८ वैशाख २०८१ शनिबार
समाज

निर्वाचन विरोधी गतिविधि गर्ने  तीन भारतीय पक्राउ

राजविराज – दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। 

निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ। अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ। 

नेपाल–भारत सीमा नाका बन्द 

निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनाका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ। 

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहा नाकालगायत नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जानकारी दिए।
 
नाका बन्द भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनाका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ।

मतदातालाई ढुक्क भएर मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह गरे। जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ। 

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त रुपमा जाँच गरिरहेको उनले बताए। अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारसहित १५२ उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रकाशित: २० मंसिर २०७४ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App