७ वैशाख २०८१ शुक्रबार
समाज

कुन तेल खानु ठिक?

काठमाडौंको घट्टेकुलो निवासी सकिला पाण्डेको भान्सामा सधैं तोरीको तेल मगमगाउँथ्यो। उनी धेरैजसो परिकार तोरीको तेलमा पकाउँथिन्। तर पछिल्लो चार वर्षदेखि उनको रोजाइ बदलिएको छ। उनी अचेल तोरीको तेल होइन सूर्यमुखी वा भटमासको तेलमै खानेकुरा तयार पार्छिन्।

आफन्तकै सल्लाहमा उनले सूर्यमुखी तेल रोजेकी हुन्। कुन तेल सबैभन्दा स्वस्थकर हो भन्ने कुरा उनलाई थाहा छैन। तर, ४२ वर्षे उनलाई हालसम्म सूर्यमूखी तेलका कारण कुनै समस्या भएको अनुभव छैन।

काठमाडौंको चाबहिल बस्ने इन्दिरा ढुंगानाले भान्सामा तोरीको तेल नै प्रयोग गर्छिन्। 'धेरै वर्ष भइसक्यो तोरीको तेल खान थालेको। कहिलेकाहिँ तेल गुणस्तर मापन हुँदैन भन्दा चिन्ता त लाग्छ तर आफूलाई त्यस्तो केही समस्या परेको छैन,' उनी भन्छिन्। तोरीको तेलको जस्तो स्वाद अरु तेलमा नहुने तर्क उनको छ।

तेल हाम्रो भान्सामा नभई नहुने पदार्थ हो। दाल, तरकारी, अचारलगायत हामीले दैनिक रुपमा बनाउने जुनसुकै परिकारमा तेल अभिन्न अंग बनेको छ। बजारमा धेरै थरी तेल पाइन्छन्। तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल र जैतुनको तेल प्रायः हाम्रो भान्सामा प्रयोग हुने तेलहरु हुन्।

बजारमा विभिन्न थरीका तेलको उपस्थिति बढे पनि तोरीको तेलको प्रयोगमा कुनै कमी आएको छैन। यद्यपि समय समयमा तोरीको तेलमा अखाद्य वस्तुको मिश्रणका खबरहरु पनि आउने गरेका छन्।

काठमाडौंको ढुंगेधारा बस्ने शिवा शर्मा घिमिरेले दाङबाट आफ्नै बारीमा फलेको तोरी मिलमा पिसेर तेल काठमाडौं ल्याउने गर्छिन्। उनले लगभग दस वर्षदेखि नै तोरीकै तेल प्रयोग गर्दै आएकी छिन्। 'थोरै हाल्दा पनि चाहिने जति चिल्लो पदार्थ पाइन्छ। स्वाद पनि मिठो हुन्छ। त्यसमाथि आफ्नै बारीमा फलेको तोरीको तेलको स्वाद नै मिठो लाग्ने,' उनले भनिन्। अहिलेसम्म आफूले आफ्नै बारीमा उत्पादन भएको तोरीको तेल प्रयोग गर्ने भएकाले बजारमा पाइने कुनै तेल नकिनेको उनी बताउँछिन्।

खानामा पाइने मिठास एकातिर छ, तर तेलमा हुने तत्वहरु कति मानिसका लागि लाभदायक नहुन सक्छन्। त्यसमाथि बजारमा पाइने तेलमा मिसाइने अखाद्य वस्तुहरुले पनि स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेका हुन्छन्। त्यसो त, हाम्रो शरीरका लागि ए, डि, इ, के भिटामिन प्राप्त गर्न चिल्लो पदार्थ चाहिन्छ। त्यो चिल्लो पदार्थ हामीले खाने तेलबाट पूर्ति हुने गर्दछ।

कस्तो तेल प्रयोग गर्ने?

पोषणविद् डा. जया प्रधान शरीरको वृद्धि विकासका लागि चिल्लो पदार्थ अति आवश्यक पर्ने बताउँछिन्। तर वनस्पति स्रोतबाट प्राप्त चिल्लोको तुलनामा घिउ, नौनी, मासुको बोसोबाट पाउने चिल्लो अलि स्याचुरेट हुने भएकाले हामीले जुनसुकै किसिमको पनि भेजिटेबल तेललाई प्राथमिकतामा राख्नुपर्नेमा उनी जोड दिन्छिन्।

'स्याचुरेट फ्याट खान थाल्यौँ भने कोलस्ट्रोल बढाउने काम गर्छ। मुटुको समस्या पनि देखा पर्न सक्छ,' उनी भन्छिन्। त्यसैले, नौनी, घिउ, बोसो, सकेसम्म खानामा समावेश नगर्ने र तरल अवस्थामा रहने चिल्लो पदार्थ ठिक्क मात्रामा खानामा समावेश गर्नु स्वास्थ्यका लागि लाभदायक हुने उनी बताउँछिन्।

वीर अस्पतालका प्रमुख डाइटिसियन राजेश्वर पाण्डे चिल्लोको नाममा घिउ वा तेलमा तारेर भुटेर स्याचुरेटेड फ्याटहरु खान नहुने बताउँछन्। काँचो अवस्थामा खाली शुद्ध तेल खानु स्वास्थ्यका लागि राम्रो हुने उनी बताउँछन्। 'मेथी र ज्वानो परर्र पड्काएर होइन। राम्रोसँग तरकारी उसिनेर उमालेर बफाएर त्यसमाथि तेल राखेर खानुपर्छ,' उनी भन्छन्। तेलको बारेमा राम्रोसँग बुझेर गुणस्तरमा ध्यान दिएर मात्र प्रयोग गर्नुपर्नेमा उनी जोड दिन्छन्।

तेल कति र कसरी प्रयोग गर्ने?

