७ वैशाख २०८१ शुक्रबार
विचार

कान्छीको सपनाको प्रारूप

मंसिर १० र २१ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलो चरणको ३२ जिल्लाको निर्वाचन सकिसकेको अवस्था छ । हिमाली तथा पहाडी जिल्लाका मतदाताको अभिमत ब्यालेट बक्समा थन्किएको छ । अब प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये कसको पक्षमा जनमतको परिणाम आउनेछ, त्यसका लागि मंसिर २१ गते पछिसम्म पर्खनु पर्नेछ ।

घोषणापत्रमा व्यक्त प्रतिबद्धताहरू पूरा भएको वा नभएको खबरदारी र दबाब दिने मतदाताको कुनै हैसियत हुँदैन । यो यथार्थलाई आत्मसात् गरेर मतदाताले हाम्रो होइन, राम्रो उम्मेदवारलाई मतदान गरेमा जनतामा रहेको सार्वभौमिक अधिकारको अर्थ हुन्छ । त्यसमा पनि नेपाली जनता अत्यन्त सजिला छन् । सरल छन् । कुनै गुनासो पनि गरिराख्दैनन् ! क्षमाशील छन् ।

प्रतिस्पर्धामा रहेका सबै दलहरूको घोषणापत्रको पूर्ण पाठ नपढेको भए पनि छापा र विद्युतीय सञ्चार माध्यममा जे जति मात्रामा घोषणापत्रको अंश आएको थियो त्यसमा प्रजातान्त्रिक तथा वाम दुवै गठबन्धन लगायत अन्य घटकको घोषणापत्रमा कुनै तात्विक भिन्नता थिएन । समान जस्ता थिए । सबैले समृद्धि र महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गरेको परिवेशमा प्रथम चरणको निर्वाचनमा उत्साहजक भाग लिएको मतदाताको अवस्थाले बाल्यकालीन सम्झना पनि भयो ।
म केटाकेटी छँदा घरमा घरेलु कामदारका रूपमा घर्ती थरकी कान्छी थिइन् । आफ्नो बूढो र छोरीसहित उनको परिवार नै हाम्रो घरमा बस्थे भनेको सुनेको हुँ । तर मैले थाहा पाउँदा छोरी, बूढो दुवै बितिसकेका थिए । जीवनपर्यन्त हाम्रै घरमा बसेकी कान्छीलाई बिहे गरेर फेरि घरजम गर्ने औधि रहर थियो । सुस्त प्रकृतिकी कान्छीको त्यो मनोविज्ञान थाहा पाउने जो कोहीलाई पनि उनलाई रिझाउन र फुर्काउने कुरो हुन्थ्यो उनको ‘बिहे’ । घरमा आउने पाहुनापाछा, माइत आएका छोरीचेली, अध्ययनका लागि काठमाडौँ या वनारस जाने घरका जो कोही सदस्यले हिँड्ने बेलामा उनको हातमा दुई चार रुपियाँ थमाउँदै भन्ने गरेको सम्झन्छु, “राम्रोसँग बस्नु हामी आउँदा केटो खोजेर ल्याउँछौँ, मंसिरमा तिम्रो बिहे गर्नुपर्छ ।” कान्छी फुरुंग पर्ने र त्यस दिन आफूले गर्नुपर्ने काम पनि छिटो सक्ने गरेको हुन्थ्यो ।
पञ्चै बाजाको धुन, जन्तीको साथ घोडामा आएको बेहुला, डोलीमा अन्मिएको बेहुलीको कल्पनामा पक्कै पनि रम्थिन् होलिन् उनी । सम्भव नभएको त्यो सपना उनलाई फुर्काउनका लागि कति पटक मैले पनि बाँडे हुँला भन्ने अहिले लाग्छ । सपना देखाउन जति सहज छ, त्यति नै पूरा गर्न गाह्रो हुन्छ भन्ने एउटा उदाहरण हो कान्छीको नियति ।
