८ वैशाख २०८१ शनिबार
राजनीति

वाम गठबन्धनको दुई तिहाइ

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्पm दुई तिहाइ स्थानमा जित हासिल गरेको छ । 
निर्वाचन आयोगले सोमबार राति साढे नौ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभातर्फ १५४ स्थानमा मत परिणाम घोषणा हुँदा वाम गठबन्धनले ११२ स्थानमा विजयी भएको छ । जसमा एमालेले ७६ र माओवादीले ३६ स्थानमा जीत हासिल गरेका छन् । 
घोषणा हुँन बाँकी ११ स्थानमध्ये एमालेले ५ र माओवादीले ३ स्थानमा अग्रता लिएको छ । घोषित परिणाममध्ये वापमन्थी गठबन्धनले करिब ७३ प्रतिशत स्थान हासिल गरेको छ । 
२०७० सालको दोस्रो संविधानसभा चुनावमा पहिलो स्थान हासिल गरेको सत्तारूढ दल नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ । प्रतिनिधिसभामा सो दलले २१ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी मधेसी गठबन्धनले १९ स्थानमा जित हासिल गरेको छ । मधेसी गठबन्धनले तीन स्थान अग्रता लिएको छ । 
संघीय समाजवादी फोरमले १० स्थान जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ९ स्थानमा जित हासिल गरेको छ । राजपाले तीन स्थानमा अग्रता कायम राखेको छ । 
मतगणना जारी रहेको सुनसरी ३ मा भगवती चौधरी, स्याङ्जा १ र २ मा नारायण मरासिनी र पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दीपकप्रकाश भट्ट अग्रस्थानमा छन् । उनीहरु एमालेका उम्मेदवार हुन् । त्यसैगरी धनुषा १ मा माओवादी मातृका यादव अग्रस्थानमा छन् । 
प्रदेश नम्बर एकका २८ निर्वाचन क्षेत्रमध्ये २७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १६ मा जित हासिल गरेको छ । बाँकी एक स्थानमा अग्रता लिएको छ । माओवादीले ६, कांग्रेसले ४ र राप्रपाले एक सिट जितेका छन् । 
प्रदेश नम्बर २ मा वामपन्थी गठबन्धन कमजोर देखिएको छ । ३२ मध्ये एमालेले प्रतिनिधिसभामा २ वटा मात्रै निर्वाचन क्षेत्र जितेको छ । माओवादीले ४ क्षेत्रमा जितेर एक स्थानमा अग्रता लिएको छ ।
संघीय समाजवादी फोरम ९ र मधेसी गठबन्धनको अर्को दल राजपा १० निर्वाचनमा क्षेत्रमा विजयी भएका छन् । कांग्रेसले ५ क्षेत्रमा जित हासिल गरेको छ । 
प्रतिनिधिसभामा ३३ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर तीनमा वाम गठबन्धनले अत्यधिक स्थान जितेको छ । ३३ वटै निर्वाचन क्षेत्रमा परिणाम सार्वजनिक हुँदा एमालेले २० र माओवादीले ७ क्षेत्रमा जित हासिल गरेका छन् । कांग्रेस ५ क्षेत्र र नेपाल मजदुर किसान पार्टी १ क्षेत्रमा विजयी भएको छ । 
प्रदेश नम्बर चारका १८ स्थानमध्ये १६ क्षेत्रमा परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ११ र  माओवादी केन्द्रले ३ स्थानमा जितेको छ । गणना जारी रहेको २ स्थानमा एमाले अग्रस्थानमा छ । कांग्रेस र नयाँ शक्ति नेपालले १–१ स्थानमा जित हासिल गरेका छन् । 
प्रदेश नम्बर पाँचमा पनि वाम गठबन्धनले वर्चस्व कायम राखेका छन् । २६ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा गठबन्धनले २० स्थान जितेको छ । जसमा एमाले १२, माओवादी ७ र राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएका छन् । यस्तै कांग्रेसले ५ र संघीय फोरमले १ क्षेत्रमा चुनाव जितेका छन् । 
१२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्रदेश ६ मा एमाले ६ र माओवादी ५ स्थानमा विजयी भएको छ । अर्को १ क्षेत्रमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । उनी माओवादी केन्द्रका बागी उम्मेदवार थिए । 
सात नम्बर प्रदेशका १६ मध्ये एमालेले ९ स्थानमा जित हासिल गरेको छ भने मतगणना जारी रहेको २ स्थानमा पनि एमालेले नै अग्रता लिएको छ । माओवादी केन्द्रले ३ स्थानमा जितेको छ । प्रदेश ७ मा कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै विजयी भएका छन् । मतगणा जारी रहेको कैलाली– १ मा राजपाका रेशम चौधरी अग्रस्थानमा छन् । 

प्रकाशित: २६ मंसिर २०७४ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App