८ वैशाख २०८१ शनिबार
खेल

नयाँ वर्षपछि रियालको नयाँ रूप

मड्रिड (एएफपी)– रियाल मड्रिडको कमजोर फर्मले निरन्तरता पाइरहनु अहिले स्पेनको राजधानीमा चासोको विषय बनेको छ । तर युरोपियन च्यम्पियनसिपको उपाधि रक्षा गर्ने विषयमा भने रियालको चुनौती दरिलो बन्न सक्छ, किनकि टोली नयाँ वर्षको आसपासबाट जहिले पनि नयाँ रूपमा प्रस्तुत हुने गर्छ । 

पछिल्ला वर्षहरूको नियमित प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डले बुधबार च्याम्पियन्स लिग समूह चरणको खेलका लागि पाँच वर्षमा पाँचौं पटक सान्टियागो बेर्नाबेउ भ्रमण गर्दै छ । समूह ‘एच’ बाट यसपालि रियाल टोटेनह्यामपछि उपविजेताका रूपमा नकआउट चरण पुग्ने पक्का भइसकेको छ भने जर्मन टोली डर्टमन्ड समूह चरणबाटै बाहिरिइसकेको छ । त्यसैले बुधबारको खेल नतिजाका लागि त्यति धेरै अर्थपूर्ण हुने छैन ।

दुई वर्षअघि पनि रियाल मध्यसिजनमा संघर्षरत अवस्थामा थियो । जसका कारण टोलीले जनवरीमा राफेल बेनिटेजलाई बर्खास्त गर्दै जिनेदिन जिदानलाई प्रशिक्षकको जिम्मेवारी दियो । जिम्मेवारी लिएको पाँच महिनामै जिदानले टोलीलाई च्याम्पियन्स लिगको उपाधि जिताए । गत सिजनमा पनि जिदानको टोली समूहबाट उपविजेताकै रूपमा माथि उक्लिएको थियो ।  त्यति बेला डर्टमन्ड विजेताका रूपमा नकआउट चरण पुगेको थियो । तर जिदानको टोलीले ऐतिहासिक यात्राका साथ च्याम्पियन्स लिगमा उपाधि रक्षा गरेको थियो ।

यसपालि पनि रियालका लागि हिउँद सुखद बन्न सकिरहेको छैन । शनिबार एथलेटिक बिलबाउमा गोलरहित बराबरी नतिजामा चित्त बुझाउनुपरेपछि रियाल स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाभन्दा ८ अंकले पछि छ । जारी सिजनमा १४ खेल सकिँदा टोली ६ पटक विजयरहित बन्नुपरेको छ ।

आक्रमणमा धार भुत्तिँदा स्पेनिस महारथीले यसपालि संघर्ष गर्नुपरेको हो । क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाजस्ता फरवार्डले ला लिगामा चार गोल मात्र गर्न सकेका छन् भने शृंखलाबद्ध चोटका कारण गारेथ बेल सिजनको अधिकांश समय आराममा छन् । तर च्याम्पियन्स लिगमा भने कथा फरक छ । पाँच खेलमा ८ गोल गरेका रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् ।

रियालसँगको ९ सिजनमा बेन्जेमाले पनि युरोपेली प्रतियोगितामा आफूलाई सफल स्ट्राइकरका रूपमा स्थापित गरेका छन् । दुई साताअघि एपोइल निकोसियामाथि ६–० को जित हासिल गर्दा दुई गोल गरेपछि उनी प्रतियोगिताको इतिहासमै सबभन्दा बढी गोल गर्ने सर्बकालीन उच्च स्कोररहरूको सूचीमा पाँचौं स्थानमा पुगेका छन् ।

