४ वैशाख २०८१ मंगलबार
राजनीति

युएईको राष्ट्रिय सेनामा नेपाली

काठमाडौं-• म ३२ वर्षको भएँ। नेपालको सशस्त्र प्रहरी बलमा सेवा गरेको १३ वर्ष भयो। सुरक्षासम्बन्धी विभिन्न तालिम लिएको छु। मसँग संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा काम गरेको अनुभव छ। कृपया मलाई सम्पर्क गरी युनाइटेड अरब इमिरेट्स (युएई) प्रहरीमा सेवा गर्ने अवसर दिनुहोला।

• म नेपाली सेनामा कार्यरत छु। नेपाली सेनामा सेवा गरेको १० वर्ष पुग्यो। म युएई आर्मीमा भर्ती हुन चाहन्छु। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पनि १५ महिना काम गरेको छु। कृपया युएई सेनामा भर्ती हुने सम्पूर्ण प्रक्रिया बताइदिए म आवेदन दिने थिएँ।

• म नेपाल प्रहरीमा कार्यरत छु। प्रहरीमा मेरो एक दशक लामो अनुभव छ। म युएई प्रहरीमा भर्ती हुन चाहन्छु। तपाईंलाई म सक्षम छु भन्ने लाग्छ भने इमेलमार्फत मलाई सम्पर्क गर्नुहोला।

• म पूर्व भारतीय सैनिक नेपाली हुँ। त्यहाँ २० वर्ष सेवा गरेँ। उमेर ३८ वर्ष भयो। कृपया मलाई युएई प्रहरीमा सेवा गर्ने मौका दिनुहोला।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको हुँदाखाँदाको जागिर छोडी युएई प्रहरी तथा सेनामा भर्ती हुन इच्छा देखाउनेका केही उदाहरण हुन् यी। युएई सरकारले प्रहरी तथा सेनामा विदेशीलाई पनि भर्ना लिने सूचना वेबसाइटमा प्रकाशित गरेपछि त्यसमा थुप्रैले प्रतिक्रिया जनाएका छन्। प्रतिक्रिया जनाउने ४ सयभन्दा बढीमा आधाजति संख्या नेपालीको छ। जागिरको जोखिमका कारण उनीहरूको नाम समाचारमा उल्लेख गरिएको छैन।

युएई प्रहरी तथा सेनामा भर्ती हुन अनुनय गर्ने धेरैजसो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत छन्। केही भारतीय सेनामा कार्यरत नेपाली पनि छन्। केही भने विभिन्न देशमा सुरक्षा गार्डमा कार्यरत नेपाली छन्।

नेपालभित्र विदेशी सुरक्षाफौजमा नेपाली प्रयोग हुन नहुने र गोर्खा भर्तीसमेत बन्द गरिनुपर्ने बहस चलिरहेका बेला युएईले भने आफ्नो सुरक्षाफौजमा नेपालीलाई भर्ना लिइरहेको छ। यसप्रति नेपाल सरकार बेखबर छ। परराष्ट्र मन्त्रालयका अनुसार युएईले अहिलेसम्म नेपाललाई औपचारिक रूपमा जानकारी गराएको छैन। वैदेशिक रोजगार विभाग पनि यस विषयमा बेखबर छ।

'युएईको सेना र प्रहरीमा नेपालीहरू सिधै भर्ती हुन गएको हामीलाई थाहा छैन। केही म्यानपावर एजेन्सीले सुरक्षा गार्डमा पठाउँछन् तर सिधै सेना र प्रहरीमा पठाउन मिल्दैन,' वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले नागरिकसँग भने।

युएईलगायत खाडी राष्ट्रमा रोजगारीमा जानेले विभागबाट श्रमस्वीकृति लिएपछि मात्र जान पाउने व्यवस्था छ। विभागले हालसम्म सिधै युएई सेना तथा प्रहरीमा रोजगारीका लागि एक जनालाई पनि स्वीकृति प्रदान गरेको छैन। तर, युएईको प्रहरी, जलसेना र स्थलसेनामा ठूलो संख्यामा नेपाली कार्यरत छन्। उनीहरू कसरी भर्ती भए, विभागलाई जानकारी छैन।

