८ वैशाख २०८१ शनिबार
राजनीति

चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

चितवन – चितवनका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र गरी सबै नौ निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरू अगाडि छन् । धेरैले चासो दिएको चितवन क्षेत्र नं. ३ मा वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेभन्दा चार हजार बढी मतले अगाडि छन् ।

कूल मतदाता एक लाख २५ हजार ८२३ रहेको चितवन क्षेत्र नं. ३ मा ९३ हजार ८२६ मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार आइतबार बिहानसम्म सो क्षेत्रमा गणना भएको मध्ये २५ हजार ६८३ सदरमतमा पुष्पकमल दाहालको १४ हजार ५८९ मत आएको छ । काँग्रेसको समर्थन रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले १० हजार २४० मत ल्याएका छन्।

चितवन क्षेत्र नं. ३ को दुवै प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । क्षेत्र नं. ३ को प्रदेश १ मा एमालेका उम्मेदवार कृष्ण भुर्तेलको १३ हजार ५८ मत आएको छ । अर्का उम्मेदवार नेपाली काँग्रेसका दिनेश कोइरलाको ११ हजार ९२३ मत आएको छ । त्यस्तै सो क्षेत्रको प्रदेश २ मा माओवादी केन्द्रका रामलाल महतोले १४ हजार ७७ मत ल्याएका छन् भने नेपाली काँग्रेसका साजन महतोको ८ हजार ४१४ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

चितवनको क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा एमालेका सुरेन्द्र पाण्डे अगाडि छन् । पाण्डेको १६ हजार १६१ मत आएको छ । नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीको ११ हजार ८४४ मत आएको छ । प्रदेश सभा १ मा एमालेका दावा दोर्जे लामाको १७ हजार ६८७ र नेपाली काँग्रेसका धनबहादुर गुरुङको १२ हजार ४२७ मत आएको छ । त्यस्तै प्रदेश सभा २ मा एमालेका कृष्ण खनालको २० हजार ३५७ र काँग्रेसका उत्तम आचार्यको १४ हजार १६८ मत आएको छ।

चितवन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा एमालेकै कृष्णभक्त पोखरेल अगाडि छन् । उनले १९ हजार ७५४ मत ल्याएका छन् । नेपाली काँग्रेसका शेषनाथ अधिकारीको १२ हजार ७१७ मत आएको छ । सो निर्वाचन क्षेत्रको प्रदेश सभा एकमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका घनश्याम दाहाल अबिनासको १६ हजार ७०४ मत आएको छ । नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले १२ हजार ४४० मत ल्याएका छन्।

चितवनको प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका एमालेका विजयी सुवेदीको १३ हजार ९०० मत आएको छ । सो क्षेत्रमा नेपाली काँग्रेसका प्रकास अधिकारीको छ हजार ९९० मत आएको छ। चितवनको गणना अन्यत्रको भन्दा निकै सुस्त भएको छ । धेरै ठाउँमा मत गनेर चाँडो सक्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए।

प्रकाशित: २४ मंसिर २०७४ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App