६ वैशाख २०८१ बिहीबार
समाज

प्रभावकारी भएन लैंगिकहिंसा विरुद्धका कदम

काठमााडौं – अफिस समय सुरु भए लगत्तै कालिमाटी प्रहरी चौकीको महिला सेलमा महिलाहरूको भीड लाग्यो । उनीहरू आफूमाथि भएका हिंसाका घटनाहरू उजुरी गर्न आएका थिए। आउनेमध्ये कोही भर्खरका थिए भने कोही अधवैंशे त कोही झन्डै वृद्ध उमेर हाराहारीका महिला थिए । एक दुई गर्दै करिब एक घण्टाको अवधिमा दश महिलाहरू श्रीमान्लगायतका पीडकहरूको उजुरी गर्न आइपुगे।

चौकीमा न्यायको लागि पुगेकी ६० वर्षीया मास्के थरकी एक महिला विगत २५ वर्र्षदेखि श्रीमान्को कुटपिटले पीडित हुँदै आएकी रहिछन् । श्रीमान्ले रक्सी खाएर सधैं कुटपिट गर्न थालेपछि असह्य भएर उनी प्रहरीमा उजुरी दिन आएकी थिइन् ।
३७ वर्षीया शाही थरकी अर्की महिला श्रीमान्बाटै कुटपिटको पीडा सहन नसकेर श्रीमान्विरुद्ध उजुरी दिन आएकी थिइन् । उनी विगत २० वर्षदेखि घरेलु हिंसाको सिकार हुँदै आएकी उनले प्रशरीसँग भनिन्, ‘मेरो १९ र १२ वर्षको दुई छोरा छन् । श्रीमान्को रवैयाले छोराहरूमा समेत नकारात्मक असर पर्दै गएको छ । म त मर्नु न बाँच्नुको अवस्थामा परें । अनि यहाँ उजुरी गर्न आएकी।’

यसैगरी अर्की हिंसापीडित २५ वर्षीया थापा थरकी महिलाले सेनाका जवानबाट यौनशोषण भएको गुनासो लिएर आएकी थिइन्।

अर्की एक महिला भने बिहेमा माइतीले दाइजो नदिएको निहुँमा श्रीमान् र घरपरिवारबाट पीडित बनाइएपछि न्याय पाउने आसमा उजुरी लिएर आएकी थिइन्।

उपर्युक्त घटना घरेलुहिंसाका छिटपुट घटना मात्र हुन् । प्रहरीको तथ्यांक हेर्दा देशमा महिलाहिंसाका घटना बढ्दै गइरहेका छन् । त्यसमा पनि जबरजस्ती करणीका घटनाहरू वृद्धि हुँदै गएको छ।

नेपालले विगत २६ वर्षदेखि महिलामाथि हुने हिंसाविरुद्धको अभियान मनाउँदै आएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ तारेखबाट सुरु हुने अभियान डिसेम्बर १० सम्म चल्छ । १६ दिने यस अभियानमा महिलाको क्षेत्रमा काम गर्ने सयौं संघसंस्थाहरू महिलाको हकका लागि वकालत गर्दै हिँड्छन्, तर पनि महिलाहिंसा भने कम हुन नसक्नुलाई दुर्भाग्य नै मान्नुपर्छ।

नेपाल प्रहरीले उपलब्ध गराएको महिला तथा बालबालिका सम्बन्धी त्रिवर्षीय अपराध तथ्यांकअनुसार विगत तीन वर्षमा महिलाहिंसाका घटना बढ्दै गएका छन् । प्रहरीमा महिलाहिंसा अन्तर्गत दर्ता हुने मानवबेचबिखन, बहुविवाह, बालविवाह, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अप्राकृतिक मैथुन, बोक्सी आरोप र घरेलुहिंसा गरी ८ प्रकारका महिलाहिंसाका घटनामा सबैभन्दा बढी जबरजस्ती करणीका घटना हुने गरेको देखिएको छ । साथै, बहुविवाह, जबरदस्ती करणी उद्योग, बहुविवाह र मानव वेचविखनका घटनामा महिलाहरू बढी हिंसामा पर्ने गरेका छन्।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ मा दर्ता भएका देशभरिका महिलाहिंसाका कुल २ हजार ३ सय ३१ कुल  घटनामा सबैभन्दा बढी घटना यो वर्ष जबरजस्ती करणीको रहेको छ । ९ सय ८१ उजुरीहरू जबरजस्ती करणीका रहेका छन्  । साथै, जबरजस्ती करणी उद्योगबाट पनि महिलाहरू हिंसामा परेको देखिएको छ । यो वर्ष यस किसिमका ५ सय ६२ घटनाको उजुरी परेको छ । महिला हिंसाविरुद्धको अर्को समस्या भनेको बहुविवाह हो । सो वर्ष ५ सय १८ बहुविवाहविरुद्धका उजुरी परेका थिए । यसैगरी मानव बेचविखनका १ सय ८१ मानव घटना दर्ता भएका थिए।

२०७२/७३ मा वर्ष महिला हिंसाका कुल २ हजार २ सय ९५ घटना दर्ता भएका थिए । जसमा १ हजार ९३ जबरदस्ती करणी, ४ सय ६५ बहुविवाह, ४ सय ५० जबरदस्ती करणी उद्योगको र मानव बेचविखनका २ सय १२ घटना दर्ता भएका थिए।