स्रोतका अनुसार युएई सेनामा ८ सय र प्रहरीमा ५ हजारभन्दा बढी नेपाली भर्ती भइसकेका छन्। दुईवर्षे करारमा राखिने उनीहरूलाई पुनः नवीकरण गर्ने गरिएको छ।

हुँदाखाँदाको जागिर छोडेर युएई प्रहरी र सेनामा भर्ती हुन नेपालीलाई केले आकर्षित गरेको छ त? 'मुख्य आकर्षण भनेको सेवासुविधा हो। मासिक झन्डै दुई लाख रुपैयाँ तलब हुन्छ। बस्ने–खाने पैसा तिर्नु पर्दैन,' सेनाको जागिर छाडी दुई वर्षअघि युएई सेनामा भर्ती भएका एक नेपालीले नाम उल्लेख नगर्ने सर्तमा भने, 'हप्तामा जम्मा ३ दिन ड्युटी गरे पुग्छ। बाँकी दिन बिदा पाइन्छ।'

युएईले विदेशीलाई सुरक्षाफौजमा भर्ती गर्ने निर्णय सन् २००३ मा गरेको थियो जुन सन् २००५ बाट कार्यान्वयनमा आएको थियो। 'नेपालीहरू युएई सुरक्षाफौजमा सन् २००६ बाट सहभागी भएको देखिन्छ,' युएईस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले भने, 'नेपालको जागिर छोडेर आउने बढी छन्।'

भारत, बेलायत र सिंगापुरपछि नेपाली नागरिकलाई आफ्नो सुरक्षाफौजमा भर्ती गर्नेमा पछिल्लोचोटि युएई थपिएको हो। भारतीय र बेलायती सेनामा नेपालीको भर्तीलाई लिएर नेपालभित्र ठूलो विवाद हुँदै आए पनि युएई भर्तीका विषयमा भने नेपाल सरकार र राजनीतिक दल बेखबर छन्। हाल बेलायती सेनामा ६ हजार, सिंगापुर प्रहरीमा करिब ४ सय, भारतीय सेनामा करिब ४० हजार र युएई सेना तथा प्रहरीमा करिब ५ हजार ७ सय ५० गरी झन्डै ५२ हजार नेपाली विदेशी सुरक्षाफौजमा कार्यरत छन्।

'यहाँ सेना–प्रहरीमा भर्ना हुनेले मासिक ५ देखि ६ हजार युएई दिराम तलब पाउने रहेछन्। यो भनेको १ लाख ४५ हजारदेखि १ लाख ७४ हजार रुपैयाँ हो। बस्ने–खाने राम्रो सुविधा, हप्तामा केही दिन मात्र काम गर्नुपर्ने भएकाले नेपाली जागिर छोडेर यहाँ आएको देखिन्छ,' टन्डनले भने।

उनका अनुसार नेपालमा प्रहरी र सैनिक सेवाबाट अवकाश लिएका व्यक्तिलाई युएईको सेना तथा प्रहरीमा भर्ती गर्ने एजेन्सीले प्राथमिकता दिने गरेका छन्। केही थप तालिम मात्र दिए पुग्ने भएकाले अवकाशप्राप्तलाई प्राथमिकतामा राखिएको हो।

युएई सेनामा भर्ती भएकाहरू समस्या लिएर त्यहाँस्थित नेपाली दूतावास आउन थालेका छन्। केहीको दुई वर्षपछि करारपत्र नवीकरण नभएकाले उनीहरू गुहार माग्न दूतावास पुगेका हुन्। 'अहिले युएई सेनामा कार्यरत २२ नेपालीको करारपत्र नवीकरण नभएपछि उहाँहरूमध्ये केही नवीकरणका लागि पहल गरिदिनुपर्‍यो भन्दै दूतावास आउनुभएको थियो,' टन्डनले भने। पछिल्ला दिन युएईले सेनामा नेपालीको संख्या घटाउँदै लगेको उनले जनाए।

प्रकाशित: २२ श्रावण २०७३ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App