पटक पटक नेपाली जनताले मतदान गरेका छन् । पञ्चायतकालीन निर्वाचन मात्र नभएर २०४८ सालमा पहिलो पटक मतदानको अधिकार पाएको मतदाताले पनि २०५१, २०५६ सालको आमनिर्वाचन र २०४९ तथा २०५४ को स्थानीय निकायका साथै २०६४ र २०७० सालको संविधानसभाको निर्वाचन र २०७४ सालको स्थानीय निकायका निर्वाचनको मतदान अनुभव सँगालिसकेको छ । २०४८ सालमा पहिलोपटक मतदान गर्ने मतदाता अब प्रौढावस्था पुगिसकेको छ । सम्भवतः कतिपय त्यस्ता मतदाताका सन्ततिसमेत मतदाता भइसकेका छन् । त्यो मतदाताले पटक पटक चुनावी घोषणापत्र पढिसकेको छ । निर्वाचनमा उठ्ने अनुहार र उसले ल्याएको घोषणापत्रमा उसले खासै अन्तर देखेको पनि छैन तर पनि ऊ मतदान गर्न आतुर छ, यही प्रतीकात्मक विम्ब हो, नेपाली मतदाताको ।
दलहरू के कति मात्रामा आफ्नो घोषणापत्रमा प्रतिबद्ध छन्, त्यो भोलिको व्यवहारमा प्रकट हुने कुरा हो । कान्छीलाई देखाइएको बिहेको सपनाको प्रारूपमा घोषणापत्र र प्रतिबद्धताको अवस्था हुने त होइन ? विगतको अभ्यासले त्यस्तो आशंका गर्ने प्रशस्त ठाउँ दिएको छ । निर्वाचनमा मतदान नगर्दाको अवस्थासम्म मतदाताको भाउ र मान हुने हो । घोषणापत्रमा व्यक्त प्रतिबद्धताहरू पूरा भएको वा नभएको खबरदारी र दबाब दिने मतदाताको कुनै हैसियत हुँदैन । यो यथार्थलाई आत्मसात् गरेर मतदाताले हाम्रो होइन, राम्रो उम्मेदवारलाई मतदान गरेमा जनतामा रहेको सार्वभौमिक अधिकारको अर्थ हुन्छ । त्यसमा पनि नेपाली जनता अत्यन्त सजिला छन् । सरल छन् । कुनै गुनासो पनि गरिराख्दैनन् ! क्षमाशील छन् ।
संविधानसभा, स्थानीय निकाय र आमनिर्वाचनमा आएका घोषणापत्र एकै प्रकृति र स्वभावका हुँदैनन् भिन्न हुन्छन् भन्ने गरिन्छ । तर अहिलेसम्मको अभ्यासमा सबै घोषणापत्र एकै स्वरूपमा आए । संविधानसभामा संसदीय चरित्रको अभ्यास भयो । यी सबै कुरालाई मनन गरेर अब दल र नेतालाई गाली गर्नुभन्दा मतदाता आफैँ संवेदनशील, सजग र विवेकशील नबन्ने हो भने राजनीतिक क्षेत्रमा जे जस्ता अभ्यास भएका छन् । त्यसमा लगाउने कुनै वैधानिक अंकुश छैन । हुँदैन । आफू मतदान गर्ने र जिताउने अनि तिनैलाई गाली गर्नुभन्दा अगाड मतदाता गम्भीर बन्नुपर्छ । बौद्धधर्म र दर्शनका ज्ञाता प्रसिद्ध इतिहासकार तथा शिक्षाविद् जापानी साहित्यकार दाइसाकु इकेद, ले ‘चुजलाइफ’ भन्ने पुस्तकमा भनेका वाक्यांश स्मरणीय छन् । “प्रजातन्त्रमा नेताहरूलाई जिम्मा दिइएको शक्ति सधैँ नै अवधि विशेषका निम्ति सीमित हुनुपर्छ । कुनै व्यक्तिको त्यो पदावधि पूरा भएपछि उसका पदावधिका कार्यहरूको मूल्यांकन गर्नैपर्छ अनि उसलाई नेतृत्वका स्थानमा कायमै राख्ने वा अर्को कुनै व्यक्तिको पक्षमा उसलाई पदमुक्त गर्ने भन्ने निर्णय गर्नुपर्छ ।” पहिलो चरणको निर्वाचन सकिसकेको छ । त्यसैले अब मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा मतदान गर्ने मतदाताका लागि माथिका वाक्यांश समय सान्दर्भिक छन् ।
निर्वाचन संविधानको कार्यान्वयनकै एउटा पाटो हो तर जुन किसिमको राज्य पुनर्संरचनाको अभ्यास भएको छ, त्यो अत्यन्त खर्चिलो र चुनौतीयुक्त छ भन्ने कुरालाई बिर्सन मिल्दैन । स्थानीय, प्रदेश र संघको प्रशासनिक खर्च र भौतिक संरचनाको व्यवस्थापन पहिलो चुनौती देखिन्छ । आफ्नै संसद् भवन केन्द्रमा छैन, अरू तपसिलका कुरा भए ।
