४ वैशाख २०८१ मंगलबार
अर्थ

इजरायलको रोजगारी संकटमा

काठमाडौं- पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको केयरगिभर संकटमा परेको छ ।
दुई वर्षअघि श्रम तथा रोजगार मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभरका लागि पछिल्लो समयमा इजरायलबाटै कामदारको माग आउन छोडेपछि संकटमा परेको हो ।
इजरायलमा बालबालिका तथा वृद्धवृद्धाको रेखदेख र स्याहारसुसारका लागि दुई वर्षभित्र तीन सय केयरगिभर पठाउन त्यतिखेर नेपाल र इजरायल सरकारबीच सम्झौता भएको थियो । जिटुजी (दुबै देशका सरकारी निकायको माध्यम)ं प्रक्रियाद्वारा मात्र कामदार पठाउने सहमति भएकाले कैयौंले सहज तरिकाले इजरायल जान पाइने अपेक्षा गरेका थिए ।
इजरायल सरकारले केयरगिभरका लागि चारवर्षे १० महिनाको भिसा उपलब्ध गराउनुको साथै मासिक सवा लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक उपलब्ध गराउने सहमतिसमेत गरेको थियो । इजरायलमा मानव अधिकारको पनि राम्रो पालना हुने भएकाले कामदारले बसाइ र काम गर्न सहज मान्ने गर्छन् । एकातिर राम्रो पारिश्रमिक र अर्कोतर्फ सुरक्षित बसाइको ग्यारेन्टी गरिएकाले इजरायलमा केयरगिभरको काम गर्न नर्सिङ, अनमी, अहेब जस्ता विषय उत्तीर्ण गरेका युवायुवतीको बर्चस्व रहेको थियो । जबकि केयरगिभरका लागि त्यस सम्बन्धी तीन महिने तालिम लिएकालाई योग्य मानिने दुबै देशबीचको सहमतिमा उल्लेख छ ।
वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि दुई वर्षको बीचमा दुई पटक इच्छुक युवायुवतीसँग आवेदन संकलन गरे पनि दोस्रो चरणमा सफल भएकाहरू अझै इजरायल जान पाएका छैनन् । जबकि दोस्रो चरणमा सफल भएकाहरू इजरायल पुगिसक्नुपर्ने अवधि गुज्रिसकेको  छ । विभागका निर्देशक मोहन अधिकारीले दोस्रो चरणमा सफल भएका ६० जनामध्ये हालसम्म १८ जना मात्र इजरायल उड्न पाएको बताए ।
‘पाइलट प्रोजेक्ट’ को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार गत सेप्टेम्बरसम्म एक सय २० जना इजरायल उडिसक्ने  कार्ययोजना बनाइएको थियो । ‘उता (इजरायल) बाट माग आएको भए छनोट भएका सबै इजरायल पुगेर कमाउन थालिसकेका हुन्थे,’ अधिकारीले भने, ‘तर, पछिल्लो समयमा इजरायलबाट कामदारको माग नै आउन सकेको छैन ।’ तोकिएको अवधिसम्म जान नपाएकाको दिनदिनैको भनसुनले विभागका कर्मचारी हैरान भएको गुनासो छ ।
विभाग स्रोतका अनुसार नेपालका मेनपावरको अवरोधका कारण इजरायलबाट कामदारको माग आउन नसकेको हो । विभागका एक कर्मचारीले भने, ‘इजरायलमा ठूलो संख्यामा केयरगिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका मेनपावरको प्रलोभनमा परेर माग नपठाएका हुन् ।’
केही वर्षअघिसम्म मेनपावरले नै कामदार पठाउने इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जिटुजी प्रक्रियाद्वारा मात्र केयरगिभर लैजाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय युवायुवतीलाई केयरगिभरका लागि इजरायल लैजाने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो  ।
उक्त कार्यक्रम अनुसार अघिल्लो वर्ष पहिलो चरणमा ५९ जना केयरगिभरको काम गर्न इजरायल उडिसकेका छन् । त्यहाँ गएका सबैले राम्रो क्षमता देखाएपछि ६ महिनाअघि विभागले दोस्रो चरणको कार्यक्रम थालेको थियो । विभागले दरखास्त संकलन गरी लिखित र प्रयोगात्मक परीक्षा लिएर सबै प्रक्रिया समयमै पूरा गरेको निर्देशक अधिकारीले बताए ।
