८ वैशाख २०८१ शनिबार
राजनीति

मतदानस्थलमै सिकाइन्छ मत हाल्ने तरिका

प्रकाश सिलवाल

काठमाडौं—के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ? हुनुहुन्न भने चिन्ता नगर्नुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो।

निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाउनुका साथै ती कार्यकर्ताले मंसिर १९ र २० गते प्रत्येक मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसंकेत गर्न सिकाउने व्यवस्था मिलाएको छ। मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयंसेवक परिचालन गरिएको आयुक्त इला शर्माले बताए।

दोस्रोचरणका ४५ जिल्लामा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अन्य तयारी पूरा भए पनि मतदाताले हालेको मत बदर हुने हो कि भन्ने चिन्ता सबैजसो दललाई परेको देखिन्छ। आयोगले विभिन्न माध्यमबाट मतदाता शिक्षा कार्यक्रम जारी राखेको छ भने दलहरुले आफ्नो निर्वाचन प्रचारका क्रममा पनि मत हाल्ने तरिका बारे जानकारी दिँदै आएका छन्।

काठमाडौं क्षेत्र नं ४ स्थित बूढानीलकण्ठ नगरपालिका– १२ का ३० वर्षीय सन्तोष लुइँटेल आयोगका सूचनाबाट आफूले मत हाल्ने तरिकाबारे थाहा पाए पनि कतिपय ज्येष्ठ मतदातामा अन्योल हुनसक्ने बताउँछन्। मत हाल्न जान्दैनन् भन्ने नाममा उनीहरूको मत एकाघर वा इच्छाइएको व्यक्तिबाट हाल्न लगाउँदा दुरुपयोग हुनसक्ने चिन्ता लुइँटेलको छ।

कंलकी निवासी चन्द्रमा घिमिरे र अञ्जु भट्टराई भने कसरी मत हाल्ने भन्ने हालसम्म स्पष्ट नभएको बताउँछन्। उनीहरु मतदान केन्द्रमा पुगेर यसबारे बुझेर मत हाल्ने तयारीमा छन्। 

काठमाडौँ क्षेत्र नं ६ मा पर्ने मनमैजू निवासी २८ वर्षीय बबिता श्रेष्ठ घिमिरे मतदाता शिक्षाबारे अरुलाई पनि जानकारी गराउँदै सामाजिक कार्यकर्ता बनेर आज पनि हिँडिरहेकी छिन्। ‘यतातिर सबैजसोलाई मत हाल्ने तरिका बताइसकेका छौँ, सायद समस्या हुँदैन होला’, उनले भनिन्।

नेपालको संविधान २०७२ पछिको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्रको व्यवस्था गरिएका छन्। दुबै तहमा प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन्। प्रतिनिधिसभामा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र हुनेछ। दुबै मतपत्रमा आफूले रोजेको दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हमध्ये एक एकमा मत हाल्नुपर्छ। 

समानुपातिक प्रणालीतर्फ दुवै तहका लागि एउटै पृष्ठ (तल र माथि) मा सेतो रंगको पानामा रातो रङका चुनाव चिन्ह हुनेछन्। मतदाताले कुनै एउटा दलको निर्वाचन चिन्हमा एक-एक मत दिनेछन्।

मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्न आयोगले राष्ट्रिय सञ्चार माध्यमबाट सूचना वा सन्देशलाई निरन्तर रुपमा प्रवाह गर्दै आएको छ। आयोगले विभिन्न १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलमा समेत मतदाता शिक्षाबारे प्रशारण गराण गराउँदै आएको छ। 

यस्तै सडक नाटक, सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताए। दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ। रासस

प्रकाशित: १९ मंसिर २०७४ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App