७ वैशाख २०८१ शुक्रबार
राजनीति

क्रमसंख्याअनुसार नमिल्दा नाम खोज्न झन्झट

इलाम- बिहीबार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदातासूची र मतदातासँग रहेको फोटोसहितको मतदाता परिचयपत्रको क्रमसंख्या नमिल्दा नाम भेट्टाउन बढी समय लागिरहेको छ । मतदातासूचीको नाम वर्णानुक्रमअनुसार र मतदाता परिचयपत्र चाहिँ क्रमसंख्याका आधार भएकाले एकै मतदाताको नाम खोज्न पनि १० मिनेटसम्म लागेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।
    घन्टौं लाइनमा बसेर मतदान गर्ने स्थानसम्म पुगेका मतदाताले सूचीमा आफ्नो नाम खोज्न धेरै समय लगाउनुपरेको गुनासो गरेका छन् । ‘सूचीमा नाम खोज्दै झिँजो लाग्छ,’ सदरमुकामको बालमिन्दर विद्यालयमा मतदान गर्न आएका एक वृद्ध मतदाताले भने, ‘क्रमसंख्या नमिलेर नाम खोज्न १० मिनेटजति लागिसक्यो ।’
    नाम रुजु गर्न बसेका एजेन्टले पनि मतदानको नाम खोज्न ज्यादै झन्झटिलो भएको बताएका छन् । ‘यही केन्द्रमा खटेका इलाम नगरपालिका वडा ७ का वडासदस्य सञ्जीव राईले भने, ‘सूचीअनुसार क्रमसंख्या नमिलेकाले मतदाताको नाम सूचीमा भेट्न निकै समय लागिरहेको छ ।’ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता सूची र परिचयपत्रको क्रमसंख्या मिलाएको थियो । तर, पछि थपिएका मतदाता र मतदान केन्द्र स्थानान्तरण गर्ने मतदाताको नामका कारण क्रमसंख्या नमिलेको हो ।
    जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले मतदाताको नाम वर्णानुक्रमअनुसार सूचीमा हेर्नुपर्ने बताए । ‘परिचयपत्रको क्रमसंख्यासँग सूचीको नाम मेल खाँदैन,’ उनले भने, ‘आयोगले बनाएको सूची जिल्ला तहमा केही गर्न नसकिने भएकाले जस्ताको तस्तै राख्नुपरेको हो ।’ उनले नयाँ थपिएका मतदाताको परिचयपत्रमा त क्रमसंख्यासमेत नरहेको बताए ।

प्रकाशित: २१ मंसिर २०७४ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App