७ वैशाख २०८१ शुक्रबार
कला

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

मुम्बई- बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण गरेको फिल्मले असफल बनेपछि उनी यतिबेला फिल्म वितरकको उद्धारमा लागेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले हलमा व्यावसायिक सफलता पाउन नसकेपछि फिल्मबाट घाटा व्यहोरेका वितरकका लागि उनले क्षतिपूर्ति दिन अग्रसरता देखाएका हुन् । शाहरुखले फिल्मलाई भारतमा वितरणको अधिकार लिएको एनएच स्टुडियोलाई १५ प्रतिशत क्षतिपूर्ति दिइसकेका छन् । यो स्टुडियोले ८० करोड रुपैंयाँमा वितरण अधिकार लिएको थियो । अन्य वितरकको हकमा शाहरुखको समूहले सम्बन्धित वितरकको व्यापारिक खाता अवलोकन गर्दै अधिकतम ३० प्रतिशतसम्म रकम जम्मा गरिदिएका छन् ।
‘फिल्म ‘जब ह्यारी मेट सेजल’ व्यावसायिक रुपमा असफल भएपछि वितरकले शाहरुखलाई एसओएस सन्देश पठाउँदै सलमान खानको अनुसरण गर्दै वितरकको पैसा फिर्ता गरिदिन अनुरोध गरेका थिए,’स्टुडियोे स्रोतले भन्यो,‘ उनीहरूले फिल्म रिलिजअघि नै वितरण अधिकार, स्याटालाइट, संगीत र डिजिटल राइट विक्रीबाट नाफा कमाइसकेकाले त्यही पैसाबाट आफ्नो नोक्सानको भरपाइ गरिदिन माग गरेका थिए ।’ इम्तियाज अलीले निर्देशन गरेको फिल्ममा अनुष्का शर्मा शाहरुखको अपोजिटमा थिइन् । फिल्मले बक्स अफिसमा सय करोड कमाउने अनुमान गरिए पनि फिल्मले ६४ दशमलब ३३ करोड मात्र कमाइ गरेको थियो । समीक्षक तथा दर्शकले सामाजिक सञ्जालमा फिल्मको चर्को आलोचना गरेका थिए । शाहरुखले यसअघि पनि फिल्म ‘अशोका’, ‘पहेली’ र ‘दिलवाले’ताका वितरकलाई पैसा फिर्ता गरिदिएका थिए । केही समय अघि सलमानले पनि आफ्नो फिल्म ‘ट्युबलाइट’का कारण वितरकले घाटा व्यहोरेको भन्दै केही प्रतिशत रकम क्षतिपूर्ति दिएका थिए ।

प्रकाशित: २५ मंसिर २०७४ १९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App