउँदै सुदृढ पारिएको एसपी पोखरेलको दाबी छ।

नाकाबाट आउने सबै किसिमको यात्रुहरूलाई गरिने चेकजाँचमा कडाइ गरिनुका साथै शंकास्पद व्यक्तिमाथि गहनरुपले निगरानी बढाइएको छ । विगत केही दिनदेखि भारतीय गाडीहरूमाथि पनि कडा निगरानी गरिँदै आएको एसपी पोखरेलले बताए।

जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेना गरी जिल्लामा सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्लाका आधाभन्दा बढी मतदान केन्द्र सम्वेदनशील रहेको र भारतसँग खुल्ला सिमाना रहेको कारणले सुरक्षा चुनौती थपिएको भए पनि सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको एसपी पोखरेलले बताए। निर्वाचनको अवधिसम्म केन्द्रदेखि मतदान केन्द्रसम्म सुरक्षाको निरन्तर मोनिटरिङ भइरहेकोले सबैलाई सुरक्षाप्रति ढुक्क हुन उनले आग्रह गरे।

निर्वाचनको लागि सादा पोसाकमा पनि व्यापक प्रहरी परिचालन गरिएकोले सुरक्षासम्बन्धी हरेक सूचना पलपलमा आइरहेको र जिल्लाको सुरक्षा व्यवस्था हरेक दृष्टिले कडा रहेकोले ढुक्क भएर मतदानको लागि तयार हुन उनले मतदातालाई आग्रह गरेका छन्।

प्रकाशित: १८ मंसिर २०७४ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App