घरेलु प्रतियोगितामा कमजोर भएका बेला च्याम्पियन्स लिगमा भने टोली डटेर प्रस्तुत भएको इतिहास छ । गत सिजनमा ५९ वर्षपछि ला लिगाका साथै च्याम्पियन्स लिगमा उपाधि जितेको टोलीले यस्तो सफलता हासिल गरेको थियो । च्याम्पियन्स लिग (पहिलाको युरोपियन कप) इतिहासमा सबभन्दा बढी १२ पटक जित्न सफल टोली रियाल मड्रिड हो ।

जिदानसँग यसपालि गत सिजनको जस्तो बलियो टोली नभएको अनुभव गर्न थालिएको छ । गत महिना टोटेनह्यामसँग समूह चरणको खेलमा पराजित भएपछि रोनाल्डो स्वयम्ले पनि त्यसलाई स्विकारेका थिए । समूह चरणमा रियालले पराजय भोगेको यो पाँच वर्षमा पहिलो पटक थियो । अल्भारो मोराटा, हामेस रोडरिग्वेज र पेपेजस्ता गत सिजनका सफल खेलाडीहरू यसपालि अन्यत्रै लागेपछि रियालको वर्तमान टोलीमा अनुभवको अभाव खटकिइरहेको छ ।

जिदानले अझैसम्म यसपालि भिœयाएका थियो हर्नान्डेज, ड्यानी केबालेस र जिसस भालेजोमाथि पूरा भर गर्न नसक्दा टोलीमा विकल्पको कमी पनि प्रस्ट भएको छ । तथापि जिदानले भने प्रदर्शन उस्तै भएको दाबी गरेका छन्। उनले विपक्षी पोस्टमा फरवार्डहरूबाट फाइनल टच भने राम्रो हुन नसकेको बताएका छन् ।

‘गत सिजनमा हामीले अन्तिम मिनेटमा गोल गरिरहेका थियौं, यसपालि त्यस्तो हुन सकेको छैन,’ जिदानले शनिबार भने । गत सिजन यो समयमा सिजनको सुस्त सुरुआतका कारण रोनाल्डोमाथि पनि प्रश्न उठेका थिए । तर क्वार्टरफाइनलदेखि मात्र उनले १० गोल गरेर टोलीको उपाधि रक्षा अभियान सफल पारेका थिए ।

मार्सेलो, लुका मोडरिच र टोनी क्रुसजस्ता टिमका प्रभावशाली खेलाडीहरू पनि जिदानको च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने अभियानमा उच्च फर्ममा फर्कनु जरुरी छ । अन्यथा उनीहरूको पनि कम प्रयोग हुन सक्छ । नयाँ वर्षसम्ममा बेल पूर्ण रूपमा फिट भएर मैदान फर्किने जिदानको अपेक्षा छ ।

‘रियालले सधैं पुनरागमन गर्छ । विगतमा हामीले यो प्रमाणित गरिसकेका छौं, यसपालि पनि पुनरागमन गर्नेमा हामी विश्वस्त छौं,’ रियालका कप्तान सर्जियो रामोसले टोटेनह्यामसँग पराजित हुनेबित्तिकै भनेका थिए ।

उपाधिको दौडमा भने यसपालि उच्च फर्ममा रहेका पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर सिटीले आफूलाई सबभन्दा बलियो दाबेदारका रूपमा उभ्याएका छन् । पाँच चरणसम्म शतप्रतिशत नतिजायात्रालाई निरन्तरता दिन पिएसजी र सिटी सफल भएका छन् । तर रियालले छविअनुसार नकआउट चरणमा पुनरामगन गरेमा भने जिदानको टोलीसँग लगातार तेस्रो पटक युरोपको च्याम्पियन बन्ने क्षमता छ ।

अल्भारो मोराटा, हामेस रोडरिग्वेज र पेपेजस्ता गत सिजनका सफल खेलाडीहरू यसपालि अन्यत्रै लागेपछि रियालको वर्तमान टोलीमा अनुभवको अभाव खटकिइरहेको छ ।

 

प्रकाशित: २० मंसिर २०७४ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App