यसैगरी आर्थिक वर्ष ०७३/७४ मा भने महिला हिंसाका कुल २ हजार ४  सय ४१ घटना दर्ता भएका थिए । जसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीकै घटना थिए । सो वर्ष १ हजार १ सय ३९ जबरजस्ती करणी उजुरी दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगका ५ सय ३१, बहुविवाहमा ४ सय ६५ र मावनबेचबिखनका २ सय २७ उजुरी दर्ता भएका थिए।

प्रहरी प्रवक्ता डिआजी मनोज न्यौपानेले देशका सबै जिल्लामा महिला सेलको व्यवस्था गरिएकाले महिलामाथि हुने हिंसाका घटनाहरू उजुरीमा आइरहेको जनाए । उनले प्रहरी कार्यालयहरू महिला तथा बालबालिकामैत्री हँुदै गएकाले समस्याहरू बाहिर आउने भएकाले तथ्यांकमा हिंसाका घटना वृद्धि भएको देखिएको जनाए । ‘महिलाहिंसाका समस्या वृद्धि हुँदै गएको देखियो तर घटनाको कारण पत्ता लगाई न्यूनीकरण गर्नतर्फ कसैको ध्यान गएको छैन,’ प्रवक्ता न्यौपानेले नागरिकसँग भने, ‘महिला हिंसाका क्षेत्रमा थुप्रै गैरसरकारी संघसंस्थाहरू कार्यरत छन् तर पनि समस्या मात्र आउने तर न्यूनीकरणको उपायमा प्रभावकारी काम नहुने भएकाले महिला हिंसाका घटनाहरू बढ्दै गएका हुन् ।’ महिलाहरू जागरुक भएको र उजुरी गर्ने निकायमा उनीहरूको पहुँच बढेकाले हिंसाका मुद्दाहरू बढी दर्ता भएको उनले बताए।

यसैगरी आर्थिक वर्ष ०७४÷०७५ को साउनसम्मको तथ्यांक अनुसार कुल २ सय ७९ घटना रहेका छन् । यो वर्ष पनि घरेलुहिंसा शून्य दर्ता भए पनि जबरदस्ती करणीकै घटना सबैभन्दा बढी रहेको छ । १ सय ३१ महिलामाथि जबरदस्ती करणी भएको छ भने जबरदस्ती करणी उद्योग ६२ माहिलामाथि भएको छ । बहुविवाह भने ५१ र मानव बेचबिखनमा २४ महिला परेका छन् । यही वर्ष भदौ महिनामा मात्र कुल २ सय ८ महिलाहिंसाका घटना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी ९७ जबरदस्ती करणीका छन्।

यसै सन्दर्भमा ओरेक नेपालकी कोषाध्यक्ष पार्वती बस्नेतले महिलाहिंसाको मुख्य कारण महिलाहरूमा पीडित हुँदा कहाँ गएर सहयोग माग्ने भन्ने थाहा नपाएकाले भएको बताइन् । सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महिलाहरू आर्थिक र समाजिक रूपमा सक्षम हुँदै गए पनि घर परिवार र संस्थाबाटै समस्या झेल्नुपर्ने चुनौती रहेकाले पनि महिलाहिंसा न्यून हुन नसकेको बताइन् ।

सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले महिला हिंसाको मुख्य जड पत्ता लगाएर त्यसबारे निरन्तर रूपमा लागेर समास्याको समाधानतर्फ लागे मात्र न्यूनीकरण गर्न सकिने सुझाइन् । उनले महिलामाथि हुने हिंसाको मुख्य कारण पत्ता लगाएर अघि बढे मात्र परिवर्तन गर्न सकिने बताइन्।

‘अहिलेसम्म हामी संचारकर्मीहरूले पनि मुद्दा मात्र उठाउँदै आएका छौं,’ अध्यक्ष शर्मा भन्छिन्, ‘हिंसाको कारण के हो किन हुन्छ र कसरी समाधान गर्न सकिन्छ बारे कहिल्यै सोचेनौं । १६ दिन अभियानमा सहभागिता जनाएर मात्र महिलाहिंसा कम हँुदैन त्यसका लागि निराकरणको उपाय पत्ता लगाएर दोषीलाई सजाय दिलाए मात्र परिवर्तन हुन्छ।’ पीडितले समाजमा सम्मानजनक न्याय नपाएसम्म महिला हिंसा कम गर्ने काम चुनौतीपूर्ण रहेको उनले बताइन्।

प्रहरी प्रवक्ता न्यौपालनेले देशको सुदुरपश्चिमी क्षेत्रमा अझै विद्यमान छाउपडी प्रथाबारे पनि मुद्दा उठाएर निराकरणको प्रभावकारी प्रयास हुनपर्ने बताए । ‘सुदुरपश्चिमको छाउपडी प्रथा एक समाजिक कुरीति हो । त्यसलाई न्यूनीकरण गर्न पनि गैरसरकारी संस्थाहरू सक्रिय हुनुपर्छ,’ उनले भने । उनले विगतमा गाउँघरमा महिलाहिंसाका समस्याहरू मिलाउने प्रयास हुने गरेको तर हाल स्थानीय तहमा सहमति नहुने भएकाले पनि महिलाहिंसाका समस्या बाहिर आउन थालेको बताए।

नेपाल सरकारले लैंगिकहिंसा विरुद्धको कार्ययोजना, मापदण्ड, नीति तय गरी लैंगिकहिंसा अन्त्यका लागि काम गर्ने प्रयास गरिरहे पनि प्रभावकारी काम भने हुन सकेको छैन।

प्रकाशित: २१ मंसिर २०७४ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App