८ वैशाख २०८१ शनिबार
अन्य

उपभोक्ताको काम खोस्दै ठेकेदार

बर्दिया- उपभोक्ता समितिसँग सम्झौता भएका विकास निर्माणका काम ठेकेदारलाई जिम्मा दिन चलखेल सुरु भएको छ। असार सुरुसँगै निर्माण सामाग्री (ढुङ्गा,गिट्टी र बालुवा) ल्याउन रोक लगाएको बहाना लगाउँदै पाँचवटा नगरपालिका र जिल्लाको विकास निर्माण प्रभावित गरिँदै छ। उपभोक्तासँग सम्झौता गरेका विकास निर्माणका काममा निर्माण सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ताको काम ठेकेदारमार्फत् गराउन चलखेल भएको हो।

२०७१ साउन अन्तिममा बबईमा आएको बाढीबाट क्षति भएका विकास निर्माणका लागि सरकारले आकस्मिक रूपमा गुलरिया र जिल्ला विकास समितिमार्फत् उपभोक्तासँग सम्झौता गरेको थियो। सम्झौता भएको १६ करोड बजेटबाट ठाउँ–ठाउँमा उपभोत्ताले सुरु गरेका काम निर्माण सामाग्री अभावमा योजना अघि बढ्न सकेको छैन। विकास निर्माणमा उपभोक्ता सक्रिय रहेको अवस्थामा निर्माण सामाग्री अभावले योजना प्रभावित बनेकोमा स्थानीय आक्रोसित छन्। उपभोक्ताले सम्झौतामा भई रहेको विकासको काममा हत्याउन ठूलो कमिसनको खेल भई रहेको स्थानीयको भनाइ छ। 'नाम मात्रको उपभोक्ता समिति बनाएर कति ठाउँमा पहिले ठकेदारले गरेको देखिन्छ,' उपभोक्ता  रामबहादुर थापाले भने, 'उपभोक्ताले काम गर्न सकेन भनेर खुलेआम ठेकेदारलाई जिम्मा दिने प्रपन्च रचिँदैछ।' स्टमेटमा उपभोक्ताले गर्ने काममा उपकरण खर्च बापतको रकम बच्ने हुनाले उपभोक्ताको काम गर्न ठकेदार सक्रिय हुने गरेको उनको भनाइ छ। बाहनाबाजी गरेर उपभोक्तालाई जिल्ला विकास समितिले जेठ असार मसान्तसम्मको  नवीकरणको म्यादमा थप्न आलटाल गर्दा उपभोक्ता मर्कामा परेका छन्। उपभोक्ताले काम गर्न नसक्ने वातावरण बनाउन उपभोक्ता समितिका टाठाबाँठा पदाधिकारी र ठकेदार समूहको भूमिका रहेको छ। विकास निर्माणले गति लिएको बेलामा नवीकरण नगर्दा निर्माण सामाग्री ल्याउन रोक लगाएपछि उपभोक्ताको काम प्रभावित बन्दै गएको छ। जिल्ला विकास समितिले नदीजन्य निर्माण सामाग्रीको जेठ मसान्तसम्म रहेको म्याद नवीकरणमा ढिलाइ गरेर उपभोक्ताले निर्माण गरिरहेका विकासमा निर्माण सामाग्रीको कृत्रिम अभाव सिर्जना गरिएको हो। ठकेदारले उपभोक्ताले काम गर्ने उद्देश्यले ठाउँ–ठाउँमा निर्माण सामाग्री नियम मिचेर डम्पिङ गरेका छन्, भने विकास निर्माण सुरु गरेका उपभोक्ता नदीजन्य पदार्थ तथा निर्माण सामाग्री नहुँदा समस्यामा छन्। निर्माण सामाग्रीको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई बाध्य बनाई उपभोक्ताको काममा आफूहरूले गर्ने दाउमा ठेकेदार लागिपरेको उपभोक्ता गुनासो गर्छन्।

निर्माण सामाग्री अभाव सिर्जना गरी उपभोक्ताको काम ठेकेदारले दिन ठूला ठेकेदारको दर्जा पाएका समूहले लबिङ गरिरहेको स्रोतको दाबी छ।  उपभोक्ताले जिम्मा पाएका जिविस र केही ठाउँका काम निर्माण सामाग्री हुन नसेको भन्दै ठकेदारले लिन खोजेको स्थानीय बताउँछन्। जिविसले उपभोक्तालाई जिम्मा दिएको गुलरियास्थित तुरुन्तपुर जाने सडक खण्डको काम ठकेदारले गरिरहेको स्रोत बताउँछ।

पछिल्लो समय सरकारले आकस्मिक रूपमा बजेट विनियोजन गरी विकास निर्माणका लागि आवश्यक पर्ने बेलामा जिविसले बैधता दिएको जेठ म्याद नवीकरण नहँुदा उपभोत्ता मर्कामा परेका हुन्। डम्पिङ गरेर राखेका निर्माण सामाग्री अभावले उपभोक्ताद्वारा थालिएका बाढी क्षेत्र पूर्वाधार निर्माणको काम प्रभावित भएको हो। सडकमा ग्राभेल र नयाँ सडक निर्माण गर्न उपभोक्ताले जिम्मा लिएका निर्माण सामाग्री संकटहँुदा काम प्रभावित हुन थालेको छ। जेठ मसान्तसम्म जिल्ला विकास समितिले बैधता दिएका ठाउँबाट नदीजन्य पदार्थ उत्खनन म्याद सकिएपछि निर्माण सामाग्री चरम अभाव भइरहेको छ। दैवी उद्धार समितिको बैठकले म्याद थप गर्न सक्ने प्रावधान रहेको स्थानीय विकास अधिकारी तेजराज शर्माले बताए। 'जेठ मसान्तसम्म नवीकरण गर्ने प्रावधान भएकाले म्याद थपका लागि दैवी प्रकोप उद्धार समितिले निर्णय गर्नुपर्छ,' उनले भने।

प्रकाशित: ६ असार २०७३ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App