८ वैशाख २०८१ शनिबार
समाज

थलिएका प्रजातन्त्र सेनानी राईलाई ५४ हजार सहयोग

खोटाङ– दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली राईको उपचारका लागि ५४ हजारभन्दा बढी रकम संकलन भएको छ। हाल सुनसरीको प्रकाशपुर–८ मा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका प्रजातन्त्र सेनानी राईको उपचार सहयोगका लागि खोटाङका राजनैतिक दलको पहलमा शुक्रबार ५४ हजार ११८ रुपैयाँ रकम संकलन भएको हो।

दम र फोक्सोमा भएको समस्यका कारण दुई वर्षदेखि ओछ्यानमा थलिएका राईको सहयोगका लागि शान्ति समितिका पुर्वसंयोजक ललितकुमार राई संयोजकत्वको सहयोग समितिले उपचार खर्च संकलन सुरु गरेको हो। शान्ति समितिको कार्यालयमा भएको भेलाबाट कांग्रेसले १५ हजार, एमालेले १० हजार, नेकपा माओबादी केन्द्रले ५ हजार, राप्रपा नेपालले एक हजार ५१५, राप्रपाले ५ हजार ५ सय, संघीय समाजबादी फोरले ५ हजार, नेकपा मालेले ५ हजार, नेकपा माओबादी क्रान्तीकारीले एक हजार ५५०, नयाँ शक्तीले एक हजार ५५० सहयोग गरेका छन्। यस्तै, शान्ति समितिका कार्यालय सचिव दिनेश घिमिरेले २ हजार र नासु रमेश पोखरेलले २ हजार सहयोग गरेको सहयोग समितिका संयोजक राईले बताए। संकलन गरिएको रकम राष्ट्रिय बाणिज्य बैंक दिक्तेलमा खोलिएको चल्ती हिसाव नम्बर ५३५८ मा जम्मा गर्ने र रुम्दालीलाई पठाइने छ। रुम्दालीको सघाउमा जिविस, नगरपालिका, गाविस, संघसंस्था तथा व्यक्ति समक्ष आग्रह गरिएको संयोजक राईको भनाइ छ।

निष्ठाबान राजनितिज्ञका रुपमा परिचित रुम्दालीप्रतिको सहानुभूति र शुभेच्छा स्वरुप खोटाङका नेताहरु उनको उपचारमा एकजुट भएर लागीपरेका हुन्। एउटा निष्ठाबान राजनीतिज्ञको जीवनको उत्तराद्र्धमा रुम्दालीको नियती आइपर्दा सहयोग गर्ने परम्पराको बिकासकालागि समेत नेताहरु रुम्दाली सघाउ अभियानमा जुटेका हुन् । योद्धा बलबहादुर खोटाङका सबैको साझा व्यक्तीत्व भएकाले र मानवीय नाताले उनको स्वास्थ्यपचारमा सबै लाग्नुपर्नेमा दलहरु एकजुट भएको संयोजक राईले जनाए।

‘हामी पनि राजनीति गर्ने हो, पछि हाम्रो अवस्था पनि बलबहादुरकै जस्तो हुन सक्छ,’ राईले भने, ‘अहिले अरुलाई सहयोग गरे पछि त्यस्तै अवस्थामा हामीले पनि सहयोग पाउन सक्छौँ।’ २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाइँमा मोर्चा सम्हालेका रुम्दालीले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रह देखि २०४६ सालको प्रजातन्त्र स्थापनामा समेत जीवन समर्पण गरेका थिए। २०४९ सालतिर कांग्रेस खोटाङका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आम निर्वाचन र २०५१ सालको मध्यवधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बने पनि पराजित भएका थिए।

स्वास्थ्यमा समस्या आइरहने भएकाले रुम्दालीलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने बाध्यता छ । बृद्ध अवस्थामा पुगेका उनको उपचारमै मासिक दश हजार खर्च सकिने गरेको छ । बलबहादुरको फोक्सो ‘ड्यामेज’ हुन लागेकाले दैनिक औषधिकाभरमा बचाइएको ज्वाईँ भवानीशंकरले बताए । उनलाई केही हप्ता अघि मात्र उपचार गरेर घर ल्याइएको छ ।

इटहरी पुगेकोबेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले खोटाङका अध्यक्ष बबी चामलिङलगायतले योद्धा बलबहादुरको जीवन बचाउ र सम्मानमा सहयोग जुटाउने वाताबरण बनाउन शान्ति समिति समक्ष प्रस्ताब गरेको केही दिनमै सहयोग समिति बनाइएको हो। रुम्दालीको सहयोगमा समिति बनाउने बहस चलाइएसँगै कांग्रेस खोटाङले काठ्माण्डौंमा ९६ हजार ६ सय रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये ७२ हजार रकम प्राप्त भएको रुम्दालीका ज्वाई भवानीशंकरले बताए । त्यसभन्दा अघि रुम्दालीको सहयोगमा २५ हजार पठाइएको कांग्रेस नेता बीरकाजी राईले बताए।

घरमा भेट्न पुगेका शुभेच्छुकसँग कुराकानी गर्दै बृद्धअवस्थाका प्रजातन्त्र सेनानी रुम्दाली।

प्रकाशित: २१ श्रावण २०७३ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App