८ वैशाख २०८१ शनिबार
राजनीति

श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक

गोरखा – प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच प्रतिस्पर्धा हुने भएपछि निकै चर्चामा रहेको गोरखा २ मा अन्ततः माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पराजय बेहोर्नुपर्‍यो । कांग्रेससँगको चुनावी तालमेलमा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विजयी भए । माओवादीभित्र रहँदा समान हैसियतका यी दुई नेता फरकफरक गठबन्धनबाट उम्मेदवार बनेपछि यहाँको चुनाव सबैका लागि चासोको विषय बन्यो।

पूर्वउपप्रधानमन्त्री एवं पार्टीमा दोस्रो तहको हैसियतमा रहेका श्रेष्ठलाई छ हजार आठ सय ७४ मतान्तरले पछाडि पारेर भट्टराई विजयी भएका हुन् । ६० हजार एक सय १७ मत खसेको यहाँ भट्टराईले ३१ हजार आठ सय सात र श्रेष्ठले २४ हजार नौ सय ३३ मत प्राप्त गरे । खसेकाो मतमा दुई हजार छ सय ३८ मत बदर भयो । भट्टराईले चुनाव जित्छन् भन्ने आकलन गरिए पनि मतान्तर यति धेरै होला भन्ने कसैले सोचेका थिएनन् । केहीले भने माओवादीको बलियो संगठन र एमालेसँगको सहकार्यका कारण श्रेष्ठले नै जित्ने बताएका थिए । माओवादीका जिल्ला नेताहरू श्रेष्ठ पराजित हुनुमा मतदातामा ‘बाबुराम ब्रान्ड’ बलियो कारक भएको बताउँछन्। 

स्थानीय विश्लेषकहरूका अनुसार यसअघि पनि गोरखा २ बाट विजयी हुनु, माओवादीमा रहँदा अर्थमन्त्री, प्रधानमन्त्री भएर गोरखाको विकासमा प्रत्यक्ष चासो राख्नु, निरन्तर गोरखा आइरहनु जस्ता कारणले श्रेष्ठभन्दा भट्टराई मतदाताको प्यारो बनेका हुन् । भट्टराई राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा छवि बनाएका व्यक्तिका रुपमा पनि चिनिन्छन् । राजनीतिक संगठन र स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने गोरखा २ मा वाम गठबन्धन अघि छ । तर पनि चुनावी नतिजा उल्टो आयो । कांग्रेसका मतदाताले मात्र नभई अन्य पार्टी समर्थक र जनताले पनि मत दिएकाले भट्टराई विजयी भएको स्थानीय बताउँछन् । श्रेष्ठ चुनावी प्रचारमा जिल्लामा भिजेका नेताकार्यकर्ताभन्दा बाहिरका नेताकार्यकर्ता लिएर प्रचारमा हिँड्नुले पनि उनको पराजय भएको भन्ने पनि छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटालगायतले भट्टराईको क्षेत्र पालुङटारमा आयोजित सभामा उनी र कांग्रेसलाई गरेको गालीगलौजले पनि श्रेष्ठको भोट घटेको मतदाता बताउँछन्।

भट्टराईको भन्दा कमजोर जनसम्बन्ध, गृहजिल्ला भए पनि स्थानीयसँगको थोरै हिचमिच, कार्यकर्ताको घरमा थोरै पुग्ने, विकास निर्माणमा गोरखासँग तुलनात्मक रुपमा कम जोडिएका कारण पनि श्रेष्ठले हार बेहोर्नुपरेको विश्लेषण माओवादीका जिल्ला नेताको छ । माओवादी जिल्ला इन्चार्ज चूडामणि खड्काले गोरखा २ मा भएको हारप्रति चिन्ता व्यक्त गर्दै भने, ‘हामी पार्टीको बैठक बोलाएर हारको समीक्षा गर्छौं, त्यसपछि मात्रै कारण पत्ता लाग्नेछ।’ 

प्रकाशित: २५ मंसिर २०७४ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App