coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहाल मतदाता पनि चितवन क्षेत्र नं. ३ कै

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार हुन आफ्नो पुरानो थलो चितवन क्षेत्र नं. ३ मात्रै फर्केका छैनन् मतदाता पनि सोही ठाउँका भएका छन् । यसअघि सम्पन्न तीनवटा निर्वाचनमा दाहालले हाल भरतपुर महानगरपालिकाको वडा नं. ४ मा पर्ने लक्ष्मी माविमा मतदान गर्दै आएका थिए । यो पटक उनी उम्मेदवार हुन चितवन आउनुका साथै मतदाता पनि भरतपुर महानगरपालिका वडा नं. १४ का भएका छन् । सो वडामा शिवनगर पर्छ ।

शिवनगर दाहाल हुर्के, बढेको र विद्यालय शिक्षा पुरा गरेको ठाउँ हो । दाहालको जन्म विस २०११ सालको मंसिर २६ मा कास्कीको ढिकर पोखरी लेवाडेमा भएको हो । उनको परिवार २०१९ सालमा बसाइ सरेर चितवनको शिवनगर आएको थियो ।हाल भरतपुर महानगरपालिकको वडा नं. १४ मा पर्ने शिवनगरकै नारायणी विद्यामन्दिर माविबाट प्रचण्डले विस २०२६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । अब दाहालले मतदान पनि सोही वडा नं. १४ को आधारभूत विद्यालय शान्तिपुरमा गर्नेछन् । वडा नं. १४ मा कुल चारवटा मतदान स्थलहरु रहने छन् । दाहालले मतदान गर्ने ठाउँमा ७६० पुरुष र ८२६ महिला गरेर कुल १५ सय ८६ मतदाता छन् । 

दाहालको मतादाता क्रम संख्या नम्बर १३८३१५७६ रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । दाहालको विस २०६४ सालको संविधान सभा सदस्य पदको पहिलो निर्वाचन, ७० सालको दोस्रो निर्वाचन र गत बैशाख १६ मा भएको स्थानीय तह निर्वाचनमा हाल भरतपुर–४ मा पर्ने लक्ष्मी मावि लंकू मतदान केन्द्रमा मतदान गरेका थिए । सो ठाउँ हाल क्षेत्र नं. २ मा पर्छ ।

स्थानीय निर्वाचनपछि मतदाता नामावलीबाट नाम सारपछि दाहाल उम्मेद्वार र मतदाता एकै क्षेत्रका भएका छन् । यसअघि मतदान चितवनमा गर्दै आए पनि दाहाल उम्मेदवार चितवन बाहिरबाट हुने गरेका थिए । पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनी रोल्पा र काठमाडौंबाट उठे । दुवै ठाउँबाट विजयी भए । दोस्रो चुनावमा उनी काठमाडौं र सिराहाबाट उठे । सिराहामा मात्रै विजयी भए । 

दाहालले मतदान गर्ने वडा चितवन क्षेत्र नं. ३ को प्रदेशसभाको दुई नम्बर क्षेत्रमा पर्छ । जहाँका उम्मेदवार गठबन्धनबाट गोलाकारभित्र हसियाँ हथौडा चिन्ह भएका माओवादी केन्द्रकै उम्मेदवार रामलाल महतो छन् । यसरी प्रत्यक्ष तर्फ दुवै ठाउँमा दाहालले आफ्नै पार्टीको चुनाब चिन्हमा छाप लगाउने भएका छन् । चुनाबी कार्यक्रमलाई आएका बेलामा बस्न दाहालले शिवनगरमै भाडामा घर लिएका छन् । 

प्रकाशित: २० मंसिर २०७४ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App