काठमाडौं- हुवाइ नोभा–२ आई इम्पेक्ट ठमेल खुला टेबल टेनिसमा सुपर लिग खेल्ने खेलाडीको टुङ्गो लागेको छ । नेपाली टेबल टेनिसमा सर्वाधिक राशिको प्रतियोगितामा सोमबार १२ पुरुष र ९ महिला खेलाडीले सुपर लिग खेल्ने पक्का भएको हो ।
महिलातर्फ समूह ‘ए’ बाट नेपाल आर्मी क्लबकी दीक्षा तामाङ पहिलो, नेपाल प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ दोस्रो तथा नेपाल एपीएफ क्लबकी सिक्का सुवाल तेस्रो हुँदै सुपर लिगमा प्रवेश गरे ।
६ खेलाडी सहभागी यो समूहमा दीक्षाले शतप्रतिशत जित निकालिन् । नविताले ४ जित र १ हारको सामना गरिन् । सोमबारको खेलमा दीक्षाले नवितालाई ३–१ को सेटमा पराजित गरेकी थिइन् ।
समूह ‘बी’ बाट एपिएफकी सेलिशा खड्गी, आर्मीकी रविना महर्जन र प्रहरीकी सोनु थापा मगर तथा समूह ‘सी’ बाट आर्मीकी स्वेच्छा नेम्वाङ, प्रहरीकी एलिना महर्जन र प्रहरीकी यशस्वी सुवाल सुपर लिगलाई चयन भए ।
पुरुषतर्फ समूह ‘ए’ बाट एपिएफका विलोश श्रेष्ठ र प्रहरीका विनेश खनियाँ, समूह ‘बी’ बाट एपिएफका शिवसुन्दर गोथे र आर्मीका चन्दन शाही तथा समूह ‘सी’ बाट एपिएफका अमरलाल मल्ल र आर्मीका नारायण घिमिरे सुपर लिगमा स्थान बनाउन सफल भए ।
समूह ‘डी’ बाट एपिएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका, समूह ‘इ’ बाट राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठ र आर्मीका कृष्ण थापा मगर तथा समूह ‘एफ’ बाट प्रहरीका दीप साउन र भक्तपुरका राजीव चिकन्बन्जारले सुपर लिगमा प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
प्रकाशित: १९ मंसिर २०७४ ०३:२६ मंगलबार