coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली किशोरको सुखद सुरुआत

काठमाडौं- राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको बेला नेपाली किशोर टोलीले थाइल्यान्डमा एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजनमा आशलाग्दो सुरुआत गरेको छ । 
देशको क्रिकेट अन्तर्राष्ट्रिय निलम्बनमा रहेका बेला थुप्रै सीमितताका बावजुद मुस्किलले थाइल्यान्डको भ्रमण तय गरेको नेपाली किशोर टोलीले सोमबार पहिलो खेलमा आयोजक थाइल्यान्डमाथि १ सय ३३ रनको सानदार जित हासिल गरेको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) ले सानो उमेरका प्रतिभा पहिचान गर्दै तिनलाई राम्ररी तिखार्ने उद्देश्यमा प्रतियोगिता गरे पनि नेपालले भने त्यसअनुरूप टिम छनोट तथा तयारी गर्न सकेको थिएन । सहभागिता नै अन्योलमा रहेका बेला सुशील कोइराला स्मृति प्रतिष्ठानले प्रतिभा खोजदेखि बन्द प्रशिक्षण 
शिविरसम्मको सम्पूर्ण खर्च बेहोरेपछि नेपाल थाइल्यान्डमा चुनौती प्रस्तुत गर्न सफल भएको थियो । 
सोमबार पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्दै आयोजक थाइल्यान्डविरुद्ध १ सय ७९ रनको योगफल तयार गरेको थियो । टे«ड थाई मैदानमा नेपालले ३४.४ ओभर खेल्दा त्रितराज दासले ५७ बलमा सर्वाधिक ३९ रन बनाए । ओपनर कुशल मल्लले २४ र राजन मगरले १७ रन बनाउँदै नेपालको सुरुआतलाई बलियो बनाएका थिए । कुशल र राजनले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । पाँचांै विकेटका लागि त्रित र सुनीलले सर्वाधिक ३६ रनको साझेदारी गर्दै नेपालको स्कोरलाई बढाउन सहयोग गरे । 
सुनील भण्डारीले २३, कप्तान रित गौतमले १६ र प्रतीश जिसीले १२ रन जोडे । 
नेपालले राम्रो सुरुआत गरेको खेलमा आयोजक थाइल्यान्डका लागि कोकिएड चाटवङले ३ विकेट लिन ३४ रन खर्चेका थिए । १ सय ८० रनको बलियो लक्ष्य पाएको थाइल्यान्डले भने गतिलो सुरुआत गर्न सकेन । थाइल्यान्डका लागि घरेलु मैदानमा आफ्नो क्षमता परीक्षण गर्ने अवसर थियो । तर नेपालसामु थाइल्यान्डले कडा चुनौती दिन सकेन । थाइल्यान्डको सुरुआती चार खेलाडी क्रिजमा चल्न नसकेपछि टोली कमजोर देखिएको थियो । सुरुका चार ब्याट्सम्यान खाता खोल्न नसकेर आउट भए । त्यसले नेपाल खेलमा हाबी हुँदै गयो । थाइल्यान्डका लागि खतरानक बलर साबित भएका नारायण जोशीले ५ विकेट लिएर १७ रन मात्र दिएपछि नेपाल खेलमा हाबी भएको थियो । लगातार विकेट पतनलाई रोक्न नसकेको थाइल्यान्डले अन्तिम विकेट गुमाउँदा ४६ रन जोडेको थियो ।  
यसै गरी नेपालका लागि सूर्य तामाङले ४ ओभरमा ९ रन खर्चेर २ विकेट, निखिलकुमार सिंह, विशालविक्रम केसीले समान १ विकेट लिए । 
यसै गरी प्रतियोगिताको उद्घाटनका दिन नेपालसँगै सिंगापुर, चीन र हङकङले जित हासिल गरेका छन् । प्रेम इन्टरनेसनल स्कुलस्थित डेभिड डुक ओभल मैदानमा छिमेकी प्रतिद्वन्द्वी मलेसिया र सिंगापुरले खेलेका थिए ।  ८ विकेटको नोक्सानीमा सिंगापुरले १ सय ५१ रन जोडेको थियो । जबाफमा मलेसियालाई १ सय २२ रनमा रोक्दै सिंगापुरले २९ रनले खेल जित्न सफल भएको थियो । यसै गरी चीनले भुटानलाई ६९ रनले हरायो । टस जितेर ब्याटिङ गरेको चीनले ३५ ओभरमा १ सय १९ रन जोडेको थियो । जबाफमा भुटानले २५.२ ओभरमा ५८ रन मात्र बनाउन सक्यो । 
हङकङले म्यानमारलाई २ सय १२ रनले हराउँदै प्रतियोगिताको सुरुआतमै सर्वाधिक रनको अन्तरको जित निकाल्न सफल भएको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको हङकङले ३५ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो । हङकङका लागि के चालुले ६४ रन र  टी सिओपुरीले सर्वाधिक ४७ रन बनाए । जबाफमा म्यानमारले १७.२ ओभरमा ४१ रन मात्र बनाउन सक्यो । हङकङका मोहमद हसनले ६ विकेट लिन ८ रन मात्र खर्चे । 
लिग कम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै समूहमा हङकङ, आयोजक थाइल्यान्ड र म्यानमार रहेका छन् । समूह ‘बी’ मा चीन, सिंगापुर, मलेसिया र भुटान छन्  । दुई समूहका विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्नेछन् ।  
प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार हङकङसँग टे«डथाइ क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ । अन्य खेलमा चीनले मलेसिया, भुटानले सिंगापुरसँग थाइल्यान्डले म्यानमारसँग खेल्नेछन् । 

प्रकाशित: २५ मंसिर २०७४ १८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App