१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला आयोगद्धारा हेल्पलाइन सेवा प्रारम्भ

काठमाडौ–राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सोमवारदेखि सञ्चालनमा ल्याउने भएको छ । लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन डिसेम्बर १० को अवसर पारेर यो सेवा शुभारम्भ गरिएको हो । 
‘खबर गरौं ११४५’ हेल्पलाइनमा महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्न बञ्चित गरेमा पीडित व्यक्ति वा निजको तर्फबाट जो सुकैले खबर गर्नसक्नेछन् । 
हेल्पलाइनमा आएका उजुरीहरुको मुद्धा व्यवस्थापन प्रणालीमा दर्ता भएपछि प्रारम्भिक छानविनबाट हिंसा भएको वा अधिकारबाट वञ्चित भएको देखिए मुद्दाको प्रकृति अनुसारका आवश्यक सेवाहरू जस्तै सुरक्षित बास, स्वास्थ्य उपचार सेवा, मनोसामाजिक परामर्श, बालबालिकाका लागि विशेष सहयोग वा कानुनी सेवाका लागि सम्बन्धित सेवा प्रदायक संस्थामा पठाइन्छ । यसरी पठाइएका सेवाग्राहीको सेवा प्रवाहको अवस्था कस्तो छ भनेर अनुगमन गर्न पनि सकिन्छ । 
हेल्पलाइन सेवाको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महिला बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले राष्ट्रिय महिला आयोगले संचालन गरेको हेल्पलाइन सेवा मार्फत हिंसापीडित महिला तथा वालिकाहरुले तत्कालै उजुरी गरी आवश्यक सेवा तथा परामर्श प्राप्त गर्न यो संरचनाले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । 
नेपाल लैङ्गिकतामा आधारित हिंसा व्यापक रहेका राष्ट्रहरूमध्येमा नै पर्दछ । सन् २०१४ मा विश्व बैंकले गरेको एक अध्ययन अनुसार आफ्नो जीवनसाथीबाट गरिने हिंसा व्यापक रहेका १५ देशहरूमध्येमा नेपाल १४औं स्थानमा रहेको छ भने एकतिहाई महिलाहरू आफ्नै पतिद्वारा भावनात्मक, शारीरिक तथा यौन हिंसामा पर्ने कुरा सो अध्ययनले देखाएको छ ।

 

प्रकाशित: २४ मंसिर २०७४ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App