७ वैशाख २०८१ शुक्रबार
राजनीति

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

काठमाडौँ – नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। 

२०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए। 

त्यसैगरी २०७० सालमा भएको दोश्रो संविधानसभाको चुनावमा भने तीनै क्षेत्रमा जित हासिल गर्दै काँग्रेसले नुवाकोटमा आफ्नो प्रभुत्व जमाएको थियो। ०७० मा क्षेत्र नम्बर १मा केसी, २ मा महत र ३ मा बहादुर लामाले नुवाकोटलाई काँग्रेस किल्लाको रुपमा स्थापित गरेका थिए। 

यसपालीको निर्वाचनमा भने काँग्रेसका हेभीवेट नेताद्वय महत र केसीले आफ्नो पराजयलाई मुटुमाथि ढुंगाराखी भएपनि स्वीकार गर्नुपरेको छ। विगत लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका महतलाई उनैले दुई पटक पराजित गरेको माओवादी केन्द्रका हितबहादुर तामाङले ८,५५३ मतान्तरले हराउँदै उनको विरासत ढालिदिए। तामाङले ३६४७३ मत ल्याउँदा महतले २७९२० मै चित्त बुझाउनु पर्‍यो। त्यस्तै प्रदेशसभामा  पनि उनका खानदानका कोही पनि विजयी हुन सकेनन्। 

केसी परिवारले पनि यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। केसीले यसपाली भने एमालेका नारायण खतिवडासँग १०,५५७ मतान्तरसहितको हार व्यहोरे। खतिवडाले ३६८९२ मत प्राप्त गर्दा केसीले २६३३५ मतमै चित्त बुझाउनु पर्‍यो। त्यस्तै प्रदेशमा उनका भाई जगदिश नरसिंह केसीले पनि गह्रौ मुटु बनाउँदै हार स्वीकार्नु पर्‍यो।

यो सँगै नुवाकोटका सम्पूर्ण क्षेत्रमा वाम गठबन्धनले आफ्नो प्रभुत्व जमाएको छ भने केसी र महत परिवार केन्द्रित नुवाकोट काँग्रेसको खानदानी राजनीति समाप्त भएको छ । 

 

प्रकाशित: २४ मंसिर २०७४ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App