७ वैशाख २०८१ शुक्रबार
समाज

सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदानस्थल पुग्दै

उदयपु– दुई दिनपछि हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री र सुरक्षा जनशक्ति जिल्लाका सबै मतदानस्थलमा पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरिका ९८ मतदान केन्द्रका २ सय ३३ स्थानमा चुनावका लागि चाहिने सबै सामग्री सम्बन्धित मतदानस्थलमा पठाइसकिएको जनाएको छ ।

निर्वाचन अधिकारी एकबहादुर बस्नेतले ३ दिनअघि नै चुनावमा चाहिने मतपेटिका, डोरी, मतपत्र, लाहा, मैनवत्तिदेखि ब्लेटसम्मका सामग्री निर्वाचन अधिकृतको कार्यालयमार्फत ४ वटा नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहका मतदान केन्द्रमा पठाईसकेको बताए । उनका अनुसार सुरक्षा संबेदनसिलताका कारण सामग्री पठाउँदा विशेष सुरक्षा टोली अनिवार्य गरिएको छ ।

‘हामीले चुनावमा चाहिने सबै सामान ३ दिनअघि नै जिम्मा लगाइसकेका छौं,’ बस्नेतले भने, ‘सुरक्षा चुनौतिका कारण प्रहरी स्कर्टिङ गरी लाने व्यवस्था मिलाइएको छ ।’ मंगलबार साँझसम्म्मा सबै मतदानकेन्द्रमा सामग्री पुगिसक्ने उनले बताए । नजिक र यातायात सुविधा पुगेका कतिपय क्षेत्रमा चुनावी सामग्री पुगिसकेको भन्दै उनले दूरदराज र विकट केन्द्रहरुमा पनि भरियामार्फत सामान लाने काम भइरहेको जानकारी दिए ।

निर्वाचन कार्यालयले सबै केन्द्रमा आवश्यक जनशक्ति पनि यसअघि नै खटाइसकेको छ । मतदान अधिकृत, सहायक अधिकृत र सहयोगीसम्मका कर्मचारी गरी जिल्लाभरि १ हजार ८ सय ६६ जनशक्ति परिचालन गरिएको छ । एउटा केन्द्रमा ८ जनाका दरले जनशक्ति खटाइएको र २ केन्द्रमा ६ जनाका दरले खटाइएको बस्नेतले बताए । अधिकांश कर्मचारी सम्बन्धित क्षेत्रमा पुगेर निर्वाचनको तयारीमा लागिसकेको र बाँकी पनि मंगलबारभित्र पुग्ने कार्यालयले जनाएको छ ।

उदयपुरमा पछिल्लो समय सुरक्षा चुनौति बढेका कारण बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाभरि १ हजार म्यादीसहित १ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरी र म्यादी प्रहरीको ४ घेराभित्र मतदान सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उदयपुरमा १५ वटा केन्द्र अति संवेदनसिल, ५३ वटा संवेदनसिल र २० वटा सामान्य संवेदनसिल केन्द्र रहेको निश्कर्ष निकालेको छ । अति संवेदनसिल र संवेदनसिल केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा निकायले जनाएको छ । स्थानीय तहको चुनावमा ३५ वटा केन्द्र मात्र संवेदनसिल मानिएको जिल्लामा गएको सातादिनसम्म लगातार विष्फोटका घट्ना हुनुका साथै उम्मेदवार नै घाइते हुनेगरी एम्बुस विष्फोट भएपछि सुरक्षा चुनौति बढेको जिल्ला सुरक्षा निकायले जनाएको छ ।

विष्फोटका घट्ना हुनुअघि र पछि संलग्नताको आशंकामा नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८ र माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्षसहित ९ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । चुनावलाई भयरहित र स्वतन्त्र ढंगले सम्पन्न गर्न चुनावअघिसम्म उनीहरुलाई नियन्त्रणमै राखिने एसपी भट्टले बताएका छन् । 

प्रकाशित: १९ मंसिर २०७४ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App