१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फर्कियो काभ्रेको ‘वाम किल्ला’

काभ्रेकै दुर्गम डाँडापारी खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा विजय उत्सव मनाउँदै स्थानीय । फोटो सौजन्यः इसरा खुलाल

बनेपा – काभ्रेमा प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीटहरूमा वाम गठबन्धनले विजय हासिल गरेको छ । दुई दशकपछि काभ्रे जिल्ला फेरि एक पटक ‘वाम किल्ला’ मा रुपान्तरित भएको हो।

२०४७ सालको परिवर्तनपछि २०४८ को पहिलो आम निर्वाचन र २०५१ को निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका सबै निर्वाचन क्षेत्रहरुमा विजयी हुन सफल वाम दलहरू टुट र फुटका कारण २०५६ र त्यसपछिका निर्वाचनहरुमा केही निर्वाचन क्षेत्रमा मात्रै विरासत जोगाइराख्न सफल भए । यही अवस्थालाई मध्यनजर गर्दै वाम दलहरूले पुरानै विरासत फर्काउने दाउमा चुनावमा तालमेल गरेका थिए। 

यत्तिमात्रै नभई यस पटकको निर्वाचनमा विजयी सबै उम्मेदवारहरू पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभामा प्रवेश गर्दैछन् । यिनमा काभ्रे क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटा राजनीतिबाहेक पत्रकारितामा समेत दख्खल राख्दै आएका हुन् । एक दशक दृष्टि साप्ताहिकलाई कार्यकारी सम्पादकका रुपमा हाँकेका र  हाल सम्बोधन साप्ताहिकमा सम्पादक रहेका उनी पछिल्लो समय नेकपा एमालकै राजनीतिमा पूर्ण रुपमा सक्रिय रहेका छन् । नेकपा एमाले स्कूल विभाग केन्द्रीय सदस्य र ३ नं प्रदेश कमिटी सदस्य रहेका बाँस्कोटा तीन पटक नेकपा एमालेको जिल्ला अध्यक्ष भइ पार्टी हाँकिसकेका छन्।

२०७० को संविधान सभा सदस्यको निर्वाचनमा तत्कालीन निर्वाचनक्षेत्र नं ३ बाट पराजित भएका उनले यस पटक सोही क्षेत्रबाट ५४ हजार ४२७ मत ल्याएर विजयी बने । यस पटक उनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहेका मधुप्रसाद आचार्यलाई १७ हजार ८४८ को भारी मतान्तरले पराजित समेत गरे । आचार्यले ३६ हजार ५७९ मत पाएका हुन्। 

यस्तै, क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट विजयी भएका गंगाबहादुर तामाङलाई बमध्वजका नामले बढी चिन्छन् । माओवादी द्वन्द्वका क्रममा जिल्ला जनसरकार प्रमुख बनेका उनी गत वैशाखको स्थानीय चुनावमा तेमाल गाउँपालिकाको प्रमुखमा पराजित भए । तर, यही पराजयले उनको यात्रा संघीय संसदसम्म पुग्ने कडी बन्न पुग्यो । माओवादीका पोलिब्यूरो सदस्य रहेका तामाङ पछिल्लो समय जन्मथलो मेच्छेमा लेयर्स कुखुरापालनमा व्यस्त रहँदै आएका छन्।

तामाङले २०७० को अर्को संविधान सभा सदस्यमा विजयी भएका काँग्रेसका तीर्थबहादुर लामालाई ४ हजार २६ मतले उछिने । तामाङले ४३ हजार ६३१ मत पाएका हुन् भने उनका लामाले ३९ हजार ६०५ मत ल्याए।

प्रदेश सभाका चारवटै क्षेत्रमा विजयी हुने सबै वाम गठबन्धनका उम्मेदवारहरू ५० वर्ष मुनिका छन् । सबैको यात्रा पहिलो पटक ३ नम्बर प्रदेश सभामा हुन लागेको हो।

प्रदेश सभा १(क) मा विजयी रत्नप्रसाद ढकाल नेकपा माओवादीको वैद्य समूहका विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष थिए । भारतले सीमा मिचेको लिपुलेकमा झण्डा गाड्ने अभियानमा त्यहाँ काम फत्ते गरी फर्केका उनी एकीकरणपछि माओवादी केन्द्रको पोलिब्यूरो सदस्य रहँदै आएका छन् । उनले नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष चन्द्रबहादुर तामाङलाई ७ हजार २५१ मतले पराजित गरे । ढकालको २५ हजार १०६ र तामाङको १७ हजार ८५५ मत रहेको छ ।
प्रदेश सभा १(ख) मा विजयी चन्द्रबहादुर लामा युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष तथा निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष हुन् । उनले काँग्रेसका उम्मेदवार गुण्डा नाइके गणेश लामालाई ४ हजार १७७ मतले पराजित गरेका हुन् । चन्द्रले २४ हजार ४४७ र गणेशले २० हजार २७० मत ल्याएका छन्।

यस्तै, प्रदेश सभा २ (क) मा वाम गठबन्धनबाट विजयी लक्ष्मण लम्साल नेकपा एमालेको केन्द्रीय कृषि तथा भूमिसुधार विभागको सचिवमा कार्यरत हुन् । २२ वर्ष लामो विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका लम्सालले काँग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले जितेका हुन् । लम्सालले २७ हजार ६२१ र  आचार्यले १६ हजार ५८९ मत पाएका छन्।

प्रदेश सभा २ (ख)मा वाम गठबन्धनबाट विजयी बसुन्धरा हुमागाईं लगातार तेस्रो कार्यकाल नेकपा एमाले काभ्रे जिल्ला सचिवालय सदस्य रहँदै आएका छन् । हाल कार्यालय सचिव, आर्थिक विभाग प्रमुख र साविक क्षेत्र नं. ३ को इन्चार्ज र पनौतीको नगर इन्चार्ज रहेका हुमागाईंले पूर्व उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादेलाई सहजै पराजित गरे । उनले नेपाली काँग्रेसको ३ नम्बर क्षेत्रीय सभापतिसमेत रहेका बादेलाई ६ हजार ८०८ मतले उछिनेका हुन् । हुमागाईंले २८ हजार ५६१ र वादेले २१ हजार ७५३ मत पाएका छन्।

प्रकाशित: २५ मंसिर २०७४ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App