४ वैशाख २०८१ मंगलबार
राजनीति

दुई दशकपछि फर्कियो काभ्रेको ‘वाम किल्ला’

बनेपा- काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । दुई दशकपछि काभ्रे जिल्ला फेरि एकपटक ‘वाम किल्ला’ मा रूपान्तरित भएको हो ।
२०४७ सालको परिवर्तनपछि २०४८ को पहिलो आम निर्वाचन र २०५१ को निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजयी हुन सफल वाम दलहण्ण्ण्ण्रू टुट र फुटका कारण २०५६ र त्यसपछिका निर्वाचनहरुमा केही निर्वाचन क्षेत्रमा मात्रै विरासत जोगाइराख्न सफल भए । त्यही अवस्थालाई ध्यानमा राखी वाम दलहरूले पुरानै विरासत फर्काउने दाउमा चुनावमा तालमेल गरेका थिए र सोमबार सम्पन्न अन्तिम मत गणनाको परिणामले समेत वाम गठबन्धनको तालमेल सफल भएको प्रमाणित गरिदिएको छ । 
    यतिमात्रै नभई यसपटकको निर्वाचनमा विजयी सबै उम्मेदवार पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभामा प्रवेश गर्दैछन् । यीनमा काभ्रे क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा राजनीतिबाहेक पत्रकारितामा समेत दख्खल राख्दै आएका हुन् । एक दशक दृष्टि साप्ताहिकलाई कार्यकारी सम्पादकका रूपमा रहेका र  हाल सम्बोधन साप्ताहिकमा सम्पादक रहेका उनी पछिल्लो समय नेकपा एमालकै राजनीतिमा पूरा समय सक्रिय छन् । नेकपा एमाले स्कुल विभाग केन्द्रीय सदस्य र ३ नं प्रदेश कमिटी सदस्य रहेका बाँस्कोटा तीनपटक नेकपा एमालेको जिल्ला अध्यक्ष भई पार्टी हाँकिसकेका छन् ।
    २०७० को अर्को संविधानसभा सदस्यको निर्वाचनमा तत्कालीन निर्वाचनक्षेत्र नं ३ बाट पराजित भएका उनले यसपटक सोही क्षेत्रबाट ५४ हजार चार सय २७ मत ल्याएर विजयी बने । यसपटक उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका मधुप्रसाद आचार्यलाई १७ हजार आठ सय ४८ को भारी मतान्तरले पराजित समेत गरे । आचार्यले ३६ हजार पाँच सय ७९ मत पाएका हुन् । 
यस्तै, क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट विजयी भएका गंगाबहादुर तामाङलाई बमध्वजका नामले बढी चिन्छन् । माओवादी द्वन्द्वका क्रममा जिल्ला जनसरकार प्रमुख बनेका उनी गत वैशाखको स्थानीय चुनावमा तेमाल गाउँपालिकाको प्रमुखमा पराजित भए, त्यो पनि विजयी बनेको कांग्रेसका उम्मेदवारसँग नभई दोस्रो भएको नेकपा एमालेका उम्मेदवारसँग । तर, यही पराजय नै उनको संघीय संसद्सम्म पुग्ने यात्राको कडी बन्न पुगेको छ । यतिखेर माओवादीका पोलिटब्यूरो सदस्य रहेका तामाङ पछिल्लो समय जन्मथलो मेच्छेमा लेयर्स कुखुरापालनमा व्यस्त रहँदै आएका छन् ।
    तामाङले २०७० को अर्को संविधानसभा सदस्यमा विजयी भएका कांग्रेसका तीर्थबहादुर लामालाई चार हजार २६ मतले उछिने । तामाङले ४३ हजार छ सय ३१ मत पाएका हुन् भने उनका लामाले ३९ हजार छ सय ५ मत ल्याए ।
उता, प्रदेश सभाका चारवटै क्षेत्रमा विजयी हुने सबै वाम गठबन्धनका उम्मेदवारहरु ५० वर्ष मुनिका छन् । सबैको यात्रा पहिलोपटक ३ नम्बर प्रदेश सभामा हुन लागेको हो । सबैको सपना प्रदेशको राजधानी काभ्रे रहेको छ ।
प्रदेशसभा १(क) मा विजयी रत्नप्रसाद ढकाल नेकपा माओवादीको वैद्य समूहका विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष थिए । भारतले सीमा मिचेको लिपुलेकमा झण्डा गाड्ने अभियानमा त्यहाँ काम फत्ते गरी फर्केका उनी एकीकरणपछि माओवादी केन्द्रको पोलिब्यूरो सदस्य रहँदै आएका छन् । उनले नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष चन्द्रबहादुर तामाङलाई सात हजार दुई सय ५१ मतले पराजित गरे । ढकालको २५ हजार एक सय छ र तामाङको १७ हजार ८५५ मत रहेको छ ।
प्रदेश सभा १(ख) मा विजयी चन्द्रबहादुर लामा युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष तथा निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष हुन् । उनले कांग्रेसका उम्मेदवार गुण्डा नाइके गणेश लामालाई चार हजार एक सय ७७ मतले पराजित गरेका हुन् । चन्द्रले २४ हजार चार सय ४७ र गणेशले २० हजार दुई सय ७० मत ल्याएका छन् ।
यस्तै, प्रदेशसभा २ (क) मा वाम गठबन्धनबाट विजयी लक्ष्मण लम्साल नेकपा एमालेको केन्द्रीय कृषि तथा भूमिसुधार विभागको सचिवमा कार्यरत हुन् । २२ वर्ष लामो विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका लम्सालले कांग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले जितेका हुन् । लम्सालले २७ हजार छ सय २१ र  आचार्यले १६ हजार पाँच सय ८९ मत पाएका छन् ।
    प्रदेशसभा २ (ख)मा वाम गठबन्धनबाट विजयी बसुन्धरा हुमागाईं लगातार  तेस्रो कार्यकाल नेकपा एमाले काभ्रे जिल्ला सचिवालय सदस्य रहँदै आएका छन् ।  हाल कार्यालय सचिव, आर्थिक विभाग प्रमुख र साविक क्षेत्र नं. ३ को इन्चार्ज र पनौतीको नगर इन्चार्ज रहेका हुमागाईंले पूर्व उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादेलाई सहजै पराजित गरे । उनले नेपाली कांग्रेसको ३ नम्बर क्षेत्रीय सभापतिसमेत रहेका बादेलाई छ हजार आठ सय आठ मतले उछिनेका हुन् । हुमागाईंले २८ हजार पाँच सय ६१ र वादेले २१ हजार सात सय ५३ मत पाएका छन् ।

प्रकाशित: २६ मंसिर २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App