‘दोस्रो चरणमा इजरायल उड्न विभागका तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी छैन,’ अधिकारीले भने, ‘तर उताबाट माग नआउँदा तयारी अवस्थामा रहेका कामदार पठाउन सकिएको छैन ।’ महिनामा सवा लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने र जाँदा (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँ भन्दा बढी खर्च नहुने भएकाले पछिल्लो समय नेपाली युवायुवतीले इजरायल रोजगारी निकै मन पराएका छन् । पहिलो चरणको केयरगिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेब, अनमी थिए ।
विभाग स्रोतका अनुसार कामदारका लागि निकै आकर्षक र सुरक्षित मानिएको केयरगिभरमा सरकारले नै पठाउन थालेपछि मेनपावर सञ्चालक आत्तिएका हुन् । विभागका कर्मचारीका अनुसार ‘पाइलट प्रोजेक्ट’ सुरु हुँदा नै सरकारी तवरबाट सुरु गरिएको काम आफैं सुरु गर्ने प्रयास गरेका मेनपावरले नेपालमा गरेको प्रयास असफल भएपछि इजरायलमा छनोट भएका एजेन्टसँग सम्पर्क बढाएका हुन् ।
‘सुरुको सम्झौता अनुसार इजरायलका अधिकारीले त्यहाँ केयरगिभरको थुपै्र माग रहेको भनेका थिए,’ एक कर्मचारीले भने, ‘कार्यक्रम सुरु भएको अर्को वर्ष नै माग नआउनु मेनपावरको खेल हो ।’ इजरायल सरकारले त्यहाँ चारवटा एजेन्टलाई कामदार माग संकलन गर्ने जिम्मा दिएको बताइएको छ ।
मेनपवारले कामदारलाई इजरायल पठाउने हो भने ८–१० लाख रुपैयाँसम्म लिने तर सरकारी तवरबाट जाँदा एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने बताइन्छ । इजरायलबाट माग आउन छाडेपछि छानिएका व्यक्तिहरु चिन्तित भएका छन् । कतिपय भने अन्य काममा लाग्न थालेका छन् ।
विभागका निर्देशक अधिकारीका अनुसार केयरगिभरका लागि छानिएका एकजना सरकारी सेवामा प्रवेश गरिसकेका छन् भने अर्का एकजना रोजगारीका लागि युरोप गइसकेका छन् । जिटुजी प्रक्रियामा इजरायल जान पाइने भएपछि यतिखेर बजारमा करिब १० हजारले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ । पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष केयरगिभरका लागि छनोट भएका थिए ।
केयरगिभरको तालिम लिएका युवायुवती इजरायल कहिले खुल्ला र जान पाइएला भनेर पर्खेका छन् । कतिपयले इजरायल मोहमा हजारौं रुपैयाँ खर्च गरिसकेको गुनासो गरेका छन् । विभागका कर्मचारी भने इजरायलबाट माग आउन छाडेपछि अब केयरगिभरको आवेदन खुल्ने या नखुल्ने भन्नेबारे अहिले नै केही भन्न नसकिने बताउँछन् ।
कतिपय कामदार इजरायल रोजगारीमा संकट आउनुको कारण सुरुको चरणमा सरकारी निकायले चासो नदिनुलाई मान्छन् । इजरायलको रोजगारी पर्खिरहेकी सन्तोषी पन्थले सरकारद्वारा कोरिया पठाउने जस्तै प्रक्रिया थालेको भए अहिले समस्या नआउने अनुमान गर्छिन् । ‘अब पनि चाहने हो भने सरकारी निकायले कोरियाकै प्रक्रिया अवलम्बन गरी इजरायल रोजगारीलाई सहज बनाउन सक्छन्,’ उनले भनिन् । विभागले कोरिया कामदार पठाउनका लागि छुट्टै शाखा स्थापना गरेको छ भने इजरायल रोजगारीको हकमा छुट्टै शाखा स्थापना गरिएको छैन । छुट्टै शाखा स्थापना नगरिएका कारण विभागमा पटकपटक कर्मचारी सरुवा हुँदा इजरायल रोजगारी अलमलमा पर्ने गरेको छ ।

प्रकाशित: १९ मंसिर २०७४ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App