डा. प्रधान कुन खाना पकाइन लागेको भन्ने कुराले तेलको मात्रा निर्धारण गर्ने बताउँछिन्। दैनिक रुपमा मानिसलाई चाहिने शक्तिको २५ देखि ३० प्रतिशत क्यालोरी चिल्लो पदार्थबाट पूर्ति हुने गरी खानुपर्ने उनी बताउँछिन्। त्यसमा पनि स्याचुरेटेड फ्याटको मात्रा १० प्रतिशतभन्दा बढी हुन नहुनेमा उनको जोड छ। फ्राई गरेको खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्ता खानेकुराबाट टाढा रहन उनी सुझाउँछिन्। 'अझ स्वास्थ्यको समस्या छ भने थप सजक हुनुपर्छ,' प्रधान भन्छिन्। सकेसम्म काँचो तेल नै खानुपर्नेमा उनी पनि जोड दिन्छिन्।

हामीले घरमै बनाउने तोरीको तेल राम्रो र शुद्ध हुने भए पनि स्वास्थ्यका लागि भने आलस, मकैलगायतका बनस्पति तेल लाभदायक हुने पाण्डे बताउँछन्। मखन भिटामिन ए र बीको राम्रो स्रोत भए पनि त्यो अन्य स्रोतबाट पाइने भएकाले ठूलो उमेरका मानिसलाई मखन पनि नखान उनी सुझाउँछन्।

'बढ्दो उमेरका बालबालिकालाई भने अलिकति मख्खन राखेर दिन सक्छौं। तर यसो गर्दा तताएर हैन मलेर दिनुपर्छ,' पाण्डे भन्छन्। वनस्पति तेल पनि नतताई प्रयोग गर्न उनी सल्लाह दिन्छन्। तताएर धुँवा निकालेपछि त्यसमा भएको पौष्टिक तत्व नाश हुने र शरीरका लागि खराब हुने उनी बताउँछन्। तेललाई पानीमा उमालेर वा तरकारीमा पछि तेल हालेर खानु सबैभन्दा राम्रो हुने उनको सल्लाह छ।

बिरामीले बार्नुपर्ने तेल

मुटुको बिरामी र कलेजोको समस्या भएका मानिसहरु चिल्लो पदार्थबाट टाढा रहनुपर्ने सुझाव डा. प्रधान दिन्छिन्। मधुमेहका बिरामीहरु तेलबाट टाढा रहनु नपरे पनि एउटा सीमामा सीमित हुनुपर्नेमा उनी जोड दिन्छिन्। उनीहरुले पनि वनस्पति तेललाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ। 

पाण्डे पनि मुटुका बिरामीलाई चिल्लोबाट टाढा रहन सुझाव दिन्छन्। त्यसबाहेक, चिकित्सकको सल्लाहअनुसार अन्य रोगका बिरामीहरुले तेल र चिल्लो पदार्थ बार्नुपर्ने उनी बताउँछन्।

बजारका तेल

बजारमा विभिन्न खालका तेलहरु पाइन्छन्। स्वदेशमा बनेकादेखि लिएर आयातित, सस्तो मूल्यदेखि महँगो मूल्यसम्मका तेलहरु पसलहरुमा पाइन्छ। तर समयसमयमा बजारमा अशुद्ध र अखाद्य तेल भएका खबरहरु पनि सुनिन्छन्।

त्यसमाथि विभिन्न नाममा आउने गरेका विज्ञापनले पनि तेलप्रति आकर्षित गराइरहेको हुन्छ। तेलमा के मिसाएको छ वा कस्तो मिसाएको छ भनेर नाँगो आँखाले हेर्न नसकिने भएकाले तेल प्रयोग गर्ने बेलामा सचेत हुनुपर्नेमा पाण्डे जोड दिन्छन्। 'तर सकेसम्म आलसको तेल, जैतुनको तेल, तोरी, रायो हो भने बुझेर खानुपर्छ,' उनी भन्छन्।

तेल किन्ने बेलामा सचेत हुन डा. प्रधानको सल्लाह छ। मिसावट भएका तेलहरु चाँडै बिग्रिने सम्भावना हुने भएकाले उपभोक्ताले किन्ने बेलामै ध्यान दिनुपर्ने उनी बताउँछिन्। उनका अनुसार तोरीको तेल र भटमासको तेल प्रयोग गर्नु राम्रो हुन्छ।

प्रकाशित: २२ श्रावण २०७३ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App