४ वैशाख २०८१ मंगलबार
राजनीति

मतदानपछि नेम्बाङले भने- 'खुसी व्यक्त गर्ने शब्द छैन'

इलाम- पूर्वसभामुख तथा इलाम क्षेत्र २ का प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभामा मतदान गरेपछि आफूलाई नयाँ संविधान बनेयता सबैभन्दा हर्ष लागेको बताएका छन् । उनले ४५ जिल्लामा उत्साहपूर्ण रूपले मतदान सुरु हुनु संविधान कार्यान्वयनको अभिन्न पाटो भएको भन्दै अब संविधान कार्यान्वयन पूर्णतातिर गएको बताए ।
    
‘लामो समयको मेहनत र परिश्रमपछि बनेको संविधानको नेतृत्व गरेको नाताले मलाई आज कति खुसी लागेको छ भन्ने शब्दबाट वर्णन गर्न सक्दिनँ,’ सदरमुकामको बालमन्दिर मतदान केन्द्र (ख) बाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग नेम्बाङले भने, ‘किनभने यो निर्वाचनबाट नेपाली जनताले ठूलो सफलता हासिल गरेका छन् ।’ अब संविधान ठोस कार्यान्वयनमा गएको भन्दै अब जनता अधिकारसम्पन्न भएको उनले बताए । ‘यो ऐतिहासिक दिनमा सबैलाई बधाई दिन्छु,’ संविधान जारी हुँदा संविधानसभाको अध्यक्षसमेत रहेका उनले भने ।

शान्ति–सुरक्षाको हकमा सरकारको भूमिकामा केही प्रश्न उठेपनि स्थानीय रूपमा भने शान्तिपूर्ण निर्वाचन नै भएको नेम्बाङले बताए । ऐतिहासिक र सफलतापूर्वक रूपमा निर्वाचन सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । ‘बम पड्किएको छ, धराप थापिएको छ, यो कसले र किन गर्दैछ भन्नेबारे सरकारले केही प्रतिक्रिया नदिनु आश्चर्यजनक छ,’ उनले भने, ‘तर, निर्वाचनलाई अब कसैले रोक्न सक्दैन ।’

प्रकाशित: २१ मंसिर २०७४ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App