निर्यातको तुलनामा आयातको मात्रा अत्यधिक छ । व्यापार घाटामा छ । व्यापार घाटालाई न्यून गर्नका लागि तेस्रो पञ्चवर्षीय योजनादेखि व्यापारमा विविधीकरणको नीति अवलम्बन गरिए पनि व्यापार घाटामै छ । भएका उद्योग र संस्थानहरू धराशयी भए । रोजगारको अवस्था लगभग शून्यको अवस्थामा छ । युवा श्रमशक्ति विदेशिएको छ । गाउँमा युवाको शिलो पनि भेटिंदैन । वृद्धवृद्धा र बाँझो धरती नेपालको कठोर नियति बन्दै गएको अवस्थामा आर्थिक वृद्धिदरको जुन कुरा घोषणापत्रमा उल्लिखित छन् त्यो पूरा हुन सक्ने आधार के छन् ? दल आफैँ स्पष्ट छैनन् । रेमिट्यान्सले धानेको छ देशको अर्थतन्त्र भनेर विज्ञहरूले भन्ने गरेको पाइन्छ । भइराखेको जनकपुर–जयनगर रेलको दुरावस्थामा सुधार आउन सकेको छैन । त्यसैले घोषणापत्रमा देखाइएका दिवा सपनामा भन्दा असल उम्मेदवार छान्नु दोस्रो चरणको निर्वाचनमा सहभागी हुने मतदाताको विवेकयुक्त निर्णय हुनसक्छ ।
फेरि नेपाली जनताको धेरै ठूलो आकांक्षा पनि छैन, उनीहरू सबैको साझा माग भनेको शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षा नै हो । प्रजातन्त्र र समाजवादमा विश्वास राख्ने लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्ने कांग्रेस र माक्र्सवादको ज्ञाता तथा अनुयायी वाम गठबन्धनले बिपी र माक्र्स परिवारले क्रमशः भोगेको जीवन त्यो क्षण पढेको छ वा छैन त्यो त थाहा भएन । त्यसैले स्मरणकै लागि पनि उल्लेख गर्नु समय सान्दर्भिक पनि छ । बिपी भन्छन्, “हैजा भयो महामारीको रूपमा, पिताजी केही काम पाइन्छ कि भनेर जयनगर आउनुभएको थियो, बेतियाबाट । हरिहर, मेरो भाइलाई हैजा लाग्यो । ओखती गर्न पाइएन र हैजाबाटै उसको मृत्यु भयो । मृत्यु भएपछि उसलाई घाट लैजाने उपाय थिएन । कात्रो किन्ने पैसा थिएन, लकडी किन्ने पैसा थिएन । सब स्तब्ध थिए । आमाले एउटा चिठी लेख्नुभो छिमेकीमा बस्ने एउटा नेपाली आइमाईलाई, जो एउटा हिन्दुस्थानीसँग विवाह गरेर बसेकी थिइन्, यस्तो प¥यो अलिकति रुपियाँ पठाइदिनु प¥यो छोराको लास उठाउन पाइएन भनेर । ऊ र उनको दुलहा आए, कात्रो किनियो, लकडीहरू किनियो र दाहसंस्कार भयो” (आत्मवृत्तान्त) ।
सन् १८४९ माक्र्स दम्पत्तीको चौथो सन्तान गेडो जन्मिएको थियो । उसको बारेमा जेनीले लेखेकी छन्, “बिचरा सानो बच्चा यति तकलिफ र चिन्तामा पालियो कि जसले गर्दा सधैँ बिमारी परिरहन्थ्यो । जहिलेदेखि संसारमा आयो एकदिन पनि रातमा राम्ररी निदाउन पाएन । सुत्यो भने पनि दुई या तीन घन्टा बढी होइन । जन्मेको १ वर्षमा बित्यो । ऊ गरिबीमा नै बलिदान भयो (राहुल सास्कृत्यान, काल माक्र्स) ।
समाजमा घट्ने जीवनका पक्षको उजागर बिपी र माक्र्स परिवारका घटनाले गर्छ । त्यस्तो पक्षलाई सम्बोधन गर्ने लागत र सामथ्र्य निर्वाचनबाट विजयी पक्षहरूले राखे भने सार्थक अर्थ हुनेछ, होइन भने कान्छीको सपनाको प्रारूपमा नै आगामी भविष्यको टुंग्याउनी हुनेछ ।

प्रकाशित: १९ मंसिर २०७४ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App